ज्वरो आएर शुक्रबार अस्पताल पुगेका पुरुषको डेङ्गीका कारण मृत्यु, मृतकको संख्या चार पुग्यो

ज्वरो आएर शुक्रबार अस्पताल पुगेका पुरुषको डेङ्गीका कारण  मृत्यु, मृतकको संख्या चार पुग्यो

चितवन : डेङ्गी सङ्क्रमणका कारण जिल्लामा एक जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा भरतपुर महानगरपालिका-२ का ६३ वर्षीय पुरुष रहेका छन्।

चितवन मेडिकल कलेजमा उपचारका क्रममा उनको शनिबार मृत्यु भएको जनस्वास्थ्य कार्यालयका जनस्वास्थ्य अधिकृत विमल पटेलले जानकारी दिए।

उनका अनुसार ती बिरामी ज्वरो आएर शुक्रबार मेडिकल कलेजमा भर्ना भएका थिए।

जिल्लाका विभिन्न अस्पतालमा उपचारका लागि आएका बिरामीमध्ये सात सय २७ जनामा डेङ्गीको सङ्क्रमण देखिएको छ।

तीन हजार ४४ जनाको परीक्षणका क्रममा उनीहरूमा यो रोगको सङ्क्रमण पुष्टि भएको हो।

सङ्क्रमितमध्ये पाँच सय ३२ जना चितवनका र अन्य जिल्लाका छन्।

योसँगै सन् २०२४ लागेपछि देशभर डेङ्गी संक्रमणबाट मृत्यु हुनेको संख्या चार पुगेको छ। तीन जनाको पनि पछिल्लो दुई महिनामा मृत्यु भएको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले जनाएको छ।

भदौ १६, २०८१ सोमबार ०७:१८:३४ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।