वैदेशिक रोजगारको प्रलोभन देखाइ ५ लाख बढी ठगी गर्ने तीनजना पक्राउ

वैदेशिक रोजगारको प्रलोभन देखाइ ५ लाख बढी ठगी गर्ने तीनजना पक्राउ

काठमाडौं : वैदेशिक रोजगारमा आकर्षक तलबको प्रलोभनमा पारी क्रोएसिया, दुबई लगायतका देशहरूमा पठाइदिन्छु भन्दै रकम ठगी गरेको आरोपमा तीन जनालाई प्रहरीले पक्राउ गरेको छ। 

पक्राउ पर्नेहरूमा पाँचथर मिक्लाजुङ गाउँपालिका-७ घर भई काठमाडौं माकलबारी बस्ने ४२ वर्षीय शशी लामा, कास्की माछापुच्छ्रे गाउँपालिका-६ घर भई काठमाडौं रानीबारी बस्ने ३२ वर्षीया रोशनी विश्वकर्मा र सिन्धुली कमलामाई नगरपालिका-७ घर भई भक्तपुर सूर्यविनायक नगरपालिका-६ बस्ने २५ वर्षीय गणेश बहादुर श्रेष्ठ छन्। 

पक्राउमध्ये शशीले १ जना पीडितबाट ३ लाख ६५ हजार रूपैयाँ, रोशनीले १ जना पीडितबाट १ लाख २ हजार रूपैयाँ र गणेशले १ जना पीडितबाट २ लाख १० हजार रूपैयाँ लिई सम्पर्क विहीन भएको भन्ने पीडितहरूको उजुरीको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले शशीलाई काठमाडौं सितापाइलाबाट, रोशनीलाई काठमाडौं सरकारी धाराबाट र गणेशलाई ललितपुर झम्सीखेलबाट पक्राउ गरेको हो। 

उनीहरूलाई आवश्यक अनुसन्धान तथा कारवाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौं पठाइएको छ। 

भदौ १२, २०८१ बिहीबार १९:४९:०७ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।