जलेश्वरको प्रादेशिक अस्पतालको हाल, ड्युटी समयमा बस्दैनन् चिकित्सक, फोन गरेर बोलाउनु पर्छ
जलेश्वर : मधेस प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंह महोत्तरी सदरमुकाम जलेश्वरस्थित प्रादेशिक अस्पतालमा छड्के जाँचमा पुग्दा चिकित्सक भेटिएनन्।
जलेश्वर अस्पताललाई ‘रेफर’ अस्पतालका रूपमा परिचित छ। चिकित्सक फोन गरेपछि मात्रै आउने गरेको सुनेपछि मुख्यमन्त्री नै छड्केमा गए। आइतबार राति छड्के जाँच तथा निरीक्षण गर्न अस्पताल जाँदा आकस्मिक वार्डमा समेत चिकित्सक थिएनन्। चिकित्सकको ‘ड्युटी’सम्बन्धी ‘चार्ट’ समेत थिएन। अन्य स्वास्थ्यकर्मी थोरै मात्र ड्युटीमा थिए।
अस्पतालमा छड्के निरीक्षणपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै मुख्यमन्त्री सिंहले अस्पतालमा ड्युटीमा रहेका प्रत्येक चिकित्सकले आफ्नो ड्युटी अवधिभर अस्पतालमै बस्न र अस्पतालमा ड्युटी रहेको बेला निजी ‘क्लिनिक’ वा अन्य अस्पतालमा जाने चिकित्सकलाई कारबाही गरिने दाबी गरे।
'व्यक्तिगत जीवन सबैको हुन्छ, अस्पतालको ड्युटी सकेर चिकित्सकहरू पनि त्यसपछि कहीँ, कतै जान पाउनुहुन्छ' उनले भने 'तर स्वास्थ्यजस्तो संवेदनशील क्षेत्रमा लापरबाही गर्न कसैलाई छुट छैन।'
उनले अबदेखि चिकित्सक र स्वास्थ्यकर्मी सबै नियमित उपस्थित हुनुपर्ने, सरसफाइ तथा अस्पतालका सबै क्षेत्रको व्यवस्थापन मापदण्डबमोजिम गरिनुपर्ने र अस्पतालको क्षमताबमोजिम बिरामीको सङ्ख्या रहनुपर्नेमा निर्देशन दिएर फर्किए।
भदौ १०, २०८१ सोमबार १३:१५:५८ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।