भरतपुर पुगेर रविले स्वीकारे कमजोरी, मुकुल ढकालबारे पनि बोले

भरतपुर पुगेर रविले स्वीकारे कमजोरी, मुकुल ढकालबारे पनि बोले
फाइल तस्बिर

भरतपुर : राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले गोरखा मिडियामा भएको आफ्नो कमजोरी स्वीकार गरेका छन्।

भरतपुर विमानस्थलमा शनिबार सञ्चारकर्मीसँग कुरा गर्दै सभापति लामिछानेले गोरखा मिडियासँग आफू संलग्न हुनुअघि जीबी राईको विषयमा बेलैमा राम्ररी थाहा पाउन नसक्नु आफ्नो कमजोरी भएको स्वीकारेका हुन्।

‘जिबी राईको विषयमा बेलैमा राम्ररी थाहा पाउन नसक्नु मेरो कमजोरी हो’, उनले भने।

ग्यालेक्सी टिभीका अध्यक्ष राईको सम्पत्तिको स्रोतको विषयमा हेर्ने काम राज्यका निकायको रहेको उनको भनाइ थियो।

‘मैले त्यहाँ हेरेर, जानेर र बुझेरै काम गरेको थिएँ। छोडेर गएको डेढ वर्षपछि विभिन्न अनुसन्धानबाट जानकारी आएपछि मात्र थाहा भएको कुरा हो। कतिपय कुरा जतिखेर उजागर हुन्छ त्यतिखेरै हेरिन्छ’, सभापति लामिछानेले थपे।

सहकारी सम्बन्धी छानबिन समिति तथ्य र प्रमाणको छानबिनका लागि बनेको भन्दै उनले स्पष्टिकरण दिने अवसरमा पाएको बताए।

‘आरोपका आधार तथ्य प्रमाणको छानबिनका लागि संसदीय समिति बनेको हो’, उनले भने, ‘त्यसलाई मैले आफूमाथि लागेको आरोपको स्पष्टिकरण दिने अवसरका रुपमा हेरेको छु।’

सभापति लामिछानेले शुक्रबार छानबिन समितिलाई १० घण्टा लामो बयान दिएका थिए।

फरक प्रसङ्गमा सभापति लामिछानेले पार्टीका निलम्बित महामन्त्री मुकुल ढकालले लगाएको आरोपबारे समयले बताउँदै जाने उल्लेख गरे।

भदौ ७, २०८१ शनिबार १४:२८:०३ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।