रविलाई ठग, भ्रष्ट र अपराधी भन्दै मुकुलले दिए स्पष्टिकरण- ‘सिंहको मुटु छ भन्नुहुन्थ्यो, फिस्टाको जत्रो पनि देखिएन’

रविलाई ठग, भ्रष्ट र अपराधी भन्दै मुकुलले दिए स्पष्टिकरण- ‘सिंहको मुटु छ भन्नुहुन्थ्यो, फिस्टाको जत्रो पनि देखिएन’

काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टीका निलम्बित महामन्त्री डा. मुकुल ढकालले पुनः सोधिएको स्पष्टिकरणको जवाफ दिएका छन्।

पार्टीले भदौ ५ गते सोधेको स्पष्टिकरणको जवाफ दिँदै उनले त्यो पत्रको बोधार्थ निर्वाचन आयोगलाई दिएका छन्। साथै सामाजिक सञ्जालमा पनि सार्वजनिक गरेका छन्।

दोस्रो पटक स्पष्टिकरणमा निलम्बित महामन्त्री डा. ढकाल पार्टी सभापति रवि लामिछानेप्रति झन् निर्मम भएर प्रस्तुत भएका छन्। उनले सभापति लामिछानेलाई ठग, भ्रष्ट र अपराधी समेत करार गरिदिएका छन्।

आफूसँग लामिछानेले सहकारीमा ठगी गरेको, मन्त्री हुँदा भ्रष्ट्राचार गरेको र राहदानी दुरुपयोग गरेर अपराध गरेको प्रमाण भएको भन्दै उनले लेखेका छन्, ‘तपाईं उपर सत्य र प्रमाणका आधारमा प्रश्न उठाउनु पार्टी विरुद्ध लाग्नु होइन। प्रश्नका माध्यमबाट पार्टी शुद्धीकरण गर्न पाउने नेपालको संविधानले नै दिएको मेरो लोकतान्त्रिक र राजनीतिक अधिकार हो।’

पार्टी स्थापना गर्दा लोकतान्त्रिक पार्टीको परिकल्पना गरेको स्मरण गर्दै डा. ढकालले दुई वर्षभित्रै पार्टीभित्र लोकतन्त्र शब्दमा मात्र सीमित भएको बताए।

उनले थपे, ‘सिंहको मुटु छ भनेर भाषण गर्नुभयो तर फिस्टो चराको जत्रो पनि मुटु देखिएन। उल्टै भ्रष्ट्राचारमा लिप्त हुनु भयो। तपाईंजस्तो ठग, भ्रष्ट र अपराधीको पन्जाबाट पार्टीलाई मुक्त गराउन लड्नु, पार्टीको हितमा हो, पार्टी विपरीत होइन।’

प्रश्न सोध्दैमा कारबाही गर्न संविधान र कानूनले नदिने भन्दै उनले बहुमततन्त्र र लोकतन्त्रमा फरक भएको जिकिर गरे। आफूले संविधान र पार्टीको विधानले दिएको लोकतान्त्रिक एवं राजनीतिक अधिकार उपभोग गरेर लामिछानेमाथि प्रशन गरेको भन्दै यसले पार्टीको विधान, आचारसंहिता केही पनि उल्लङ्घन नगर्ने स्पष्ट पारे।

‘यसलाई विषयान्तरको रूपमा नबुझियोस्, यो त तपाईं जस्तो ठग, भ्रष्ट र अपराधीको पन्जाबाट पार्टीलाई जोगाउन गरिएको लडाइँ हो,’ उनले अगाडि भने, ‘यसर्थ ममाथिको गरिएको भनिएको र गरिने भनिएको कारबाही पार्टीको विधान, नियमावली, कार्यविधि, पार्टी केन्द्रीय समितिको विगतको निर्णय बर्खिलाप छ, साथै नेपालको संविधान र विश्वव्यापिरूपमा स्थापित लोकतान्त्रिक मूल्य मान्यता विपरीत छन्।’

भदौ ६, २०८१ शुक्रबार १०:५३:१९ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।