घाँटीमा लगाएको एक तोलाको सुनको सिक्री लोकन्थलीको बसस्टपबाट लुटेको आरोपमा ३ जना पक्राउ

घाँटीमा लगाएको एक तोलाको सुनको सिक्री लोकन्थलीको बसस्टपबाट लुटेको आरोपमा ३ जना पक्राउ

काठमाडौं : काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले भक्तपुरको मध्यपुर थिमी नगरपालिका–१ बस्ने ५० वर्षीय कमला गौतमको एक तोलाको सुनको सिक्री लुटपाटमा संलग्न रहेको आरोपमा तीन जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ।

पक्राउ पर्नेमा काभ्रेपलाञ्चोक तेमाल गाउँपालिका–९ घर भई बनेपा बस्ने ३८ वर्षीय अनिलकुमार तामाङ, काभ्रेपलाञ्चोक नमोबुद्ध नगरपालिका–५ घर भई ललितपुर ग्वार्को बस्ने ३४ वर्षीय गणेश लामा र काभ्रेपलाञ्चोकको बेथानचोक गाउँपालिका–६ घर भई काठमाडौं गौशाला बस्ने ३१ वर्षीय सुरेश तामाङ रहेका काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका सूचना अधिकारी प्रहरी उपरीक्षक काजीकुमार आचार्यले जानकारी दिए। 

कमला गौतमले घाँटीमा लगाएको एक तोलाको सुनको सिक्री गत साउन २१ मा बिहान लोकन्थलीको बस स्टपमा अपरिचित व्यक्तिले लुटपाट गरी फरार भएको घटनाको अनुसन्धानका क्रममा प्रहरीले तीन जनालाई भक्तपुरको कौशलटारबाट पक्राउ गरेको हो। 

पक्राउ परेका अनिलकुमारमाथि यसअघि २०७१ जेठ १ मा प्रहरी वृत्त गौशालाबाट, गणेशमाथि प्रहरी वृत्त नयाँ बानेश्वरबाट तीनपटक र सुरेशमाथि प्रहरी वृत्त बौद्धबाट एकपटक तथा प्रहरी वृत्त गौशालाबाट तीनपटक अभद्र व्यवहार मुद्दा चलेको खुल्न आएको सूचना अधिकारी आचार्यले बताए। 

पक्राउ परेकाहरूलाई थप अनुसन्धानका लागि प्रहरी वृत्त ठिमी, भक्तपुर पठाइएको उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएको छ। 

भदौ ५, २०८१ बिहीबार १५:५७:५७ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।