रास्वपा स्थानीय तहको उप-निर्वाचनमा सहभागी हुने

रास्वपा स्थानीय तहको उप-निर्वाचनमा सहभागी हुने

काठमाडौँ : राष्ट्रिय स्वतन्त्र पार्टी स्थानीय तहको उप-निर्वाचनमा सहभागी हुने भएको छ। बुधवार बसेको पार्टीको केन्द्रीय समितिले स्थानीय तहको निर्वाचनमा सहभागी हुने निर्णय गरेको छ। यस अगाडि स्थानीय तहको निर्वाचनको समयमा पार्टी नै गठन भएको थिएन।

बुधवार बसेको पार्टीको बैठकमा यसबारे छलफल भएको र निर्वाचनमा सहभागी हुने निर्णय भएको पार्टीका कार्यवाहक प्रवक्ता मनिष झाले बताए।

‘हामी संसद्को चौथो ठुलो दल हौँ। त्यसैले निर्वाचनमा सहभागी नहुने भन्ने हुन्न। पार्टी स्थानीय तहको निर्वाचनमा सहभागी हुन्छ’ उनले भने।

अहिले प्रमुख, उप-प्रमुख अनि वडाध्यक्षहरुसहित गरेर ३५ स्थानीय तहका पदाधिकारी रिक्त छन्। ती सबैमा मंसिरमा उप-निर्वाचन गर्न सरकारलाई सिफारिस गरेर निर्वाचन आयोग आन्तरिक तयारीमा जुटेको छ।

यसमा काठमाडौँको कीर्तिपुर नगरपालिकामा प्रमुख, मोरङको ग्रामथान र दैलेख महाबु गाउँपालिकामा अध्यक्षको पदसम्म छ। जाजरकोटको नलगाढ नगरपालिका, दोलखाको गौरीशंकर गाउँपालिका, बाजुराको स्वमीकार्तिक खापर गाउँपालिका र हुम्लाको सर्केगाड गाउँपालिकाका उपाध्यक्ष पद रिक्त छ। सात प्रदेशका २८ वडामा अध्यक्ष पद रिक्त छ। 

भदौ ४, २०८१ बुधबार १८:१८:३० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।