भरतपुर अस्पतालमा पाठेघरको शल्यक्रिया गर्ने क्रममा महिलाको मृत्यु, लापरबाही भएको भन्दै आफन्तले शव बुझेनन्

भरतपुर अस्पतालमा पाठेघरको शल्यक्रिया गर्ने क्रममा महिलाको मृत्यु, लापरबाही भएको भन्दै आफन्तले शव बुझेनन्

काठमाडौं : चितवनको भरतपुर अस्पतालमा पाठेघरको शल्यक्रिया गर्ने क्रममा एक महिलाको मृत्यु भएको छ। 

भरतपुर महानगरपालिका–१२ मुनाल चोक बस्ने ३९ वर्षीय सम्झना काफ्लेको मंगलबार पाठेघरको शल्यक्रिया गरेर बायोप्सी निकाल्ने क्रममा मृत्यु भएको हो। माइनर शल्यक्रिया गर्दा नै महिलाको मृत्यु भएको भन्दै आफन्तले शव बुझ्न मानेका छैनन्। 

अस्पतालका सूचना अधिकारी गोपाल पौडेलका अनुसार पाठेघरको बायोप्सी निकाल्दा बेहोस बनाउने क्रममा उनको मृत्यु भएको हो।

पाठेघरमा सिष्ट भएको भन्दै उनको शल्यक्रिया गरेर बायोप्सी निकाल्न लागिएको थियो। मृतक महिलाको मुटुमा पहिल्यैदेखि समस्या रहेको पौडेलले बताए। बिरामीको अवस्था गम्भीर भएपछि बचाउन आइसीयूमा राखेपनि बचाउन नसकिएको उनको दाबी छ। 

मृतक महिला यही भदौ ३ मा पाठेघरको ट्यूमरको शल्यक्रियाका लागि भरतपुर अस्पतालमा भर्ना भएकी थिइन्। मंगलबार बिहान ९ बजे शल्यक्रिया थियटरमा राखेर लठ्ठाउने सुई लगाइ बेहोस बनाउने क्रममा उनको होस नआएको पौडेलले बताए। 

उनका अनुसार घटनाका बारेमा थप अनुसन्धान हुँदैछ। अस्पतालले समेत आन्तरिक छानबिन समिति बनाएको जनाएको छ। 

मृतकका आफन्तले अस्पतालले उपचारमा गम्भीर लापरबाही गरेको बताएका छन्। 

अहिले जिल्ला प्रशासन कार्यालयमा घटनाको विषयमा छलफल भइरहेको प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले जानकारी दिए। 

भदौ ४, २०८१ बुधबार १५:५२:०५ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।