स्पष्टिकरणको जवाफ दिँदै सभापतिमाथि खनिए मुकुल ढकाल, ‘आँट छ रवि लामिछानेज्यू’ भन्दै सोधे तीन प्रश्न

स्पष्टिकरणको जवाफ दिँदै सभापतिमाथि खनिए मुकुल ढकाल, ‘आँट छ रवि लामिछानेज्यू’ भन्दै सोधे तीन प्रश्न

काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का निलम्बित महामन्त्री डा. मुकुल ढकालले पार्टीले सोधेको स्पष्टीकरणको जवाफ दिएका छन्।

रास्वपाले बुधबार ढकाललाई ‘तपाईंलाई साधारण सदस्यसमेतबाट किन निष्कासन नगर्ने?’ भनेर २४ स्पष्टीकरण मागेको थियो।

ढकालले बिहीबार त्यसको जवाफ लेख्दै पार्टी सभापति रवि लामिछानेमाथि प्रश्न गरेका छन्। उनले सहकारी ठगी मुद्दामा सभापति लामिछानेमाथि पार्टीबाटै स्वतन्त्र छानबिन समिति किन गठन नहुने भन्दै प्रश्न गरेका छन्।

सभापति लामिछानेले आजको दिनसम्म आफ्नो कुनै गल्ती छैन, आफूमाथि छानबिन वा अनुसन्धान पनि हुन नसक्ने जिकिर गर्दै समग्र पार्टी र आम नेपाली जनतालाई पटक-पटक ढाँटेको ढकालको दाबी छ।

‘असार २०, २०८१ गते न्यायाधीशहरू सपना प्रधान मल्ल र शारंगा सुवेदीको सर्वोच्च अदालतको संयुक्त इजलासले तपाईंमाथि सहकारी ठगीसम्बन्धी छानबिन हुनुपर्ने फैसला गरिसकेको छ। सर्वोच्च अदालतको फैसलालाई तपाईं मान्ने कि नमान्ने? फैसला अनुसार पार्टीभित्र पनि अनुसन्धान गर्न दिने कि नदिने?,’ उनले प्रश्न गरेका छन्।

देशमा सुशासन ल्याउनका लागि खोलिएको पार्टीको सभापतिले आफूमाथि लागेका आरोपको अनुसन्धान गर्न दिने हिम्मत राख्नुपर्ने उनको तर्क छ।

‘छानबिनका लागि तयार हुने आँट छ? रवि लामिछानेज्यू!,’ उनको प्रश्न छ।

रास्वपाले ढकाललाई महामन्त्री, प्रवक्ता र केन्द्रीय सदस्यबाट पदमुक्त गर्ने निर्णय यसअघि नै गरेको थियो।

साउन ३०, २०८१ बिहीबार १२:५१:४७ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।