रोमानिया बसेर महिलाको फेसबुक ह्याक गरी चरित्र हत्या गरे, विमानस्थल झर्नेबित्तिकै पक्राउ

रोमानिया बसेर महिलाको फेसबुक ह्याक गरी चरित्र हत्या गरे, विमानस्थल झर्नेबित्तिकै पक्राउ

काठमाडौं : विदेशमा बसेर महिलाको फेसबुक ह्याक गरी ब्ल्याकमेल गरेको आरोपमा एकजना पक्राउ परेका छन्। 

पक्राउ पर्नेमा तनहुँ जिल्लाको घिरिङ गाउँपालिका–१ स्थायी घर भएका वर्ष ३५ का सन्दीप थापामगर छन्। 

वैदेशिक रोजगारीको सिलसिलामा रोमानियामा रहेका थापाले त्यहीं रहँदा पीडितको फेसबुक ह्याक गरी उनको म्यासेन्जरमा पीडित र उनका श्रीमान्‌बीच भएका कुराकानीलगायत सामग्री संकलन गरे। त्यसपछि नक्कली एकाउन्ट बनाएर ती म्यासेजहरू पीडितका आफन्तका म्यासेन्जरमा पठाइदिने गरेको खुल्न आएको साइबर ब्यूरोका उपनिर्देशक प्रहरी उपरीक्षक दीपकराज अवस्थीले बताए। 

अवस्थीका अनुसार सामाजिक सञ्जालबाट पीडितका आफन्तलाई त्यस्ता म्यासेजहरू पठाई ब्ल्याकमेल गर्ने, पीडितको चरित्र हत्या हुने कार्य गरेको भन्दै ब्यूरोमा परेको निवेदन परेपछि उनलाई पक्राउ गरिएको हो। 

उनीमाथि विद्युतीय कारोबार ऐन, २०६३ अन्तर्गतको कसुरमा मुद्दा दर्ता गरी प्रहरी अनुसन्धानपश्चात् सजायको माग दावीसहित जिल्ला अदालत काठमाडौँमा मिसिल पेश भएको थियो।

मुद्दा विचाराधीन रहेकै अवस्थामा वैदेशिक रोजगारीमा रहेका प्रतिवादी थापा स्वदेश फर्कने क्रममा आइतवार त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थल गौचरको सहकार्यमा ब्यूरोको टोलीले पक्राउ गरी आज सार्वजनिक गरेको ब्यूरोले जारी गरेको सूचनामा उल्लेख छ। 

साउन २०, २०८१ सोमबार २१:३०:५३ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।