आलोकनगरमा २२ वर्षीय युवकमाथि खुकुरी प्रहार गरेको आरोपमा ३ जना पक्राउ

आलोकनगरमा २२ वर्षीय युवकमाथि खुकुरी प्रहार गरेको आरोपमा ३ जना पक्राउ

काठमाडौं : काठमाण्डौंस्थित आलोकनगरमा एक युवकमाथि खुकुरी प्रहार गरेको आरोपमा तीन जना पक्राउ परेका छन्।

पक्राउ पर्नेहरूमा सिन्धुलीको फिक्कल गाउँपालिका वडा नम्बर ३ घर भइ हाल काठमाडौं महानगरपालिका २१ आलोकनगर बस्ने १८ वर्षीय  अनिष मगर, दैलेख महावु गाउँपालिका वडा नम्बर ४ घर भइ हाल काठमाडौं महानगरपालिका २१  आलोकनगर नै बस्ने २६ का कुमार  पण्डित र दार्चुला घर भइ हाल कागेश्वरी मनोहरा नगरपालिका ९ गोठाटार हात्तिडाँडा बस्ने १९ वर्षीय प्रेम सिंह महरा छन्। 

जिल्ला प्रहरी परिसर काठमाडौं र प्रहरी वृत्त बानेश्वरबाट खटिएको संयुक्त टोलीले उनीहरूलाई पक्राउ गरेको हो।  

हिजो काठमाडौं महानगरपालिका वडा नम्बर ३१ आलोकनगरस्थित सौराहा होटल नजिक सडक खण्डमा कैलाली घर भएका २२ वर्षीय मनत केसीलाई धारिलो हतियार प्रहार गरी घाइते बनाएको उनीहरूमाथि आरोप छ। 

उनीहरुको साथबाट एक थान खुकुरी र मोबाइल दुई थान फेला परेको प्रहरीले जनाएको छ।

राष्ट्रिय ट्रमा सेन्टरमा घाइतेको उपचार भइरहेको छ।   

प्रहरीले घटनाबारे थप अनुसन्धान गरिरहेको छ।  

साउन २०, २०८१ सोमबार १४:३०:५९ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।