ट्रमाका निर्देशक मरासिनीले विवादित नौ करोडको मोड्युलर ओटी स्वास्थ्य मन्त्रीलाई एकै दिन दुई पटक उद्घाटन गराए

ट्रमाका निर्देशक मरासिनीले विवादित नौ करोडको मोड्युलर ओटी स्वास्थ्य मन्त्रीलाई एकै दिन दुई पटक उद्घाटन गराए

काठमाडौँ :  राष्ट्रिय ट्रमा सेन्टरका प्रमुख डा. रुद्रप्रसाद मरासिनीले स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री प्रदीप पौडेललाई ट्रमा सेन्टरको मोडुलर अप्रेटिङ थिएटर (ओटी) को दुई पटक उद्घाटन गराए। 

शनिवार दिउँसो वीर अस्पतालको वार्षिकोत्सवमा सहभागी हुन जाँदाजाँदै मन्त्री पौडेललाई डा. मरासिनीले ट्रमा सेन्टरमा लगेर पहिलो पटक मोडुलर ओटी उद्घाटन गराएका थिए।  

ट्रमाबाट मन्त्री वीरको १३५ औँ बार्षिकोत्सवस्थल (अस्पतालको सर्जिकल भवन) बाट समेत डा. मरासिनीले स्वास्थ्य मन्त्री पौडेलबाट पुनः त्यही ट्रमा सेन्टरको मोडुलर ओटीको उद्घाटन गराए। 

उद्घाटन त भयो नै, एकै दिन दुई पटक उद्घाटन गरेको मेसिन खरिदको पृष्ठभूमि अझ रोचक छ। खरिद नियमलाई मिचेर ट्रमा सेन्टरले ‘म्याक्सिम इन्कर्पोरेशन ट्रेडर्स प्रालि, काठमाडौँ’सँग नौ करोड ७८ लाख १८ हजारमा पाँच वटा मोडुलर अप्रेटिङ थिएटर (ओटी) किनेको थियो। 

खरिद प्रक्रिया अपारदर्शी देखिएपछि सो उपकरणको भुक्तानी रोकिएको छ। भुक्तानी नै रोकिएपछि डा मरासिनीले रोकिएको भुक्तानी खुलाउन मन्त्रीबाटै दुई पटक उद्घाटन गराए।  

सप्लायर्स कम्पनी म्याक्सिमले २०८० फागुन २९ मा दुई करोड ९३ लाख ४५ हजार रकम  लगिसेकेको छ। सो रकम मोडुलर ओटीको कुल रकमको ३० प्रतिशत हो। बाँकी रकमको भुक्तानी बिचैमा रोकियो। मरासिनी अगाडिका मेडिकल सुपरिटेण्डे्टहरुले खरिद प्रक्रिया मै मिलेमतो देखिएपछि भुक्तानी रोकेको देखियो।  

तोकिएको स्पेशिफिकेशनभन्दा गुणस्तरहीन काम भएको र अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छानबिन समेत गरिरहेको भएकाले भुक्तानी रोकिएको ट्रमाका एक पूर्व अधिकारीले उकेरालाई जानकारी दिए। रुद्र आएपछि उनले पटक-पटक भुक्तानी खुलाउने प्रयास गरेका थिए।  

यसरी मन्त्रीलाई दुई पटक उद्घाटन गराइयो 

शनिवार वीर अस्पतालको १३५ औँ वार्षिकोत्सवमा सहभागी हुन हिँडेका स्वास्थ्य मन्त्री पौडेललाई डा. मरासिनीले राष्ट्रिय ट्रमा सेन्टरमा मोडेर मोडुलर ओटीमा छिराए।  

मन्त्री पौडेलले मोडुलर ओटी छिर्ने ढोका बाहिर मन्त्रीको नाम समेत लेखिएको शिलापत्र छोपिएको पर्दा खोले, अनि मोडुलर ओटीमा छिर्ने सेन्सरमा हात राखेर मोडुलर ओटीको ढोका खोल्न लगाइयो। त्यसपछि मन्त्री पौडेलले ट्रमा सेन्टरको दोस्रो तलामा रहेको ‘रिनोभेशन’ गरिएको मोडुलर ओटी’ उद्घाटन गरेर मोडुलर ओटी भित्र छिरेर अवलोकन गरे।  

मन्त्रीले ट्रमा सेन्टरको मोडुलर ओटीको उद्घाटन गर्दा ट्रमा सेन्टरमा साक्षीको रूपमा स्वास्थ्य सचिव डा. रोशन पोख्रेल, चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठानका उपकुलपति डा. भूपेन्द्र कुमार बस्नेत लगायत थिए।  

ट्रमा सेन्टरमा मोडुलर ओटीको उद्घाटनपछि मन्त्री पौडेल निर्धारित समय भन्दा करिब दुई घण्टा ढिलो गरी वीर अस्पतालको सर्जिकल भवनमा रहेको अस्पतालको १३५ औँ वार्षिकोत्सव कार्यक्रमस्थलमा गए।  

तर, वीर अस्पतालको वार्षिकोत्सव कार्यक्रममा समेत सञ्चालिकाले मन्त्री पौडेललाई ट्रमा सेन्टरको मोडुलर ओटीको उद्घाटन गर्न अनुरोध गरिन्। आफूले केही बेर अघि मात्रै ट्रमा सेन्टर नै पुगेर उद्घाटन गरिसकेको मोडुलर ओटीको उद्घाटन गरिदिन अनुरोध गर्दा मन्त्री अलि अलमलमा परेको देखिन्थ्यो। तर, उनले वीरको वार्षिक उत्सव कार्यक्रमस्थलबाट समेत डिजिटल माध्यमबाट स्विच थिचेर पुनः ट्रमा सेन्टरको मोडुलर ओटीको उद्घाटन गरे। उद्घाटनसँगै सो मोडुलर ओटीको छोटो श्रव्यदृष्य सामग्री (भिडियो) समेत प्रस्तुत गरियो।  

ट्रमामा नै गएर मन्त्रीले मोडुलर ओटीको उद्घाटन गरेपछि सो कार्यक्रमस्थलबाट उद्घाटन गर्ने विषय सेड्यलुबाट हटाइएको थियो। तर, कार्यक्रम सञ्चालिकालाई डा. रुद्रको टिमले  पुनः मोडुलर ओटीको उद्घाटनको कार्यक्रम नहटाउन भनेर एकै ठाउँको उद्घाटन दुई पटक गराए। 

डा. मरासिनीको म्यासेज,‘ट्रमाको ओटीमा सुत्न पर्दा गिल्टी फिल नहोस्’  

ट्रमा सेन्टरका प्रमुख डा. मरासिनीसँग ओटीको उद्घाटनको विषयमा जिज्ञासापछि उनले उकेराकर्मीको मोबाइलमा म्यासेज पठाउँदै लेखे‘कुनै दिन तपाईँ अर तपाईँको फ्यामिली मेम्बरलाई ट्रमाको ओटीमा गएर सुत्न पर्दा गिल्टी फिल्स नहोस्...???’  

उकेराकर्मीले ओटीबारे आइतबार बेलुका फोनमा कुरा भइसकेको थियो। कुराकानीमा उनले भने ,‘अब यस्तो कुरामा तपाईँहरूले ध्यान नदिनु न यार। के भएको छ र? तपाईँ नचाहिने नचाहिने कुरामा ध्यान दिनु हुन्छ क्या यार।’ 

डा. मरासिनीले सो मोडुलर ओटीको उद्घाटन डिजिटल रूपमा गर्ने योजना बनाएको तर भौतिक रूपमा नै उद्घाटन गरिएको बताए।  

उनले उकेरासँगको कुराकानीमा जङ्गिँदै भने,‘...अरू नेगेटिभ कुरा पाउनु भएन?...तपाईँहरू पत्रकार यस्तो समाजको मान्छे भएर तपाईँहरू नचाहिँदो नचाहिँदो कुरा सोध्नुहुन्छ यार? यस्तो कुराहरू नगर्नु त तपाईँहरू।’ 

उनले सो मोडुलर ओटीको बारेमा भिडियो बनाएकाले सार्वजनिक गर्नुपर्ने भएकाले कार्यक्रम सञ्चालिकाले भिडियो डिस्प्ले गरेको तर्क गरे।  

त्यसैगरी पीपीएमओको प्रणालीमा खरिद नै नमिलेको भन्ने छ त? भन्ने अर्को जिज्ञासामा डा. मरासिनीले पीपीएमओमा गएर तपाईँ आफैँ हेर्नुहोस्  भन्दै फोन राखे।  

ओटी चलाउँदै, बन्द गर्दै 

ट्रमा सेन्टरका चिकित्सकका अनुसार करिब डेढ महिना अघि पाँचमध्ये तीन वटा मोडुलर ओटी सञ्चालन गरिएको थियो। बाँकी दुई वटा सञ्चालन गरिएको थिएन। तर, डेढ हप्ता अघि बिहीबार भने सोमबारसम्ममा पाँचै वटा ओटी बनाएपछि मात्रै सञ्चालनमा ल्याउने भनेर ती तीन ओटा ओटी पनि पुनः बन्द गरियो।  

तर, सोमबारसम्म पाँच वटै ओटी सञ्चालनमा आएनन्। त्यसैले फेरी गत मंगलबारबाट पुनः ती तीन वटा ओटी मात्रै सञ्चालन गरियो। शनिवार स्वास्थ्य मन्त्री पौडेलले उद्घाटन गरेपछि भने बाँकी दुई सहित पाँचै वटा मोडुलर ओटी आइतबारबाट सञ्चालनमा आएको ट्रमाका एक चिकित्सकले जानकारी दिए। 

खरिदमा बदनाम मरासिनी 

डा. मरासिनी सरकारी स्वास्थ्य संस्थाको स्वास्थ्य उपकण खरिदमा मिलेमतो गरेकोमा पहिल्यैबाट बदनाम छन्। उनी यसअघि ट्रमाको प्रमुख हुँदा मिलेमतोमा ३० करोडमा एमआरआई मेसिन खरिदको प्रयास गरेका थिए। 

मोहन बस्नेत स्वास्थ्यमन्त्री भएपछि सो खरिद प्रक्रिया नै रद्द भयो। सम्बन्धित कम्पनी निर्णय विरुद्ध अदालत गयो र पराजित भयो। निश्चित कम्पनीको एमआरआई किन्ने प्रक्रिया उनै मरासिनीले अगाडि बढाएका थिए। 

उनी स्वास्थ्य सेवा विभाग अन्तर्गतको व्यवस्थापन महाशाखाको प्रमुख हुँदा पनि खरिद अनियमितताको विवादमा परेका थिए। ट्रमा सेन्टरको मोडुलर ओटी खरिदमा भएको अनियमितताका विषयमा अख्तियार दुरुपयोग अनुसन्धान आयोग लगायतमा उजुरी परेको छ। 

यसरी अगाडी बढ्यो नियम विपरीत खरिद प्रक्रिया 

यो मोडुलर ओटीको खरिद प्रक्रिया मरासिनी ट्रमा सेन्टरको प्रमुख हुँदा अगाडि बढेको थियो। उनी त्यहाँबाट सरुवा भएर हिँडे। उनको कार्यकालमा बनेको स्पेशिफिकेशन र खरिद प्रक्रिया अनुसार म्याक्सिमले मोडुलर ओटीको टेन्डर पाएको थियो। तर भुक्तानी रोकियो।डा. प्रमोद यादवलाई ट्रमाको प्रमुखबाट हटाउँदै निवर्तमान स्वास्थ्यमन्त्री प्रदीप यादवले इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाबाट डा. मरासिनीलाई पुनः ट्रमा सेन्टरको प्रमुख बनाए। 

ट्रमा सेन्टरले खरिद गरेको सो मोडुलर ओटीको बोलपत्र आह्वानको कागजात (डेण्डर डकुमेन्ट) सार्वजनिक खरिद अनुगमन कार्यालय (पिपिएमओ) को विद्युतीय प्रणालीमा सार्वजनिक गर्नुपर्ने हुन्छ।  

तर उकेराको खोजका क्रममा ट्रमा सेन्टरले २०७९ चैत सातमा नौ करोड ७८ लाख भन्दा बढी रकमको मोडुलर अप्रेटिङ थिएटर (ओटी) खरिद तथा जडान (सप्लाई, डेलिभरी एन्ड इन्स्टलेशन) गर्ने गरी गरेको टेन्डरको कागजात पिपिएमओको सार्वजनिक विद्युतीय प्रणालीमा समेत भेटिएन। 

पीपीएमओको प्रणालीमा ट्रमा सेन्टरका अन्य विभिन्न टेन्डर कागजात (बिड डकुमेन्ट) छन्। तर, यो मोडुलर ओटीको टेन्डरको कागजात छैनन्। 

ट्रमा सेन्टरले खरिद गरेको मोडुलर ओटीको टेन्डर एक पटक रद्द गरेर पुन गरेको हो। त्यो पुनः गरेको टेन्डर कागजात पीपीएमओको विद्युतीय प्रणालीमा राखिएन।  ट्रमा सेन्टरले मोडुलर अप्रेटिङ थिएटर (मोडुलर ओटी) खरिदका लागि २०७९ चैत सात मा टेन्डर आह्वान गरेको थियो।  

ट्रमा सेन्टरले यति ठुलो रकमको मोडुलर ओटीको टेन्डर आह्वान गर्दा प्रि–बिड मिटिङ राख्नुपर्थ्यो तर प्रि–बिड मिटिङ नै राखेन। मोडुलर ओटीका लागि २०७९ चैत सात गते आह्वान गरेको टेन्डर कागजातमा भनिएको छ,‘प्रि–बिड मिटिङ स्याल नट बी हेल्ड।’ 

तर, उकेराको जिज्ञासामा सार्वजनिक खरिद अनुगमन कार्यालय (पिपिएमओ) का सह–सचिव तथा प्रवक्ता विष्णुप्रसाद शर्मा पुनः टेन्डरमा प्रि–बिड मिटिङ गर्नुपर्ने जानकारी दिए। 

एउटा टेन्डर रद्द भएर पुनः भएको टेन्डरमा प्रि–बिड मिटिङ आवश्यक हुन्छ की हुँदैन? भन्ने उकेराकर्मीको जिज्ञासामा प्रवक्ता शर्माले भनेका थिए,‘हुन्छ, आवश्यक हुन्छ।’ 

ट्रमा सेन्टरले २०७९ चैत २२ गते सम्ममा टेन्डर प्रस्ताव गरिसक्नुपर्ने मिति तोकिएको थियो भने सोही दिनलाई नै टेन्डर खुल्ने मिति तोकिएको थियो।  

प्राविधिक र आर्थिक दुवै चरणमा छनोट भएको सप्लायर्स कम्पनीलाई टेन्डर दिइन्छ र निश्चित प्रक्रिया पूरा गरेपछि टेन्डर पाउने कम्पनीले सामग्री ल्याएर जडान गरिदिने लगायतको काम गर्नुपर्ने हुन्छ।  

ट्रमा सेन्टरले मोडुलर ओटीको टेन्डरको प्राविधिक र आर्थिक दुवै चरणमा म्याक्सिमलाई मात्रै छनोट गर्दै उसैलाई टेन्डर दिने निर्णय गरेर २०८० जेठ १९ गते बोलपत्र स्वीकृत गर्ने आशयको सूचना प्रकाशित गरेको थियो। 

ट्रमाले मोडुलर ओटी खरिदका लागि ‘म्याक्सिम इन्कर्पोरेशन ट्रेडर्स प्रा.ली., काठमाडौँ’ले पेस गरेको बोलपत्रलाई नै प्राविधिक रूपमा छनोट गर्दै २०८० वैशाख २६ गते आर्थिक प्रस्ताव खोल्ने सम्बन्धी सूचना जारी गरेको थियो।  

ट्रमाले प्राविधिक र आर्थिक दुवै चरणमा म्याक्सिमलाई नै छनोट गरेपछि मोडुलर ओटीको टेन्डर उसैलाई दिने निर्णय गर्दै २०८० जेठ १९ गते बोलपत्र स्वीकृत गर्ने आशयको सूचना प्रकाशित गरेको थियो।  

मरासिनी सम्बन्धी समाचार

साउन १२, २०८१ आइतबार २३:२७:४५ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।