रंगिन पर्दाको कालो धन्दा : विदेशमा हुने फिल्मको कमाई पठाउन बैंकको खाता माग्दा हुन्डी गर्न भन्छन्
काठमाडौँ : वैशाखमा प्रदर्शनमा आएको फिल्म 'महाजात्रा'को ग्रस कलेक्सनै २५ करोड नाघेको दाबी सार्वजनिक हुँदा विदेशबाट मात्रै १० करोड बढी व्यापार भएको दाबी आयो। अस्ट्रेलिया, अमेरिका, न्युजिल्यान्ड, युरोप, क्यानडा, जापान, दक्षिण कोरिया, कतार, युएई, बहराइन, ओमान र मलेसियासहितको देशमा महाजात्रा प्रदर्शन भएको थियो।
१० करोड बढी व्यापार गरेको फिल्मको नेट प्रफिट कति भयो अनि यसका लगानीकर्ताहरूले विदेशबाट कति रकम नेपाल ल्याए खुलेको छैन।
'महाजात्रा' मात्र हैन, नेपाली भाषीहरू विश्वका अधिकांश देशमा फैलिएसँगै नेपाली फिल्म नेपाल बाहिर प्रदर्शन हुने क्रम बढेको छ। निर्माण पक्षले सार्वजनिक गर्ने विवरणमा व्यापार पनि उल्लेख्य भएको देखिन्छ।
तर ती रकम कसरी नेपाल भित्रिन्छ प्रस्ट तथ्याङ्क कतै छैन। केही फिल्म निर्माता अनि विदेशमा नेपाली फिल्मको वितरण गर्ने वितरकहरूसँग उकेराले गरेको कुराकानीमा अधिकांश यस्ता रकम अवैध रूपमा हुन्डीमार्फत नेपाल भित्रिने गरेको देखियो।
केही निर्माताहरूले कम्पनीको खातामा सिधै आउने दाबी पनि गरे। तर त्यो दाबीमा पत्यारलाग्दो आधार भने देखिएन। केहीले कम्पनीलाई विदेशमा फिल्म वितरणको जिम्मा दिए पनि अधिकांशले विदेशमा रहेका सम्पर्क व्यक्तिलाई व्यक्तिगत रूपमा जिम्मा दिने गरेको देखियो।
विदेश पुगेर उतै बस्ने कलाकार तथा फिल्म क्षेत्रसँग जोडिएकाहरू नै एजेन्टहरूको रूपमा काम गर्ने गरेको देखिन्छ। फिल्म क्षेत्रको अधिकांश रकम अनौपचारिक रूपमा नेपाल भित्रिने गरे पनि सम्बन्धित निकायले त्यसमा चासो राखेको देखिएन।
विदेशमा १० करोड बढी कारोबार गरेको दाबी गरिएको फिल्म ‘महाजात्रा’का निर्मातासमेत रहेका अभिनेता रवीन्द्र सिंह बानियाँ विदेशमा भएको कारोबार कम्पनीमार्फत नभएको स्विकार्छन्।
‘कतिपय फिल्महरूको पैसा विदेशमा रहेका साथीहरूले लिन्छन्। हाम्रो चाहिँ आधिकारिक कम्पनीसँग डिल नहुने भएर व्यक्तिगत रूपमा पठाउँछन्’ बानियाँले भने।
उनले विदेशमा फिल्म चलाउने कतिपय वितरकले नेपालमै व्यक्तिगत रूपमा पैसा दिने गरेको लुकाएनन्।
‘कतिपयले व्यक्तिगत रूपमा आफ्नो साथी अनि आफन्तमार्फत यतै (नेपाल) पनि दिन्छन्। कसैले नेपालमै आफ्नो कम्पनी खोलेका हुन्छन्। उनीहरूले यतै नेपालका कम्पनीले दिन्छन्। उनीहरूले यसरी नै पैसा दिन्छन् भन्ने फिक्स हुँदैन’ उनले भने।
बानियाँले रकम भुक्तानीको जुन शैली खुलाए त्यो गैर कानुनी हुन्डी प्रणाली हो। बानियाँ मात्रै हैन, दीपकराज गिरी, सन्तोष सेन, रामबाबु गुरुङ, राजु शाह, सोबित बस्नेत लगायतका निर्माताका फिल्महरू पनि विदेशमा प्रदर्शन हुने गरेका छन्।
गत वर्ष रामबाबु गुरुङको बाँसुरी फिल्म्सले निर्माण गरेको फिल्म ‘जारी’ सर्वाधिक कमाइ गर्ने फिल्मको सूचीमा पर्यो। सो फिल्मले विदेशमा कति व्यापार गर्यो सार्वजनिक भएको छैन। नेपालमा भने १७ करोड बक्स अफिस कलेक्सन भएको थियो।
विदेश प्रदर्शन अधिकार राम्रै रकममा बेच्ने अर्को कम्पनी हो, आमा सरस्वती मुभिज। दीपकराज गिरी र दीपाश्री निरौलाको टिमले निर्माण गर्ने फिल्म ‘छक्कापञ्जा’ र यसको सिक्वेलको विदेश प्रदर्शन यही कम्पनीमार्फत बिक्री हुने गर्छ।
विदेशमा रहेका नेपाली अनि नेपाली भाषीमाझ समेत राम्रै प्रभाव जमाउन सफल रहेका अधिकांश निर्माताहरूले विदेशमा फिल्म प्रदर्शन बापत आउने रकम बैङ्कमार्फत भित्र्याउने दाबी गरे पनि उकेराले सम्पर्क गरेका विदेशमा फिल्म वितरणमा संलग्न अधिकांशले भने नेपाली निर्माताहरूले हुन्डीमार्फत पैसा माग्ने बताउँछन्।
‘केही निर्माताले बैङ्कबाट भुक्तानी माग्छन् तर अधिकांशले साथीभाइ मार्फत नै रकम माग्छन्,’ एक दशकदेखि विदेशमा नेपाली फिल्म प्रदर्शन गर्दै गर्न सक्रिय एक वितरकले भने 'व्यक्तिगत रूपमा गरिने भुक्तानी अवैध भए पनि उनीहरूले जसरी माग्छन् हामीले त्यसरी नै दिन्छौं।’
कसरी भित्रिन्छ फिल्मका पैसा?
फिल्म निर्माणमा संलग्नहरूले दिएको जानकारी अनुसार फिल्म निर्माणको प्रारम्भिक चरणबाटै कुन देशमा कसले फिल्म प्रदर्शनको जिम्मा दिने निश्चित हुन्छ।
निर्देशक, अनुबन्धित कलाकारहरूका आधारमा फिल्मको वितरण मूल्य तोकिन्छ। केही निर्माताहरूले भने विदेशमा रहेका नेपाली समाजका प्रभावशाली व्यक्तिहरूसँग सम्पर्क गरेर आफैँ फिल्म प्रदर्शन गर्दै हिँड्छन्। प्रारम्भमा यस्तै शैलीमा विदेशमा नेपाली फिल्मको प्रदर्शन हुने गरे पनि पछिल्लो समय भने सङ्गठित रूपमा फिल्म वितरण हुने गरेको देखिन्छ।
फिल्म निर्माता समेत रहेका कलाकार बानियाँका अनुसार विदेशमा रहेका कम्पनीहरूले सुटिङका समयमा अलिकति पैसा पठाउँछन्। एग्रिमेन्टको बेला अलिकति अनि मार्केटिङको बेला अलिकति पैसा दिन्छन्।
उनका अनुसार विदेशमा फिल्म प्रदर्शनको अधिकार किन्न केही कम्पनीहरू नेपालमा समेत खोलिएका छन्। जस्तै सेभेन सिज इन्टरटेनमेन्ट, एमएसएमले नेपालमा नै कार्यालय खोलेर अन्तर्राष्ट्रिय बजारमा नेपाली फिल्म बिक्री गर्ने गरेका छन्।
निर्माता मणिराम पोखरेल र निर्देशक रामबाबु गुरुङले बाँसुरी फिल्म्स मार्फत फिल्म निर्माण गर्दै आएका छन्। यही कम्पनीमार्फत उनीहरूले विदेशमा रहेका वितरकहरूले फिल्मको प्रदर्शन अधिकार बिक्री गर्छन्। सो बापतको रकम कम्पनीकै नाममा आउने निर्माता गुरुङले दाबी गरे।
‘उनीहरूले हामीसँग कन्ट्रयाक्ट गर्छन्। उनीहरूले कम्पनी कै नाममा बैङ्कमार्फत पैसा पठाउँछन्’ गुरुङले दाबी गरे।
तर, कुराकानी गर्दै जाँदा गुरुङले सम्झौता भएको कम्पनीको नेपालमा शाखा भएको अवस्थामा नेपालमै कारोबार गर्ने गरेको लुकाएनन्।
‘कन्ट्रयाक्ट पेपरमा जसरी गरिएको छ, सोही अनुसार नै पैसा पठाउँछन्। कतिपय विदेशमा हुने कम्पनीहरूको नेपालमा पनि शाखा वा अफिसियल हुन्छन्। नेपालमा अफिसियल भएका कम्पनीहरूले यहीँ कन्ट्रयाक्ट गरेर लैजान्छन्,’ उनले थपे, ‘ हामी हुन्डीको पैसा लिँदैनौँ। बैङ्क ट्रान्सफर गर्छन् उनीहरूले।’
दीपकराज गिरी र दीपाश्री निरौलाको कम्पनी आमा सरस्वती मुभिजले विदेशमा फिल्मको प्रदर्शन अधिकार बेच्ने गरेको छ। ‘वडा नम्बर ६’ देखि ‘छक्कापञ्जा’को सिक्वेलहरू यही कम्पनीले विदेशमा बेचेको देखिन्छ।
निर्माता तथा अभिनेता दीपकराज गिरीले विभिन्न व्यक्तिसँगको सहकार्यमा फिल्मको विदेश प्रदर्शन अधिकार बिक्री हुने र सोही अनुसार उनीहरूले बैङ्क खातामा रकम जम्मा गर्ने दाबी गरे।
कस्तो खालको सहमति हुन्छ भन्नेबारे उनले त्यति बोल्न चाहेनन्। केवल बैङ्कमा पैसा आउँछ भन्ने दाबी मात्र गरे।
‘विदेशबाट फिल्मको पैसा कसरी आउँछ भने इण्डिभिज्युल डिल भन्छ क्यार,’ उनले भने, ‘तर, पैसा चाहिँ बैङ्कमार्फत नै कम्पनीको नाममा आउने गर्छ। हामीले बाहिरबाट पैसा लिएका छैनौँ।’
बानियाँ यस विषयमा अलि खुला नै देखिए। उनले अहिलेसम्मको कारोबार व्यक्तिगत र विदेश घुम्न जाँदाको अवस्थामा हुने गरेको लुकाएनन्।
‘हाम्रो अर्का प्रोड्युसर म्याक्स दीपेश खत्रीको न्युजिल्यान्डमा पनि कम्पनी छ। उता पनि फिल्म चलाउने कुरा भएको छ। उहाँले पैसा उतै लिनुहुन्छ।’
निर्माता बानियाँ फिल्म कारोबारको पैसा नेपालमा औपचारिक रूपमा भित्र्याउने विषयमा सरकारले नियमन गर्नुपर्ने बताउँछन्। प्राय व्यक्तिगत रूपमा आफन्तमार्फत पैसा आउने गरेकोमा त्यसलाई कम्पनीमार्फत आउने प्रबन्ध गर्नुपर्ने उनले सुझाव दिए।
आधा दर्जनभन्दा बढी फिल्म निर्माण गरिसकेका नृत्य निर्देशक तथा निर्माता राजु शाहले आफ्नो फिल्मको पैसा बैङ्कमार्फत नै कारोबार गर्ने दाबी गरे। उनले कतिपय फिल्म आफैँ विदेशका पुगेर प्रदर्शन गरेको र पैसा लिएको उनले बताए।
‘विदेशमा रहेका नेपाली वितरकले किन्दा बैङ्कमार्फत पैसा पठाउने गरेका छन्। हामी आफैँ फिल्म प्रदर्शनका लागि युरोपतिर गइयो भने क्यास नै लिएर आउँछौँ।’
उनले क्यास बोकेर आउने दाबी गरे पनि देश अनुसार नगदै बोक्न पाउने कानुन फरक-फरक छन्। निर्माता तथा निर्देशक शोभित बस्नेतले खाडी मुलुकमा फिल्म बेचेको पैसा मात्र पाएको गुनासो गरे।
‘मेरो फिल्म अस्ट्रेलियामा चलाउन उतैको पार्टनर थिए, व्यापारको पैसा उनैले लिए,’ उनले भने, ‘दुबई र कतार जस्ता खाडी मुलुकमा चलाउँदाको पैसा मात्र मैले पाएको छु। ती सबै रकम उनीहरूले मेरो बैङ्क खातामा पठाइदिएका थिए।’
नेपाली निर्माताहरूले बैङ्कमार्फत विदेशमा फिल्म बेचेको रकम लिने गरेको दाबी गरिरहँदा जापानमा रहेका एक फिल्म वितरकले भने नेपालका निर्माताहरूले हुन्डीमार्फत नै पैसा पठाउन आग्रह गर्ने गरेको बताए।
नाम नबताउने सर्तमा ती वितरकले भने, ‘धेरै जसो निर्माताहरूले हुन्डीमार्फत नै पैसा पठाउनु भन्नुहुन्छ। तर, मैले इएमआईमार्फत पैसा पठाइदिने गरेको छु।’
उनले जापानमा प्रदर्शन भएका अधिकांश नेपाली फिल्मको पैसा हुन्डीबाट नेपाल जाने गरेको बताए। अधिकांश फिल्मका निर्माताले नै हुन्डीमार्फत रकम कारोबार गर्ने गरेको उनको दाबी छ।
चलचित्र विकास बोर्डका प्रवक्ता तथा सदस्य केएल बुढाथोकी विदेशमा फिल्मको प्रदर्शन अधिकार बेच्ने र रकम लिने विषय बोर्डको क्षेत्राधिकारभित्र नरहेको बताए। नेपालको हकमा भने बोर्डले अनुगमन गर्ने गरेको उनले खुलाए।
‘विदेशमा फिल्म बेचेको र किनेको विषय बोर्डको क्षेत्राधिकारभित्र पर्दैन। बोर्डले नेपालभित्रको कुरा मात्र हेर्छ’ उनले भने।
विदेशमा नेपाली फिल्मको व्यापार बढ्दै गए पनि त्यताको रकम कसरी नेपाल आइरहेका छन् भन्नेमा आन्तरिक राजश्व विभागलाई जानकारी नभएको देखियो।
विभागका महानिर्देशक शिवलाल तिवारीले भने ‘हातमा सबै पैसा बोकेर त पक्कै हिँड्दैनन्। निर्माताले रकम कारोबार बैङ्कमार्फत नै गर्छन् होला।’
उनले निर्माताहरूले आफ्नो कमाई सार्वजनिक गरेको अवस्थामा कानुन अनुसार कर लिने र आम्दानी लुकाएको अवस्थामा छानबिनको विषय हुने उनले बताए।
साउन ७, २०८१ सोमबार १६:४५:०१ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।