महिलालाई ४० हजार तलबमा कुवेत लैजाने प्रलोभन देखाए, दुबईमा यौन शोषण गरी गर्भपतन गराएर नेपाल फर्काइदिए
काठमाडौं : भिजिट भिसामा एक महिलालाई कुवेत पुर्याएर मानव बेचबिखन गरेको आरोपमा एकजना पक्राउ परेका छन्।
पक्राउ पर्नेमा मोरङको रंगेली नगरपालिका-३ का ५७ वर्षीय कृष्ण अधिकारी भन्ने झयन्द्र कुमार अधिकारी छन्।
पीडितको उजुरीको आधारमा मानव बेचबिखन अनुसन्धान ब्यूरो बबरमहलबाट खटिएको प्रहरीले उनलाई ललितपुरबाट पक्राउ गरेको हो।
उनले पीडितलाई दुबईको कम्पनीमा मासिक तलब ४० हजार हुने भन्दै प्रलोभन देखाई २ लाख लिएर त्यहाँ पुर्याएको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ।
कुवेत लैजाने भन्दै अधिकारीले २०७९ जेठ १६ मा दुबई पुर्याएर त्यहीँ रहेका आफ्ना साथीमार्फत पीडितलाई रिसिभ गराए। त्यसपछि उनले आफ्नो फ्ल्याटमा लगि बन्धक बनाएको पीडितले उजुरीले उल्लेख गरेकी छिन्।
अधिकारीका ती साथीले घरेलु काममा लगाई चरम श्रम शोषण र यौन शोषण गरी जबर्जस्ती गर्भपतन समेत गराएको पीडितले बताएकी छन्।
लामो समय शोषण व्यहोरेपछि ६ लाख ७५ हजार रुपैयाँ ती व्यक्तिलाई बुझाएर २०८० मंसिर ३ मा आफू नेपाल फर्किएको पीडितको भनाइ छ। नेपाल फर्किएपछि उनले प्रहरीमा उजुरी दिएकी थिइन्।
पक्राउ परेका अधिकारीमाथि मानव बेचबिखन तथा ओसारपसार मुद्दामा जिल्ला अदालत काठमाडौंबाट ५ दिन म्याद थप अनुमति लिई थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ।
साउन ३, २०८१ बिहीबार १९:२४:०१ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।