पूर्व गृहमन्त्री भएको भोलिपल्ट सिमलताल पहिरो हेर्न पुगे रवि लामिछाने

पूर्व गृहमन्त्री भएको भोलिपल्ट सिमलताल पहिरो हेर्न पुगे रवि लामिछाने

काठमाडौं : आफू गृहमन्त्री हुँदै गत शुक्रबार पहिरोले दुइवटा बस बगाएको स्थान सिमलतालमा नगएका राष्ट्रिय स्वतन्त्र पार्टी सभापति रवि लामिछाने गृहमन्त्री खुस्किएको भोलिपल्टै त्यहाँ पुगे।

उनी त्यहाँ नगएको भन्दै आलोचना हुन थालेपछि लामिछाने आज बिहान त्यहाँ पुगेका हुन्। उनी त्यहाँ पुगेर घटना विवरण एवं उद्धारको प्रगतिका बारेमा जानकारी लिएको सचिवालयले जनाएको छ। 

घटनास्थलको अवलोकन गर्दै निवर्तमान गृहमन्त्री लामिछानेले मौसम विज्ञान विभागले रेड अलर्टमा राखेको ठाउँमा जे भए पनि सवारी चल्न दिन नहुने सुझाव दिए।

‘मौसम विज्ञान विभागले जोखिममा रहेका ठाँउहरूको बारेमा सूचना दिन्छ। रेड अलर्ट भएको ठाउँमा जेसुकै भए पनि चल्नै नदिने गर्नुपर्छ’, उनले भने।

काठमाडौँबाट गौर जाँदै गरेको एञ्जल यातायातको बागमती प्रदेश०३–००१ख २४९५ नम्बरको बसमा ४ जना महिला र २३ जना पुरुष रहेका थिए। वीरगञ्जबाट काठमाडौँतर्फ गइरहेको बागमती प्रदेश०३–००६ख १५१६ नम्बरको गणपति डिलक्स बसमा ५ महिलासहित ३८ जना सवार थिए।

गणपति डिलक्सका ३ यात्रुले भने त्रिशूलीमा खसेको बसबाट पौडिएर ज्यान बचाएका थिए। 

उक्त दुर्घटनामा बेपत्ता भएकामध्ये हालसम्म १५ यात्रुको शव फेला परिसकेको छ भने कम्तिमा ४७ को अवस्था अझै अज्ञात छ। पछिल्लो समय दुर्घटना स्थलभन्दा करिब एक सय किलोमिटर तल गण्डक व्यारेजमा भेटिन थालेको छ। 

असार ३१, २०८१ मंगलबार १४:४५:१० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।