दुई दशकदेखि एसईईमा शतप्रतिशत नतिजा निकालिरहेको सामुदायिक विद्यालय मेधा
देशैभर २०८० सालको एसईईको नतिजा एकदम निराशाजनक रहेको बेला भक्तपुर नगरपालिका तेखापुखुमा रहेको सामुदायिक विद्यालय भने उदाहरणीय बनेको छ।
मेधा माध्यमिक विद्यालयले यसपटक पनि शतप्रतिशत नतिजा निकाल्यो। एक सय १५ विद्यार्थीले परीक्षा दिएकोमा यहाँका कसैले पनि पूरक परीक्षाको तयारी गर्नुपरेन।
उकेराकर्मी विद्यालयमा पुग्दा शिक्षकदेखि विद्यार्थीसम्म उत्साहित देखिन्थे। ०८१ सालमा एसईई दिने विद्यार्थीहरू पनि यस नतिजाबाट हौसिएका थिए। भौतिक संचरना संकुचित भए पनि विद्यालयको शैक्षिक गुणस्तरको भने चर्चा चौतर्फी चुलिएको छ।
विद्यार्थीको क्षमता ‘नतिजाले निर्धारण गर्न नमिल्ने’ भनेर कहिँ कतै भनिए पनि विद्यालयकै गुणस्तरको लागि भने लगभग दुई दशकदेखि यस्तै सकारात्मक नतिजाले धेरै प्रभाव पारेको देखिन्छ।
‘हाम्रो मिहिनेत, तपस्या देखाउने ठाउँ भनेको नतिजा हो। नतिजा राम्रो आउनु भनेको हाम्रो टिम वर्क सफल भइरहेको छ भनेर देखाउने माध्यम रहेछ,’ मेधाका प्रधानाध्यापक श्याम हाडाले भने, ‘हाम्रो शिक्षक, अभिभावक र विद्यार्थी वर्ग सबै मिलेर जुन कोसिस गर्यौँ। मिहिनेत गर्यौं। त्यहि मिहिनेतको नतिजा, हाम्रो निरन्तरताको नतिजा न हो।’
भक्तपुर नगरपालिकाबाट यसपटकको एसईई परीक्षामा जम्मा १५ वटा सामुदायिक विद्यालय सामेल भएको थियो। जसमध्ये सर्वोत्कृष्ट नतिजा मेधाकै आएको हो।
शून्यदेखि शतप्रतिशत सम्म!
६० को दशकदेखि विद्यालयले एसईईमा शतप्रतिशत नतिजा ल्याएको प्रधानाध्यापक हाडा बताउँछन्। गत वर्षको नतिजामा तीन जनाले चार जीपीए नै ल्याए। यसपालि भने एक जनाको मात्र ४ जीपीए आयो। साथमा ८० जनाले ए प्लस ग्रेड ल्याएका छन्। आज सफल देखिए पनि यो विद्यालयको नतिजा ०६० साल भन्दा अगाडि शून्यजस्तै थियो।
२००४ फागुनमा स्थानीय विष्णुभक्त बुजुको अगुवाइमा सह-शिक्षालयको रूपमा शान्ति भक्त विद्यालयको स्थापना भयो। पछि २०१३ सालमा सरकारी कोटा अन्तर्गतमा रहि यसलाई कन्या प्राथमिक विद्यालयको रूपमा नाम परिवर्तन गरियो।
फेरि २०२३ मा कन्या मिडिल स्कुल, २०२८ मा कन्या निम्न माध्यमिक र २०३१ सालमा कन्या माध्यमिक विद्यालय भयो। ०३४ साल देखि यहाँका विद्यार्थीहरू एसएलसीमा सामेल भए।
लामो समय कन्या सह-शिक्षा माविको रूपमा सञ्चालन भइरहेको विद्यालय ०७१ सालमा आएर मात्र ‘मेधा माध्यमिक विद्यालय’ भयो।
लगातार शून्य नतिजा र स्थानीयहरूनै टाढिन थालेपछि विष्णुभक्त बुजुले अर्का स्थानीय शिक्षक गंगाधार हाडाको साथ मागे। बुजु पनि लामो समय यहाँ संलग्न रहे। हाडा आएको केही दिनमै बुजुले विद्यालयको सह-प्रधानाध्यापकका रूपमा कार्यभार सम्हाल्न दिए।
‘स्वर्गीय गंगाधर सर आउनुभएको ०५७/०५९ तिर हो। उहाँले आदर्श विद्यालयमा पढाउँदै आउनुभएको थियो। बुजु सरले उहाँको बारेमा थाहा पाउनु भएपछि यहाँ बोलाउनु भएको रहेछ,’ गंगाधारको भाइ समेत रहेका प्रअ हाडा भन्छन्, ‘उहाँ आउनु भएपछि यहाँको अवस्था फेरिँदै गयो। केहि वर्षपछि त उहाँ नै प्रअ हुनुभयो। शून्यदेखि शतप्रतिशतसम्म नतिजा पुर्याउनमा उहाँको नै योगदान छ।’
त्यसबखत यहाँका विद्यार्थीको संख्या पनि निकै कम थियो। एउटा कक्षा कोठामा ४/५ जना विद्यार्थी मात्र थिए। अहिले भने यहाँको एउटै कक्षा कोठामा ४० जनासम्म विद्यार्थी रहेको उनले बताए। यसपालीको शैक्षिक सत्र अनुसार यहाँ ८ सय १० जना विद्यार्थी छन्। ९८ जना त दश कक्षामै पढिरहेका छन्।
प्रवेश परीक्षा लिएर भर्ना
‘गंगाधार सरले मलाई भन्नुहुन्थ्यो, विद्यार्थी संख्या कम भएकाले घर-घरमा विद्यार्थी बोलाउन जानु भएको थियो रे,’ प्रअ हाडा बताउँछन्, ‘त्यसबेला भौतिक संरचना पनि अहिलेको जत्ति थिएन। विद्यार्थी पनि कम, नतिजा पनि कम भएपछि त अभिभावकहरूलाई पनि विश्वास गर्ने आधारनै भएन नि! एक हिसाबले त्यसबेला हाम्रो विद्यालयको छवि समुदायमा राम्रो थिएन।’
जबसम्म राम्रो नतिजा आएन तबसम्म जनमानसले विद्यालयलाई पत्याएनन्। गंगाधारको जोडबलले विस्तारै विद्यार्थीहरू बढेको र नतिजा पनि सकारात्मक देखिएको समेत उनले बताए।
‘सकारात्मक नतिजाले प्रभाव पनि सकारात्मक नै पर्ने रहेछ। धेरैले भविष्यलाई एउटा पेपरको नतिजाले फरक पार्दैन भन्ने भन्ने सुनेको छु। तर, हाम्रो त विद्यालयको भविष्यमा प्रभाव पारेकै उत्कृष्ट नतिजाले नै हो। शिक्षक, अभिभावकदेखि विद्यार्थीसम्मको मिहिनेतले नै मेधा विद्यालय यहाँसम्म आइपुगेको छ’, उनले भने।
हरेक वर्ष नयाँ शैक्षिक सत्रमा यहाँ एक सय दश जनाले मात्र भर्ना पाउँछन्। त्यो भन्दा बढी क्षमता विद्यालयको भौतिक संरचना अनुसारले पनि पुग्दैन। केहि वर्षदेखि मेधा खोज्दै आउनेहरू ह्वात्तै बढेका छन्।
‘हामीले चाहेर पनि धेरै विद्यालय लिन सक्दैनौँ। परीक्षा गरेर, मेरिटमा नाम निकालेका विद्यार्थीहरूलाई मात्र राख्न हामी बाध्य छौँ’, प्रअ हाडा भन्छन्।
अन्य सामुदायिक विद्यालयहरूले स्थानीय र नयाँ विद्यार्थीलाई कसरी आकर्षित गर्ने भनेर नीति नै बनाइराखेको अवस्थामा मेधा सामुदायिक विद्यालय भइकन पनि प्रवेश परीक्षा मार्फत मात्र विद्यार्थी भर्ना लिनु आफैँमा एउटा उदाहरण भएको उनले बताए।
‘नतिजा राम्रो हुँदै गर्दा सबैको चासो स्वत: बढ्ने रहेछ अनि विद्यालय र विद्यार्थीसँग चासो राख्ने शुभचिन्तकहरू पनि बढ्दै गयो’, उनले भने।
अहिले त्यहाँ स्थानीय विद्यार्थीहरूको पनि बाक्लो उपस्थिति रहेको देखियो। स्थानीयसँगै सिन्धुपाक्चोक, काभ्रेपलाञ्चोक, ओखलढुङ्गा, रामेछाप, सर्लाही हुँदै पूर्वदेखिका विद्यार्थीहरू यहाँ पढिरहेका छन्। स्थानीय विद्यार्थी पढ्दा स्थानीय अभिभावकको पनि प्रत्यक्ष संलग्न भएको प्रअ हाडाको अनुभव छ।
स्थानीय अभिभावकको प्रत्यक्ष संलग्न हुँदा आर्थिकदेखि सामाजिक रूपमा विद्यालयलाई अगाडि बढाउन मद्दत मिलेको उनी बताउँछन्। यस विद्यालय वरपर संस्थागत र सामुदायिक गरी करिब आधा दर्जन विद्यालय छ। तर विद्यार्थी संख्या भने मेधामै धेरै छ।
‘माविमा गणित शिक्षक नै छैन’
यहाँ निजी स्रोत र दरबन्दी गरेर अहिले ५० जना भन्दा बढी शिक्षक छन्। आधा भन्दा बढी त निजी स्रोतबाटै तलब लिन्छन्। गणित पढाउनको लागि नगरपालिकासँग हारगुहार मागे पनि अहिलेसम्म शिक्षक नपाएको प्रअ हाडाको गुनासो छ।
भक्तपुर नगरपालिकामा मात्र नभएर जिल्लाकै उत्कृष्ट विद्यालय भएर पनि आफ्नो विद्यालदय प्राथमिकतामा नपरेको उनी बताउँछन्।
‘सबैले नतिजा कस्तो आयो भनेर सोध्नुहुन्छ। ए, राम्रो गर्नुभएछ भन्नुहुन्छ। तर विद्यालयको समस्यालाई बुझ्नुहुन्न,’ उनले भने, ‘आधा भन्दा धेरै निजी स्रोतका शिक्षक राख्नुपर्दा हामीलाई आर्थिक भार बढी हुन्छ। अरु केहि नगरे पनि कम्तिमा आवश्यक शिक्षक उपलब्ध गराएको भए हुने।’
शिक्षकको कमीसँगै यहाँ भौतिक संरचनाको पनि अभाव छ। विद्यार्थीहरूलाई बाहिरी खेलकुद गर्न समस्या छ। फुटबल जस्ता खेल खेल्न विद्यालयले नगरपालिकालाई चौर प्रयोग गर्न दिन भने पनि ‘फुटसल’मा नगद तिरेर खेल्ने गरिएको छ।
कक्षाकोठाहरूनै पनि निकै साना छन् भने तीन तलामा रहेको विद्यालयको भर्याङ एकदमै साँघुरा छन्।
‘केही शुभ चिन्तक र अभिभावकहरूको सहयोगले नै हामी यहाँसम्म टिकिरहेका छौँ,’ उनले भने, ‘केही अभिभावकहरू सय-डेढ सय बढी लिनुस् भन्नुहुन्छ। कोहिले त सरकारी विद्यालय भएर पनि शुल्क लिने पनि भन्नुहुन्छ। के गर्नु उहाँहरू नभए हाम्रो विद्यालयलाई गाह्रो हुने अवस्था छ।’
०७९ पुसमा गंगाधरको विद्यालय आउँदै गर्दा हृदयघातका कारण निधन भयो। त्यसपछि भने उनका भाइ अहिलेका प्रअ हाडाले विद्यालयको नेतृत्व गरिरहेका छन्। उनी पनि करिब दश वर्षदेखि यस विद्यालयमा पढाउँदै आइरहेका छन्।
पहिला कन्या विद्यालय हुँदा यहाँ छात्राहरूले मात्र पढ्न पाउँथे। कन्या सह-शिक्षा नाम राखेपछि छात्र र छात्रा दुवैले पढ्न पाउने बनाइयो विद्यालयलाई। पछि पुन: विद्यालयको नाम परिवर्तन गरेर मेधा राखियो अहिले यो विद्यालयमा छात्र र छात्राको संख्या बराबर छ।
एसीईको नतिजालाई लिएर ‘ग्रेडिंग सिस्टम’ देखि ‘एनजी(नन ग्रेडेड)’ सम्म आइपुग्दा यहाँका विद्यार्थीलाई कुनै पनि फरक परेको छैन। यहाँबाट 'एसईई दिँदा पूरक परीक्षा’ दिन पर्दैन भन्ने भाष्य समेत समुदायमा परिसक्यो।
दश कक्षासम्म यहाँ पढेका अधिकांश विद्यार्थी ख्वप: कलेज र काठमाडौँमा जाने रहेछन्। हरेक वर्ष मेधाबाट ४/५ जना विद्यार्थीले ‘सेन्ट जेभियर्स’ लगायतका ठूला भनिएका विभिन्न कलेजमा नाम निकाल्दा शिक्षकहरू दङ्ग पर्छन्।
‘यो भनेको त उनीहरूको शैक्षिक गुणस्तर हाम्रोमा मात्र नभएर बाहिर पनि छ भन्ने प्रमाणित हुनु त हो। हाम्रो विद्यार्थीहरूले बाहिर पनि राम्रो गर्दा हामी खुसी छौँ। त्यसबेला हाम्रो मिहिनेत साकार भएको अनुभव हुने रहेछ’, उनले भने।
असार ३१, २०८१ सोमबार १३:२१:१४ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।