रेडक्रस अनियमितता छानबिन प्रतिवेदनको निष्कर्ष : कर्मचारी र पदाधिकारी भ्रष्टाचारमा संलग्न, संस्थामा वित्तीय अराजकता

रेडक्रस अनियमितता छानबिन प्रतिवेदनको निष्कर्ष : कर्मचारी र पदाधिकारी भ्रष्टाचारमा संलग्न, संस्थामा वित्तीय अराजकता

काठमाडौँ : नेपाल रेडक्रस सोसाइटीको विषयमा छानबिन गर्न समाज कल्याण परिषद्ले गठन गरेको छानबिन समितिले सोसाइटीभित्र गम्भीर अनियमितताका पहिल्याएको छ। 

परिषद् बोर्ड सदस्य सञ्जय साहको नेतृत्वले तयार पारेको प्रतिवेदनमा जग्गा खरिददेखि सामान्य सामान खरिदसम्म अनियमितताको प्रमाणसहित रेडक्रस सोसाइटीमा गम्भीर वित्तीय अराजकता रहेको पुष्टि गरेको छ।  

असार १७ गते महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रीलाई बुझाएको प्रतिवेदनमा वित्तीय अराजकताले रेडक्रस थिलथिलो भएको विवरण त उल्लेख छ नै सबैभन्दा गम्भीर रेडक्रसको ब्लड बैङ्कमा रहेको ब्लडको गुणस्तर देखिएको छ। प्रतिवेदनमा ब्लड बैङ्कको गुणस्तर अति जोखिम रहेको भन्दै त्यसको प्राविधिक प्रतिवेदन गोप्य राख्न भनिएको छ। 

उकेराले प्राप्त गरेको प्रतिवेदनमा भक्तपुरमा जग्गा खरिदमा २ करोड बढी अनियमितता भएको उल्लेख छ। केन्द्रीय रक्तसञ्चार भवन ठेक्कामा बदमासी भएको उल्लेख गरेको प्रतिवेदनमा कर्मचारीदेखि रेडक्रसका पदाधिकारीसम्म अनियमितता र आर्थिक अनुशासनहीन रहेको भन्दै उनीहरूमाथि कारबाहीको सिफारिस गरेको छ। 

जग्गा खरिददेखि टेण्डरसम्म : जताततै वित्तिय अराजकता

प्रतिवेदनमा उल्लेख भएको अनियमिततामध्ये सबैभन्दा गम्भीर भक्तपुर नगरपालिका ४ मा किनिएको पाँच रोपनी १३ आना ३ दाम जग्गाको अनियमितता देखिन्छ। 

संस्थाले सो जग्गा रोपनीको एक करोड ८० लाखको दरले ६ करोड ८० लाखमा किनेको थियो। तर पछि जग्गा नाप्दा पाँच रोपनी सात आना मात्र रहेको खुल्यो। जम्मा १५ दिनको टेन्डर गरिएकोमा प्रस्ट जग्गाले बाटो छोएको हुनुपर्ने मापदण्ड तोकिएको थियो। तर जग्गा किन्दा बाटोले नछोएको किनियो।   

किनेको भन्दा ६ आना जग्गा कम भए पनि सो बापतको रकम संस्थामा फिर्ता आएको छैन। यसबाट ४२ लाख हानी भयो। बाटो जोडिएको जग्गा भनेर बाटो नै नभएको जग्गा किनेर पछि बाटोका लागि १४ आना जग्गा किन्न रेडक्रसको ९९ लाख खर्च गरियो।  

गोदाम घरका लागि भनेर किनिएको जग्गामा गोदाम राख्न उपर्युक्त नरहेको र संस्थालाई थप ६७ लाख भार थपेको भन्दै प्रतिवेदनमा दुई करोड नौ लाख अनियमितता भएको भन्दै यसमा संलग्न उच्चपदस्थ कर्मचारी र पदाधिकारीमाथि भ्रष्टाचारमा कारबाही गर्न सिफारिस गरेको छ। 

प्रतिवेदनमा खरिदको समयमा अधिकतम लागत मूल्य कायम नगरेको, १५ दिनको छोटो अवधिको सूचना निकालेको, खरिद ऐन र खरिद नियमावली प्रतिकुल जग्गा खरिद गरेर भन्दै यसलाई नीतिगत भ्रष्टाचार गरेको ठहर्याएको छ। 

प्रतिवेदनले केन्द्रीय रक्तसञ्चार भवन ठेक्कामा बदमासी ठहर गर्दै त्यसबारे थप अनुसन्धान गरेर कारबाही गर्न समेत सिफारिस गरेको छ। यसैगरि कार्यकारी निर्देशकको नियुक्ति गैर कानुनी रहेको छानबिन समितिको ठहर छ।  

नेपाल रेडक्रस सोसाइटीसँग विभिन्न कोषहरूमा गरेर अहिले २७ करोड ६६ लाख निक्षेप रहेको खुलेको छ। नेपाल प्रहरी, नेपाली सेना लगायतमा रहेका कर्मचारी कल्याण कोष लगायतमा रहने निक्षेप उनीहरूले बैङ्कहरूबिच ब्याजमा प्रतिस्पर्धा गराएर जसले बढी ब्याज दिन्छ उसैकोमा मुद्दतीमा निक्षेप राख्ने गर्छन्। तर रेडक्रसका पदाधिकारीहरूले आफूखुसी बैङ्क चयन गरेर पैसा राख्ने गरेको प्रतिवेदनमा उल्लेख छ। 

कतिसम्म भने बैङ्कमा राखिएको मुद्दतीको अवधि समाप्त भएको लामो समयसम्म पनि कर्मचारीले न रकम निकाल्ने न त मुद्दतीको अवधि नवीकरण गर्ने गरेर बचत अलपत्र पार्ने गरेको प्रतिवेदनले खुलाएको छ।  नेपाल इन्भेस्टमेन्ट बैङ्कमा रहेको पाँच करोड मुद्दती निक्षेपको अवधि सकिदा पनि नवीकरण नगर्दा संस्थालाई २९ लाख ब्याज घाटा लागेको प्रतिवेदनमा उल्लेख छ। 

जग्गा तथा भवन भाडामा समेत अनियमितता देखियो। बागबजारमा रहेको मोडल अस्पताल सञ्चालनमा रहेको जग्गा,बागबजार, कालीमाटी सोल्टीमोड, वीरगन्ज, पोखरा, नेपालगन्ज, महेन्द्रनगर, इटहरी लगायतका स्थानमा रहेको भवन र जग्गा प्रतिस्पर्धाको आधारमा नभई मनोमानी रूपमा भाडामा लगाएको र लामो समयसम्म एकै व्यक्ति र संस्थालाई भाडामा दिएको भन्दै प्रतिवेदनमा सोसाइटीको पदाधिकारीले आर्थिक लाभ लिएको भन्दै संस्थालाई आर्थिक नोक्सानी पारेकाले सम्बन्धित अधिकारीलाई कारबाही गर्न सिफारिस गरेको छ। 

एभरेस्ट बैङ्क र नेपाल इन्भेस्टमेन्ट बैङ्कले ब्लड बैङ्कलाई सामाजिक उत्तरदायित्व कार्यक्रम बापत ६ लाख ९० हजार र पाँच लाख दिएको तर सो रकम संस्थाको आम्दानीमा नबाँधी बैङ्कलाई दिनुपर्ने सूचीमा राखेको प्रतिवेदनमा उल्लेख छ।  १३ वटा बैङ्क खाताबाट भएको एक करोड ९६ लाखको कारोबारको स्टेटमेन्ट छानबिन समितिले नै पाएन। 

सबैभन्दा गम्भीर पाटो रेडक्रसको ब्लड बैङ्कले आम नागरिकको स्वास्थ्यमाथि सिधै खेलबाड गरेको प्रतिवेदनमै उल्लेख छ। प्रतिवेदनमा संलग्न ब्लड बैङ्कको प्राविधिक प्रतिवेदनमा त्यहाँको रगत बिरामीमा प्रयोग गर्नु बिरामीको स्वास्थ्यमा उच्च जोखिम हुने उल्लेख छ। 

असार २१, २०८१ शनिबार ००:३२:०८ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।