आरजु पक्रन बुढानीलकण्ठमा धरपकड गर्दा 'ढल्यो' प्रचण्ड नेतृत्वको सरकार

आरजु पक्रन बुढानीलकण्ठमा धरपकड गर्दा 'ढल्यो' प्रचण्ड नेतृत्वको सरकार

काठमाडौं : टीकापुर जग्गा घोटालामा जोडेर नेपाली कांग्रेसकी नेतृ आरजु राणालाई पक्राउ गर्न बुढानीलकण्ठको देउवा निवासमा प्रहरीले गरेको धरपकडको प्रयासले नेपाली कांग्रेस र एमालेलाई सत्ता सहकार्यको बाटो खुलाएको पुष्टि भएको छ।

प्रहरी महानिरीक्षक वसन्त कुँवर विदेश भ्रमणमा रहेका बेलामा उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोको जनशक्ति परिचालन गरेर आरजुलाई देउवा निवासबाटै पक्राउ गर्न धरपकड गराएका थिए।

प्रहरी, एमाले र नेपाली कांग्रेसका नेताहरूबाट उकेराले प्राप्त गरेको जानकारी अनुसार त्यही धरपकडको प्रयासले नै कांग्रेस र एमाले नेतृत्वलाई सत्ता सहकार्यको सहमतिमा पुर्याएको देखियो।

सीआईबीको टोली बुढानीलकण्ठमा गएर देउवाचोकदेखि देउवा निवाससम्मको सडक सिल गरेर घेराबन्दी गरेको थियो। आरजु घरमै रहेको सूचनाको आधारमा टोली पुगे पनि त्यो समयमा आरजु भने घरमा थिइनन्।

आरजु घरमा नभएको पक्का भएपछि सीआईबीको टोली रित्तै फर्कियो। पक्राउ गर्न प्रहरी टोली आएको सूचना पाए लगत्तै आरजुले केपी ओलीसँग भेट्न समय लिएर असार १५ मा पार्टी सभापति शेरबहादुर देउवासहित लिएर गइन्।

दुई घण्टा बढी समय भएको छलफलमा प्रचण्ड नेतृत्वको सरकार बदल्ने र आलोपालो नेतृत्व गर्ने सहमति भयो। सहमति अनुसार सोमबार मध्यरात दुवै दलका शीर्ष नेताहरूबीच सहमति भइसक्यो। छलफलबाट सहमतिसम्मको वातावरण बन्नुको प्रमुख कारण प्रहरीको धरपकड प्रयास नै देखियो।

टीकापुर जग्गा अनियमितताबारे प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले अनुसन्धान गरिरहेको छ। सरकारी दस्तखत छाप किर्तेमा अनुसन्धानका लागि सीआईबीको एक टोली टिकापुरमै बसेको छ। *नक्कली शरणार्थी प्रकरणमा पनि आरजु अनुसन्धानको दायरामा छिन्।

रविले आफू निकटहरूलाई आफू गृहमन्त्री रहेसम्म एक घण्टा भए पनि आरजुलाई थुन्ने बताउँदै आएका थिए। पोखरामा बतास समूहले जयवीर देउवाको नाममा पास गरेको जग्गाबारे समेत अनुसन्धान भइरहेको थियो।

कास्कीको ढिकुरेपोखरीमा जयवीरको नाममा २२ रोपनी जग्गा रहेको खुलेको थियो। सो जग्गा पोखराको व्यवसायी घराना बतासबाट जयवीरको नाममा गएको खुलेको थियो। टिकापुरमा आरजुको नाममा समेत जग्गा रहेको पुष्टि भइसकेको छ। यसबारे सीआईबीले गरेको अनुसन्धानको आन्तरिक प्रतिवेदनमा आरजुको संलग्नताबारे केही उल्लेख छैन।

तर, आरजुले बदनियतका साथ जग्गा लिएको प्रमाण सङ्कलन गर्न सीआईबीको टोलीलाई विशेष निर्देशनसहित फिल्डमै खटाइएको थियो। टीकापुरमा आरजुको नाममा ३ कट्ठा ७ धुर जग्गा रहेको पुष्टि भइसकेको छ। उनले प्रतिकट्ठा १५ हजारको दरले ५० हजारमा त्यो जग्गा किनेको दाबी गरेकी छिन्।

टीकापुर विकास समितिका नाममा बाँडिएको जग्गामा अनियमितता भएको भन्दै अख्तियारले विशेष अदालतमा पदाधिकारीहरूविरुद्ध मुद्दा लगिसकेको छ। गृहमन्त्री लामिछानेले संसददेखि सार्वजनिक मञ्चहरूमा समेत टीकापुर जग्गा घोटालाबारे अनुसन्धान भइरहेको र फाइल बन्द नभएको दाबी गर्ने गरेका थिए।

राजीनामा दिने कि विश्वासको मत लिन जाने भन्नेबारे निर्णय गर्न बसेको माओवादी केन्द्रको बैठकपछि माओवादी नेता देवेन्द्र पौडेलले फाइलहरू खुल्ने भएपछि तरङ्गित भएको सुनिएको बताए।

‘कुनै फाइलसाइल खुल्ने भएपछि तरङ्गित भयो अरे भन्ने सुनिएको छ’, उनले भने।

*रास्वपाका सभापति समेत रहेका लामिछानेले पार्टी बैठकपछि दिएको अभिव्यक्तिले समेत यसको पुष्टि गर्छ। उनले सुशासनका लागि केही मानिसहरू पक्राउ गर्दा देशलाई संकट नपर्ने बताए।

‘सुशासनका लागि केही मानिसहरू पक्राउ परे। यो देशलाई आउन लागेको संकट थियो कि केही भ्रष्ट मानिसहरूलाई आउन लागेको संकट थियो? कसलाई जोगाउनका लागि रातारात परिवर्तन भयो होला। यति पनि बुझ्न सकिँदैन र!’, उनले भने।

आफूले फाइल खोलेपछि एक रात पनि टिक्न नसक्ने अवस्था आएको भन्दै उनले एकाएक संविधान जोगाउनुपर्ने चिन्ता किन आयो भन्दै प्रश्न गरे।

*थप अपडेट

असार १७, २०८१ मंगलबार १३:०१:३६ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।