दुबईको टिस्यु पेपर प्याक गर्ने कम्पनीमा पठाइदिने भन्दै मानव बेचबिखन, एकजना पक्राउ

दुबईको टिस्यु पेपर प्याक गर्ने कम्पनीमा पठाइदिने भन्दै मानव बेचबिखन, एकजना पक्राउ

काठमाडौं : वैदेशिक रोजगारीको प्रलोभनमा दुबई पुर्याएर मानव बेचबिखन गरेको आरोपमा एक जना पक्राउ परेका छन्। प्रहरीले ललितपुर महानगरपालिका–८ बस्ने ४२ वर्षीय मनोज महर्जनलाई पक्राउ गरेको जनाएको छ। 

विशेष सुराकीको आधारमा मानव बेचबिखन अनुसन्धान ब्यूरोबाट खटिएको प्रहरी कमाण्डको टोलीले महर्जनलाई शुक्रबार गौशालाबाट पक्राउ गरेको हो।

ब्यूरोले सम्बन्धित निकायको समन्वय तथा सहकार्यमा दुबईबाट गत चैत्र १९ गते उद्धार गरेको थियो। त्यसपश्चात थप अनुसन्धानको क्रममा महर्जनले पीडितलाई आकर्षक तलबमा दुबईको टिस्यु पेपर प्याक गर्ने कम्पनीमा पठाइदिने प्रलोभन देखाई २ लाख ९० हजार रूपैयाँ लिई गत फागुन ७ गते दुबई पुर्याएका थिए।

त्यहाँ पुर्याएपछि घरेलु कामदारहरू पठाउने एजेन्टको अफिसमा लगि बेचबिखन गरी शारीरिक तथा मानसिक यातना दिई विना पारिश्रमिक दैनिक १८ देखि २० घण्टासम्म घरायसी काममा लगाई चरम श्रम शोषण गरेको अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ। 

महर्जनले यसअघि पनि वैदेशिक रोजगार ठगी सम्बन्धी मुद्दामा ७ वर्ष कैद सजाय भुक्तान गरिसकेकोसमेत अनुसन्धानको क्रममा खुल्न आएको छ।

उनलाई मानव बेचबिखन तथा ओसारपसार मुद्दामा काठमाडौं जिल्ला अदालतबाट ५ दिन म्याद थप अनुमति लिई यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ।

असार १०, २०८१ मंगलबार १७:४४:११ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।