अछामको छाउपडी घटना छिट्टै अदालती प्रक्रियामा जान्छ : गृहमन्त्री लामिछाने

अछामको छाउपडी घटना छिट्टै अदालती प्रक्रियामा जान्छ : गृहमन्त्री लामिछाने

काठमाडौं : उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले महिला तथा बालबालिका विरुद्ध हुने हिंसा र अपराधका घटनाहरूमा शून्य सहनशीलताको नीति कार्यान्वयन गर्न मातहतका निकायहरूलाई निर्देशन दिएको बताएका छन्। 

सोमबार राष्ट्रिय सभाको बैठकमा अछाममा भएको घटनाबारे सांसदले उठाएका प्रश्नहरूको जवाफ दिँदै गृहमन्त्री लामिछानेले अपराधका घटनाहरूमा शून्य सहनशीलताको नीति कार्यान्वयन गर्न स्थानीय प्रशासनलाई मन्त्रालयले स्पष्ट निर्देशन दिएको बताए।  

उनले भने, ‘महिला तथा बालबालिकाका विरुद्ध हुने कुनैपनि हिंसा र अपराधका घटनाहरूमा शून्य सहनशीलताको नीति कार्यान्वयन गर्न स्थानीय प्रशासनलाई मन्त्रालयले स्पष्ट निर्देशन गरेको र पीडितको न्याय प्राप्त गर्ने संवैधानिक हकको संरक्षण एवं कार्यान्वयनका लागि गृह मन्त्रालय र मातहत प्रशासन थप संवेदनशील र सचेत रहेको कुरा जानकारी गराउन चाहन्छु।’

लामिछानेले अछाममा भएको छाउपडी घटनाबारे स्थानीय प्रशासनले अनुसन्धान गरिरहेको बताउँदै छिट्टै अदालती प्रक्रियामा जाने बताए। 

छाउपडी प्रथाको अभ्यास भएका क्षेत्रको समीक्षा गर्न र अनुसन्धानको कार्य कडाइका साथ गर्न र अपराधीलाई कडा कारबाही गर्न पनि निर्देशन दिइएको लामिछानेको भनाइ छ। 

असार ४ गते अछाम जिल्ला पञ्चदेवल विनायक नगरपालिका – २ बस्ने १६ वर्षीया किशोरीमाथि छाउगोठ नजिकै बेहोस अवस्था फेला परेको सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालयसमेतको टोलीले उद्धार गरि उनलाई उपचारको लागि जिल्ला अस्पताल लगेको थियो। 

असार ९, २०८१ सोमबार १८:४६:५६ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।