संसद्मा स्वास्थ्यमन्त्री प्रदीपले झुट बोल्दै भने’ स्वास्थ्य उपकरण खरिदमा मिलेमतो भएको छैन’

संसद्मा स्वास्थ्यमन्त्री प्रदीपले झुट बोल्दै भने’ स्वास्थ्य उपकरण खरिदमा मिलेमतो भएको छैन’

काठमाडौँ : स्वास्थ्य उपकरण तथा सामाग्री खरिदमा केन्द्रदेखि प्रदेशतहसम्म भइरहेका मिलेमतो दैनिक सार्वजनिक भइरहेको छ। तर स्वास्थ्यमन्त्री प्रदीप यादवले प्रतिनिधि सभामा उभिएर झुटो बोल्दै ठुला सामाग्रीहरू प्रक्रिया पुरा गरेर खरिद भइरहेको भन्दै झुटो बोलेका छन्।

स्वास्थ्य सेवा विभागदेखि सरकारी अस्पतालमा भएका र भइरहेका खरिद निश्चित आपूर्तिकर्तालाई मात्र टेन्डर पर्ने गरी स्पेशिफिकेशन लक गरेर खरिद हुँदै आएको छ। उकेराले निरन्तर खरिदमा भएका मिलेमतो प्रमाणसहित सार्वजनिक गर्दै आएको छ।

उकेराले प्रकाशित गरेको समाचारको आधारमा काठमाडौँ महानगरपालिकाको आर्थिक सहयोगमा छत्रपाटी निःशुल्क चिकित्सालयले अगाडि बढाएको खरिद रद्द गरेर नयाँ खरिद अगाडि बढाएको थियो।

उता सुदूरपश्चिममा अगाडि बढेको १० करोडको अल्ट्रासाउन्ड मेसिन खरिदमा भएको मिलेमतो उकेराले प्रमाणसहित सार्वजनिक गरेपछि खरिद प्रक्रिया नै रद्द भयो। तर गेटा मेडिकल कलेजमा मिलेमतोमा भइरहेको खरिद प्रक्रिया भने जारी छ।

गेटामा ८० करोड बराबरको स्वास्थ्य उपकरण र सामाग्री खरिद पूर्ण रूपमा मिलेमतोमा भइरहेकोबारे मन्त्री यादव समेत जानकार देखिन्छन्। तर उनले मिलेमतोमा भइरहेको खरिद प्रक्रिया रोक्न चासो देखाएका छैनन्। उनै मन्त्री यादव प्रतिनिधि सभामा उभिएर कतै मिलेमतोमा खरिद नभएको भन्दै झुटो बोले।

महालेखा परीक्षकको प्रतिवेदनमा महँगोमा किनेका स्वास्थ्य उपकरणहरू थन्किएर बसेको, सम्बन्धित अस्पतालमा नपुगेको, आवश्यकताको आधारमा खरिद नगरी हचुवाको भरमा किनेको लगायतका बदनियतपूर्ण कामबारे फेहरिस्त उल्लेख छ। तर मन्त्री यादवले सोमबार प्रतिनिधि सभाको रोस्टममा उभिएर अर्को झुट बोल्दै भने 'खरिद गरेको उपकरण थन्किएर बसेको छैन।'

स्वास्थ्यमन्त्रीको झूट पुष्टि गर्ने समाचार

असार ९, २०८१ सोमबार १६:१४:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।