कपिलवस्तु कारागारबाट २१ फिट सुरुङ खनेर भागेका भारतीय नागरिक १४ वर्षपछि पक्राउ

कपिलवस्तु कारागारबाट २१ फिट सुरुङ खनेर भागेका भारतीय नागरिक १४ वर्षपछि पक्राउ

काठमाडौं : १४ वर्षअघि कपिलवस्तु कारागारबाट सुरुङ खनेर फरार भारतीय नागरिक पक्राउ परेका छन्। 

भारत उत्तर प्रदेशका स्कुल मिया अन्सारी भनिने मोहम्मद स्कुल पक्राउ परेका हुन्। 

शिवराज नगरपालिका ७ बाट कपिलवस्तु प्रहरीको विशेष टोलीले उनलाई पक्राउ गरेको प्रहरी उपरीक्षक नवरत्न पौडेलले बताए।  

अदालतले उनलाई ६ वर्ष ५ महिना ९ दिन कैद र ४ लाख ५० हजार जरिवाना असुलउपर गर्नुपर्ने निर्णय गरेको थियो। 

२०६६ माघ २ गते उनीसहित ८ जना २१ फिट सुरुङ खनेर कारागारको पूर्वी पर्खालबाट भागेका थिए।

कारागारबाट भाग्नेहरूमा डाँका मुद्दामा कैद सजाय भोग्दै आएका मोहम्मद स्कुलसहित कर्तव्य ज्यान मुद्दाका रामजस मौर्य, प्रभु तेली र श्रवणकुमार मुराउ थिए। त्यस्तै, लागुऔषधका सन्तोष कहार, हातहतियार तथा खरखजाना मुद्दाका केदार साहनी, बगेदु मुसलमान र जबर्जस्ती करणी मुद्दाका सन्तकुमार पासी कारागारबाट भागेका थिए।

कपिलवस्तु प्रहरीले सुरुङ खनेर भागेका ७ जना फरार प्रतिवादीलाई यसअघि नै पक्राउ गरिसकेको छ।  

असार ७, २०८१ शनिबार २१:२४:३३ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।