मध्यमधार : ...अनि छोरालाई मार्नेसम्म सोच आयो !

मध्यमधार : ...अनि छोरालाई मार्नेसम्म सोच आयो !

२०६३, माघ १ गते बारा जिल्लाको बलरामपुरमा मदनप्रसाद कुर्मी सधैँ झैँ आफ्नो काममा सक्रिय थिए। माघ महिना भए पनि इँटा भट्टाको रापले असिनामा लतपत उनले त्यहीँ घरमा छोरो जन्मिएको खबर पाए। तिलवा सङ्क्रान्तिको दिन, त्यो भन्दा बढी खुसीको कुरा उनलाई के नै हुन सक्थ्यो र! तुरुन्तै लड्डु किन्न बजार पुगे, साथीहरूलाई बाँडे र बधाई लिए।

संस्कार अनुसार न्वारन नगरेसम्म उनी सुत्केरी श्रीमती नजिक जान पाएनन्। सातौँ दिनमा छोरालाई तेल लगाइरहेकी उनकी श्रीमती एक्कासि झस्किइन्। उनको छोराले पिसाब गरेको थियो। तर पिसाब भने शिश्नबाट ननिस्केर त्यसैको तल रहेको योनिबाट निस्किरहेको देखिन्।

उनको श्रीमतीले भनिन्’ हेर्नु न! बाबु त पिसाब गरिरहेको छैन। यो के हो।,' कुर्मीले आत्तिएर हेरे अनि तुरुन्त भारतको रक्सौलमा रहेको अस्पताल लगे। चिकित्सकले अब चार वर्ष पछि आउनु भनेर फर्काए।

त्यति भनेपछि ठुलै रोग हो कि! भन्ने सोचे। तत्काल चिकित्सकलाई खर्च कति लाग्छ भनेर सोधे। जवाफमा लगभग तीन लाख भारु लाग्ने थाहा पाए। श्रीमतीसँग रक्सौल पुगेका उनी बाटोभरि नबोली घर फर्किए। त्यसबेलासम्म पनि उनले आफ्नो सन्तान अन्तरलिंगी भएको थाहा पाउनै सकेनन्। छोरा एक महिनाको हुँदा जेठी छोरीले बोकेर छिमेकीकोमा खेल्न लागेको बेला अरूले पनि यसबारे थाहा पाए।

' छोरीले बाबु पडोसी घरमा बोकेर गएछ। उनीहरूले अब यहाँ नआइज, तेरो भाइ यस्तो छ, उस्तो छ भनेछन्,' उनले भने, 'कसले सरुवा रोग हो रे भन्यो।  कोहीले राक्षस हो, यसलाई मार्न पर्छ भने। मारेन भने यस्तो पुरै गाउँमा फैलिन्छ, यिनीहरूको नजिक नजा समेत भने। अब त लाजको कुरा भयो।'

अन्तरलिंगी भएकै कारण सामाजिक बहिष्करणमा

त्यसपछि लामो समय उनले आफ्नो छोरालाई घरबाट बाहिरै निकालेनन्। तर गाउँमा यो कुरा आगोसरि फैलियो। झन् नयाँ-नयाँ कुराहरू हुन थाल्यो।

उनको छोरी र ठुलो छोरालाई समेत गाउँमा राम्रो व्यवहार भएन। पुरै परिवार नै बहिष्करणमा पुगे। कुर्मीको मनमा अनेकौँ कुरा खेल्न थाले। चार वर्ष पछि चिकित्सकले तीन लाख बोकेर आउनु भनेको कुराले पनि उनलाई झट्का लागिसकेको थियो।

पैसा नभएको समयमा गाउँभरि कुरा काट्न थालेपछि उनको मनमा छोरालाई मार्ने सोचाई पनि आयो। दुख, रिस र विवशताले उनले झन्डै आफ्नो दुधे बालकको घाँटी निमोठी सकेका थिए।

‘नठिया थिचेर मारिदिने कुरा मनमा आयो। तर मैले सकिन। बाबु हेर्दा निकै राम्रो थियो। मुख पनि उज्यालो,' थुक निल्दै उनले सुनाए, 'प्रभुदाईसँग मेरो बच्चा दुवै लिङ्गी जन्मेको छ, उसलाई मार्छु भनेँ। तर उसले होइन मदन तिमीले त्यस्तो गर्न पाइँदैन। त्यो मारे भने म थुनामा हालिदिन्छु। जेल गराइदिन्छु भनेर मलाई धेरै झपार्नु भयो।'

प्रभु प्रसाद यादव गाउँकै विद्यालयको पिउन हुन्। उनले त्यसबेला अन्तरलिंगी सन्तानको बारेमा मास्टरसम्म कुरा राखेछन्। तीनै मास्टरले पत्रकारलाई बोलाएर कुर्मीको श्रीमतीसँग कुरा गराए। त्यसबेला उनको छोराको समाचार पत्रिकाको पहिलो पृष्ठमै छापियो।

'मलाई पत्रिकामा छाप्न मन थिएन। तर उसको आमासँग कुरा भएछ। आमाले सबै भनेछ। त्यो पत्रिका सुनिलबाबु पन्तले पढे। फोन गरेर मलाई बोलाए' उनले भने।

त्यसबेला लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक समुदायको लागि काम गर्ने नील हिरा समाजका अध्यक्ष सुनिलबाबु पन्त थिए। उनले जनकपुरको अधिकारकर्मी मार्फत कुर्मीको नम्बर पत्ता लगाए। कुरा भएपछि पन्तकै बोलावटमा कुर्मी काठमाडौँ आए।

उनीहरू उपचारको लागि बिएनबी अस्पताल गए। त्यहाँ क्रोमोजोम पनि परीक्षण गरियो। रिपोर्टमा 'एक्स' दश जोड र 'वाई' बाह्र जोड देखियो। जस अनुसार उनको छोराको लिङ्ग मात्र दुइटा नभएर हर्मोनहरु पनि महिला र पुरुषकै देखियो।

उनीसँग अण्डकोष र पाठेघर दुवै छ। तर क्रोमोजोम परीक्षण बाहेक अन्यको लागि अस्पतालले चार वर्ष पछि नै आउन भन्यो।

'फर्किने बेला अरू पनि केही समस्या छ भनेर पन्तले सोधे। मैले भने चार महिना देखि जन्मदर्ता मागीराको। पाएको छैन' उनले भने।

उनले २०६४ असार ४ गते स्थानीय मन्त्रालयमा छोराको जन्म दर्ताको लागि निवेदन दिए। ५ गते सिंहदरबार बोलाएकाले उनी त्यहीँ बसे। मन्त्रालयहुँदै उनले गाविसबाट छोराको जन्मदर्ता प्रमाणपत्र पाए।

मन्त्रालयले नै सिफारिस गरेपछि उनलाई केही गाह्रो भएन। नत्र त्यसअघि छोरी कि छोरा भन्ने प्रश्नले नै उनलाई हैरान बनाएको थियो। जन्मदर्तामा बकाइदा महिला र पुरुष 'दुवै लिङ्गी भएको सन्तान जन्मिएको' भनेरै उल्लेख गरियो।

हुर्कँदै गएपछि उनले त्यस सन्तानलाई पनि अन्य सन्तानसँगै विद्यालयमा पढाए। एक वर्षसम्म आरामले पढिरहेको सन्तानलाई एकाएक दुई लिङ्गी भएको भनेर पिटेर विद्यालयबाट निकालियो।

मास्टरले नै विद्यालयबाट निकाले

'जेठी छोरी र जेठो छोरा त्यसैमा पढ्ने। तर सानो छोरा दुई लिङ्गी भएको थाहा भएपछि उनलाई नपढाउने भन्यो। मास्टरले नै कुरा उठाउन थाले। यसले पढ्दैन भने केही सेवा सुविधा नदिने भयो,' निराश हुँदै उनले भने।

धेरै ठाउँमा गुहार्दा गुहार्दै उनले जिल्ला प्रशासन कार्यालयको बारेमा पनि जानकारी लिए। लगत्तै प्रमुख जिल्ला अधिकारी समक्ष विद्यालयबारे उजुरी गरे।

'सिडिओले निवेदन थाम्यो। तर हेड मास्टरले मलाई उल्टै झपार्यो। मलाई झपार्दा ढोकामा थिएँ। त्यतैबाट फर्किए' उनले उकेरासँग भने।

फर्किएर उनी जिल्लाको महिला तथा बाल विकास केन्द्रमा पुगे। त्यहीँको कर्मचारीले काठमाडौँ जान सुझाए।

'हाम्रो जिल्लामा गीता म्याडम हुनुहुन्थ्यो। उहाँले काठमाडौँ जानु भन्नुभयो। म सँग पैसा थिएन। दुई हजार/ पच्चीस सय त लाग्थ्यो। उहाँले नै २७ सय दिनुभएपछि म फेरी काठमाडौँ आए' उनले भने।

उनी सिधै महिला तथा बाल विकास मन्त्रालय गए। दुई दिन बसेपछि यसबारे 'कानून नै नभएको' जवाफ पाए। उनले त्यसो भए अब मेरो लागि भए पनि कानुन बनाउनुस्, नत्र नेपालको सन्तान भएर पढ्न जाँदा दुवै लिङ्गी भएको कारण शिक्षा नदिने भनेर लेखेर दिनुस् भने।

तर कर्मचारीले त्यो पनि दिन मिल्दैन भने। उनले नदिने भए सर्वोच्च अदालत जान्छु भने। त्यसपछि एउटा चिठी दिए। शिक्षा मन्त्रालयमा निवेदन दिइसके भनेका थिए तर उनले चिठीबारे केही जानकारी पाएका छैनन्।

'सुनिलबाबु पन्त हुँदा धेरै सहयोग पाएको थिएँ। बाटो हेराउने नै सबै उहाँ हो। काँ जाँदा हाम्रो कुरा सुन्छन्, उहाँलाई थाहा छ। तर उहाँ नेपाल छोडेर विदेश जानुभयो। अनि मलाई यता झन् अप्ठ्यारो भयो' उनले भने।

उनले केही समय छोरालाई नपढाई राखे। त्यसपछि नीलहिराबाट बोर्डिङमा पढाउनु, सबै खर्च बेहोर्ने भने।

गाउँको विद्यालयबाट निकालिएको छोरालाई अङ्ग्रेजी विद्यालयमा पढाउने भनेपछि उनी मक्ख परे। सबै बुझे । वर्षको २४ हजार लाग्ने रहेछ। त्यसबारे संस्थालाई जानकारी दिए। अनि पाँच कक्षासम्म पढेको छोरालाई फेरी एक कक्षादेखि पढाउन थाले।

तर निलहिराले उनलाई धोका दियो। तिम्रो बच्चा पढाउन सक्दिन भन्ने जवाफ आयो। तर उनले बच्चा भर्ना गरिसकेका थिए। उनले धोका भएको अनुभव गरे।

'अर्को वर्ष असारमा पढाउन सक्दिन पो भने। त्यसबेला मलाई गद्दारी भएको महसुस भयो। बाबुको बारेमा सबै डकुमेन्ट बनाए। फोटो, भिडियो बनाए। त्यो हामीलाई पनि देखाएन,' उनले सुनाए।

शैक्षिक सत्र सुरु भइसकेपछि फेरी अरुकै आसमा बस्न उनलाई मन लागेन। अनि गाउँकै अर्को विद्यालयमा ६ कक्षा देखि छोरालाई सरकारी विद्यालयमै पढाए। त्यसैबेला अन्तरलिंगीकै लागि मात्र भनेर काम गर्ने संस्थाको बारेमा उनले थाहा पाए। उनी त्यहाँ सम्पर्क गर्ने प्रयासमै थिए। ती संस्थाले नै उनलाई सम्पर्क गर्यो। क्याम्पियन फर चेन्जका संस्थापक अध्यक्ष ईशान रेग्मीले वार्षिक १५ हजार उनको छोराको लागि भनेर पठाउन थाले।

कोभिड महामारीको समयमा संस्थाले उनलाई एउटा भैँसी समेत किनिदिए। अहिले ज्यालादारी सँगै त्यही भैँसीबाट उनको परिवारले गुजारा गरिरहेका छन्।

'भैँसी पालेदेखि केही कमाइ नभए पनि दिनमा ४/५ सय हुन्छ। अहिले त पाडी पनि पाएको छ। अब दुइटा भैँसी हुन्छ। म ज्यालादारीमा गएको बेला श्रीमतीले हेर्छ। अहिले त खुसी छु,' उनले भने।

'भिख मागेर भए पनि उच्च शिक्षा पढाउँछु'

अहिले उनको छोरा नौ कक्षामा पढ्दै छन्। अर्को वर्ष एसइई परीक्षा दिएसँगै उच्च शिक्षाबाट छोरा वञ्चित हुने हो कि भनेर उनी चिन्तित छन्। छोरीको बिहे गराइसके। जेठो छोरालाई भने आठसम्म पढाएर काममा लगाइदिए।

'अब यसले पढेन भने सबैले हेप्छन्। आज म छु। यसको आमा छ। हामी भएन भने कसले हेर्छ? अहिले उसको दाइले पनि अलिअलि हेर्छ। अब यसलाई उच्च शिक्षासम्म पढाउँछु,' उनले भने।

केही समयअघि उनको अण्ड कोषको अप्रेसन समेत भयो। बायाँ पट्टी पेटमा भएको उनको अण्डकोष निकालेका कारण छोरा कमजोर भएको कुर्मीले महसुस गरेका रहेछन्।

नेशनल मेडिकल कलेजले नै सम्पूर्ण खर्च बेहोरेको रहेछ अप्रेशनको। अब फेरी पाठेघर पनि निकालेर फाल्ने कुरा भएको रहेछ। तर यस अघिकै अप्रेशनपछि कमजोर देखिएको छोरालाई फेरि अप्रेसन गर्दा गाह्रो पर्ने हो कि भन्ने उनलाई चिन्ता लागेको रहेछ।

''पाठेघर निकालेपछि तलको बन्द गर्ने अनि माथिबाट पाइप जोड्ने भन्छन्। तीनचोटि अप्रेसन गरेपछि बाबु पुरुष जस्तो पिसाब गर्छ भन्यो,' उनी भन्छन्, ' तर छोरा पहिला मोटो थियो। अप्रेसन भएपछि दुब्लो भयो। अब केही नगर्ने। यो कमजोर भयो भने पढाइमा गाह्रो हुन्छ। यसले पढाई पुरा गरेपछि आफ्नो मनले जे गर्छ, त्यही गर्छ।'

उनको छोराले नागरिकता पनि लिइसके। तर त्यसमा पनि 'लिङ्ग' मा के लेख्ने भनेर ठुलो तनाव भयो उनलाई। जन्मदर्ता अनुसार दुवै लिङ्गी राख्ने भने पनि नागरिकतामा त्यो व्यवस्था छैन।

केहीले 'अन्य' को नागरिकता लिन सुझाव पनि दिएका रहेछन्। तर छोराले नै त्यो लिन नमाने पछि पुरुषको नागरिकता लिएका छन्।

'कान्छोको के हुन्छ' भनेर नै उनीहरूले १७ वर्ष कटाइसके। घरमा प्राय उनको छोरा एकोहोरिएर बस्ने गर्छन्। अहिलेसम्म अरू जे कुरा गरे पनि आमा-बासँग आफूलाई के भइरहेको छ केही भनेका छैनन्।

'उच्च शिक्षा पढ्यो भने काठमाडौँको अफिसमा काम गर्छ। नभए यतै भैँसी हेर्छ। के गर्ने ? भीख मागेर भए पनि उसलाई पढाउँछु,' उनले भने।

मध्यमधारका अन्य सामग्री

असार ७, २०८१ शुक्रबार १८:४५:२२ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।