मध्यमधार : ...अनि जेशिकाले सम्झनालाई भगाइन्

मध्यमधार : ...अनि जेशिकाले सम्झनालाई भगाइन्
तस्बिर- विजयमान नापित

पाँच वर्षअघि एक ‘डेटिङ एप’ चलाउँथिन् जेशिका। घरमा भन्न नसकेका कुराहरू साथीहरूबीच साटासाट गर्थिन्। त्यस एपमा धेरै त बंगालादेशीहरू थिए। अंग्रेजी भाषामा नै कुरा हुन्थ्यो।

एक दिन नेपाली नाम गरेकी केटी फेला पारिन् जेशिकाले। सर्लाहीकी सम्झनासँग उनले नेपालीमा कुरा गर्न थालिन्। एपमा कुरा गर्ने साथीहरूले नेपालीमा कुरा नगर भने। उनीहरूले किन मान्थे र! फेसबुक आइडी साटासाट भयो। उनीहरू म्यासेन्जरमा कुरा गर्न थाले।

कुरा गर्दै जाँदा दुवैको सोच मिल्यो। सोच मात्रै होइन एक अर्कालाई प्रेम पनि गर्न थाले। तीन वर्षसम्म लगातार बोलेपछि मात्रै भेटे उनीहरूले।

उनले भनिन्, ‘ओ हो सुरुमा भेट्ने भन्दा म कम्ता खुसी भएको थिइनँ। पूरै मेरो संसार नै आएजस्तो हुने रहेछ नि मायामा परेपछि त!’

सम्झनाको घरमा दिदीहरूको विवाह हुँदै गयो। पालो आएपछि सम्झनालाई सर्लाही बसिरहन मन लागेन अनि हानिइन् काठमाडौं। एक दिन सम्झनाले जेशिकालाई  भनिन्, ‘घरमा दिदीहरूको विवाह भयो। अब पालो मेरो हो जसरी विवाह गरिदिन्छन् म काठमाडौँ आउँछु।’

यता जेशिका हल्का डराइन् अनि धेरै खुसी भइन्। डराउनुको कारण प्रेम गरेको मान्छेलाई अर्कैले लगिदेला कि भन्ने थियो भने खुसी चाहिँ तीन वर्षसम्म बोलेको ‘आफ्नो मान्छे’ सँगको भेट।

सम्झना काठमाडौं आइन्। उनीहरूले काठमाडौंको मण्डिखाटारमा कोठा लिए। दुवै सँगै बस्न थाले। केही समयपछि सम्झनाकी बहिनी पनि काठमाडौं आइन्। सम्झनाकी बहिनीले त घरमा ‘छक्कासँग बसेको छ दिदी त!’ भनिदिइछन्।

त्यसपछि घरबाट ‘टर्चर’ दिने काम सुरु भयो। सम्झनाका बुवा रोजगारीको सिलसिलामा विदेशमा थिए। छोरीलाई एकपटक भेट्छु भनेपछि उनीहरूले मण्डिखटारमै रहेको कोठामा बोलाए। सम्झनाको घर तिरकाले त केही केटाहरू जम्मासमेत पारेका रहेछन्। सम्झनालाई देख्नेबितिक्कै लछारपछार पारेछन्।

‘बुबाले म भेट्ने मात्रै हो भनेपछि म पनि उत्सुक थिएँ, स्वीकार्नुहुन्छ होला भनेर,’ जेशिकाले भनिन्, ‘तर उहाँहरू आउने बितिक्कै सम्झनालाई लछारपछार गर्नुभयो।’

त्यसपछि सम्झनालाई सर्लाही नै लगे। यता जेशिकाको दिन रोएरै बित्यो उता सम्झनाको पनि।

०००

दिदी नै आमा बुबा
जेशिका काठमाडौंमा नै जन्मिइन्। उनको बुबा उनी गर्भमा छँदा नै बिते। आमा ७ वर्षकी हुँदा। उनकी दिदी र उनी मात्रै बाँकी रहे घरमा। दिदीले सुख-दुःख गरेर हुर्काइन्। त्यसपछि दिदीबहिनी नै एक अर्काको सहारा बने। बाल्यकाल दुःखैमा बित्यो। परिवारको आर्थिक स्थिति ठिकै। पढाइ र काम सँग–सँगै गर्नुपर्ने बाध्यता आइलाग्यो।

आर्थिक दुःख छँदै थियो। समाजले ठानेको ‘छोरी’ नहुँदाको अर्काे दुःख पनि। सानैदेखि छोटो कपाल र केटाका कपडा मनपर्ने। घरमा आफन्तहरूले भने लगाउने लुगादेखि हिँडाइ र बोलाइमा समेत प्रतिक्रिया जनाउने। हैरान हुन्थिन् जेशिका।

कुर्था सुरुवाल नलगाउने र मेकअप गर्न नरुचाएपछि ‘अहिले सानै छेस् पछि मन लाइहाल्छ नि!’ भन्थे दिदीहरू। उनलाई भने मलाई कहिल्यै मन नलागे हुन्थ्यो भन्ने लागिरहन्थ्यो। १३ वर्षको हुँदा नै उनलाई थाहा भयो मलाई प्रेम गर्न केटाहरू मन पर्दैन।

 

‘साथीहरूसम्म त ठीकै छ, तर त्यहाँभन्दा माथि सोच्नै सक्दिनँ,’ जेशिकाले भनिन्, ‘मेरो भन्ने आँट आएन।’

पहिचान खुलाउँदा साथीहरू तर्किए
क्याम्पसको पढाइ चलिरह्यो। उनले साथीहरूलाई भनिन् म त ‘बाइसेक्सुअल हो नि!’, साथीहरूले ‘छक्का’ पो भन्न थाले। धेरैले उडाउन र गिज्याउन थाले।

बाहिर बाइसेक्सुअल भने पनि उनी ‘मास्कुलिनी लेस्बियन’ थिइन्। उनले बाइसेक्सुअल भन्नुको कारण चाहिँ केटासँग विवाह नै गर्दिन भन्दा साथीहरूले नराम्रो सोच्लान् की भन्ने थियो। बाइसेक्सुअल भने पनि साथीहरूले स्वीकारेनन्।

जेशिकाले ‘एलजीबीटीआइक्यु’ सम्बन्धी नै फिल्म, अन्तरवार्ता हेर्न थालिन्। आफूलाई चिन्ने प्रयास गरिरहिन् केही वर्ष।

जेशिकाले एउटा कम्पनीमा काम पनि गरिन्। उनलाई महिलाले महिला र पुरुषले पुरुष भन्छन् भने मेरो पहिचान समलिंगी हो भनेर किन नभन्ने भन्ने लाग्यो। उनले त्यहाँ भनिदिइन् ‘म समलिंगी हो!’

भन्न त भनिन् त्यसपछिको विभेद सहिसक्नु थिएन। गम्भीर मुद्रामा उनले भनिन्, ‘मलाई त त्यो अफिसमा दुर्व्यवहार पो भयो।’

...र जेशिकाले सम्झनालाई भगाइन्
बुवाले भेट्ने निहुँमा सम्झनालाई ‘अपहरण’ नै गरेर लगेपछि जेशिका र सम्झना एकाअर्कासँग छुट्टिए। तर माया त छँदै थियो। परिवारले सम्झनाको विवाह गर्देलान् भन्ने डरले जेशिकालाई सतायो। उनले दरो मन गरिन् अनि पाँच हजार रुपैयाँ लिएर सर्लाही पुगिन्। सिधै सम्झनाको घरमा गइनन्।

पाँच दिनसम्म त्यतै लुकेर भगाउने मौका कुरिरहिन्। छ दिनको दिन उनीहरू भागे। हेटौँडा पुगेपछि त्यहिँबाट मितिनी नेपाल संस्थालाई फोन गरे। मितिनी नेपालले राम्रो ‘रेस्पोन्स’ गर्याे। उनीहरू त्यहाँ गए।

जेशिकाले पूरै मास्क टोपी लगाइन् अनि सम्झनाले पनि पूरै अनुहार नदेखिने गरी पछ्यौराले अनुहार बेरिन्। उनीहरू भाागेको कुरा गाउँभरि फैलिसकेको थियो। डर थियो, ‘कतै परिवारले भेटेर मार्ने पो हुन् कि!’

यता जेशिकालाई भने उनको दिदीले मज्जाले समर्थन गरेकी छन्, ‘तँ जे होस् त्यही हुनु।’

दिदीको यो भनाइले उनलाई ढाडस दिन्छ। आफन्तीले नस्वीकारे पनि मितिनी नेपालको साथ र दिदीको ढाडसले उनलाई जिन्दगीप्रति आशा पलाएको छ।

भन्छिन्, ‘आफ्नो मन बुझिदिने पनि हुनुपर्दाे रहेछ जिन्दगीमा।’

‘वैवाहिक समानताको लडाइँ लड्नै बाँकी छ’
जेशिका र उनको साथी अहिले मितिनी नेपालमा बसेर यौनिक तथा लैंगिक अल्पसंख्यकहरूको लागि काम गर्छन्। समुदायभित्र पनि विशेषगरी समलिंगी महिला, ‘बाइसेक्सुअल’ र तेश्रो लिंगी पुरुषको लागि लड्ने गर्छन्।

यसमा लैंगिक रूपमा महिलाहरूको संलग्नता धेरै हुने भएको कारण संख्यात्मक भने निकै कम देखिन्छन्। अनि समुदायभित्रै पनि यी (समलिंगी महिला, ‘बाइसेक्सुअल’ र तेश्रो लिंगी पुरुष) भने अलि छायाँमा परेका हुन् कि भन्ने देखिन्छ। परिवारबाटै हिंसा भोग्नुपरेको बताउँछिन् जेशिका।

‘आफ्नै परिवारको सदस्यबाट पनि यौन दुर्व्यवहार भोग्न परिरहेको हुन्छ। हातपात पनि धेरैमा भएको छ। त्यहि भएर हामीजस्ता धेरै अझै पनि खुल्न सक्नुहुन्न,’ उनले भनिन्, ‘आफ्नो पहिचान खोले हुने मानसिक हिंसाले पनि कतिपय डराएरै बस्नुभएको छ।’

यस्तो अवस्थामा सकेसम्म नडराइ, आफ्नो लागि लड्ने संस्था वा अरु कसैको सहयोग लिन हिच्किचाउन नहुनेमा उनी जोड गर्छिन्। आफ्नो समुदायकै लागि भनेर उनले कानून पनि पढ्दैछिन्।

उनी भन्छिन्, ‘हाम्रो लागि यस समुदायभन्दा बाहिरकाले धेरै लड्नुभएको देखिन्छ। यस्तो अवस्थामा हामी आफैँ पनि सक्षम किन नहुने भने लाग्यो अनि कानून र नीतिनियम बुझ्न मैले फेरि थप विषय पनि पढ्ने निर्णय गरेँ।’

वैवाहिक समानताको अधिकारको लागि भने मितिनी नेपालले पनि सर्वोच्चमा रिट दायर गरेको छ। त्यसको सुनुवाइ भने आगामी कात्तिकमा हुँदैछ। केहि महिनाअघि मात्र सर्वोच्चले ‘समलिंगी विवाह’को लागि दिएको अन्तरिम आदेश पछि यस समुदायका धेरै उक्त रिट पर्खिरहेका छन्।

‘हाम्रो समाजमा विवाहलाई यति धेरै मान्यता दिएको छ। तर, हाम्रो समुदायको विवाहमा त्यो मान्यता पाउन यति धेरै गाह्रो किन? कानून बनेको छैन। भएको संसोधन हुन सकेको छैन। त्यसका लागि अस्थायी अभिलेख भनेर भनिदियो। त्यो पनि भएको खै त? समानताको कुरा गर्ने अनि हरेक कुरामा विभेद त गर्न भएन नि!’, उनले भनिन्।

जेशिका अब आफूसंगै आफ्नो प्रेमिका र समुदायको लागि लड्न तयार भएकी छन्। लामो समयदेखि यस समुदायले भोग्न परेको विभेद र लाञ्छना उनी सहन चाहन्नन्। यस समुदायका वृद्धहरूले भोग्नुपरेको बहिष्करणको लागि पनि काम गर्न चाहन्छिन् उनी।

मध्यमधारका अन्य सामग्री

भदौ २२, २०८० शुक्रबार १८:१८:१८ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।