चियापानमा कांग्रेस सभापति आउँदा दङ्ग परे रवि, देउवाले घण्टी बजाउँदा हाँसोमय कार्यक्रमस्थल

चियापानमा कांग्रेस सभापति आउँदा दङ्ग परे रवि, देउवाले घण्टी बजाउँदा हाँसोमय कार्यक्रमस्थल

काठमाडौँ : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को पहिलो स्थापना दिवसमा कांग्रेसका शीर्ष नेताहरू देखिएनन्। अन्य दलका नेताहरू कार्यक्रममा सहभागीहुँदा कांग्रेसका नेताहरू भने अनुपस्थित थिए।

उता कांग्रेसले आयोजना गरेको चियापान कार्यक्रममा रास्वपाका नेताहरूलाई निम्ता नै गरिएन। कांग्रेससहितको गठबन्धनको सरकार रहँदा रास्वपा सभापति रवि लामिछानेसहितका नेताहरू सरकारप्रति निकै आक्रामक भए।

कांग्रेसका नेताहरू जोडिएको नक्कली भुटानी शरणार्थी काण्ड लगायतमा लामिछाने निकै आक्रामक भए। गठबन्धन बदलिएर कांग्रेस सरकारबाट बाहिरिँदा एमाले र रास्वपा सरकारमा सहभागी भयो।

अनि कांग्रेसको तारोमा परे लामिछाने। कांग्रेसले लामिछाने सहकारीको रकम अपचलनमा रहेको भन्दै छानबिन गर्न संसदीय समितिको माग गरिरह्यो। संसद् अवरुद्ध गर्यो अनि गृहमन्त्री समेत रहेका रविलाई संसद्मा बोल्न समेत दिएन।

जब कांग्रेस लचक भएर लामिछानेलाई संसद्मा बोल्न दियो लामिछाने कांग्रेसका नेता केन्द्रित भएर विभिन्न लाञ्छना लगाउन सक्रिय भए। कांग्रेस सभापति शेरबहादुर देउवा त मौनै रहे। तर कांग्रेसका प्रभावशाली नेता तथा महामन्त्री विश्वप्रकाश शर्मा अनि गगन थापा लामिछानेप्रति आक्रामक भइरहे।

अन्तमा कांग्रेसको माग अनुसार सहकारी ठगीको छानबिन गर्न संसदीय समिति बन्यो नै। पछिल्लो समय कांग्रेस महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मा लामिछानेप्रति आक्रामकै छन्।

आफूलाई लोकतान्त्रिक दल घोषणा गरे पनि रास्वपाका नेताहरूको कांग्रेसका नेताहरूसँगको सम्बन्ध तितो बन्दै गएको बेलामा पार्टीको दोस्रो स्थापना दिवसको अवसरमा आयोजित चियापान कार्यक्रममा पुगे कांग्रेस सभापति शेरबहादुर देउवा।

रास्वपाको वनस्थलीमा रहेको केन्द्रीय पार्टी कार्यालयमा आयोजित चियापान कार्यक्रममा देउवालाई देख्दा पार्टी सभापति लामिछानेसहितका नेताहरू दङ्ग देखिएका थिए।

उनीहरूले सामूहिक तस्बिर खिचाए अनि देउवालाई पार्टी कार्यालयभित्र लगे। भित्र लग्दै गर्दा देउवा फर्किएर कार्यालयमा राखिएको घण्टी बजाउँदा कार्यक्रमस्थलमा हाँसो गुन्जिएको थियो।

कार्यक्रममा देउवासँगै प्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड,  एमाले अध्यक्ष केपी शर्मा ओली, नेपाल समाजवादी पार्टीका अध्यक्ष बाबुराम भट्टराई, एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, जनमत पार्टीका अध्यक्ष सिके राउतलगायत सहभागी छन्।

असार ६, २०८१ शुक्रबार १६:२७:०४ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।