'जीबी राई कहाँ छन् भन्ने थाहा भइसक्यो'

'जीबी राई कहाँ छन् भन्ने थाहा भइसक्यो'

काठमाडौं : गृहमन्त्री रवि लामिछानेले लाखौं बचतकर्ताको अर्बौं रकम अपचलन गरी फरार रहेका गोर्खा मिडिया नेटवर्कका अध्यक्ष जितेन्द्रबाबु राई (जीबी)को लोकेशन पत्ता लागिसकेको दाबी गरेका छन्। 

बिहीबार चितवनमा पत्रकारहरूसँग कुराकानी गर्दै गृहमन्त्री लामिछानेले जीबी राई कहाँ छन् भन्ने पत्ता लागिसकेको दाबी गर्दै कूटनीतिक पहलमा ढिलाइ भइरहेको बताए। 

‘जीबी राई कहाँ छन् भन्ने हामीलाई थाहा भइसकेको छ। मलाई मलेसियाको गृहमन्त्रीले नै कन्फर्म गर्नुभएको छ। अनुसन्धानमा हामीले धेरै काम गरेर नजिक आएका छौँ। यो बीचमा दुई पटक मलेसियाका गृहमन्त्रीसँग कुराकानी भएको छ।’

उनले मलेसियासँग सुपुर्दगी सन्धी नभएका कारण कूटनीतिक पहलमा समय लागेकाले नेपाल झिकाउन नसकिइरहेको बताए। 

फरार जीबी राई गृहमन्त्री लामिछाने प्रबन्ध निर्देशक रहेको ग्यालेक्सी फोरके टेलिभिजनका अध्यक्ष हुन्। उनीमाथि जीबीसँग मिलेर सहकारीको वचत टेलिभिजनमा लगेको आरोप लाग्दै आएको छ।

बुटवलको सुप्रिम बचत तथा ऋण सहकारी र पोखराको सूर्यदर्शन सहकारीको रकम अपचलन गरी राई फरार भएका छन्। उनी विरुद्ध रेड नोटिस समेत जारी भएको छ। फरार राई मलेशियामा रहेको बताइएको छ। 

गएको चैत १० गते राष्ट्रिय स्वतन्त्र पार्टीले आयोजना गरेको कार्यक्रममा लामिछानेले जीबी राई दोषी हो भने कारबाही भोग्नैपर्ने भन्दै आकाश, पाताल जहाँ भएपनि समातेर ल्याउने बताएका थिए। 

असार ५, २०८१ बिहीबार १४:२८:२१ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।