लमजुङमा प्रहरी चौकी नजिकै दुई युवामाथि खुकुरी प्रहार, ४ जना पक्राउ

लमजुङमा प्रहरी चौकी नजिकै दुई युवामाथि खुकुरी प्रहार, ४ जना पक्राउ

काठमाडौं : लमजुङमा दिनदहाडै दुई जना युवामाथि खुकुरी प्रहार भएको छ। सोमबार दिउँसो करिब ३ बजेतिर सुन्दरबजार नगरपालिका-९ बगैँचास्थित इलाका प्रहरी कार्यालय भोटेओडार नजिकै दुई जना युवामाथि खुकुरी प्रहार भएको प्रहरीले जनाएको छ। 

खुकुरी आक्रमणबाट दूधपोखरी गाउँपालिका-६ गौडा निवासी ४२ वर्षीय लिलाजंग गुरुङ गम्भीर घाइते र दोर्दी गाउँपालिका-४ निवासी ४० वर्षीय मंगलराज गुरुङ सामान्य घाइते भएका छन्।

लिलाजंगको टाउकोको अगाडिको भागमा गम्भीर चोट लागेको छ। गम्भीर घाइते उनलाई भोटेओडार अस्पतालमा प्रारम्भिक उपचारपछि थप उपचारका लागि चितवन पठाइएको छ। मंगलराज भने सामान्य उपचार पछि डिस्चार्ज भएका छन्।

घटनामा संलग्न रहेको आरोपमा प्रहरीले चार जनालाई नियन्त्रणमा लिएको छ। सुन्दरबजार नगरपालिका-९ का ३० वर्षीय आकाश घलेलाई प्रहरीले हतियारसहित नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक थानेश्वर चपाईंले जानकारी दिए। प्रहरी नियन्त्रणमा पर्नेमा ३६ वर्षीय भीमसेन गुरुङ, ३१ वर्षीय पूर्णबहादुर तामाङ र ३८ वर्षीय प्रवीण गुरुङ छन्। 

प्रहरी निरीक्षक चपाईंले युवाहरूबीच पुरानो रिसिबीको कारण झगडा भएको प्रारम्भिक अनुसन्धानबाट खुल्न आएको बताए।

घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।   

असार ३, २०८१ मंगलबार २१:२३:१५ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।