आफूहरूलाई भ्रष्टाचारविरोधी अभियन्ता भन्दै धम्क्याएर रकम असुली गरेको आरोपमा ४ जना पक्राउ

आफूहरूलाई भ्रष्टाचारविरोधी अभियन्ता भन्दै धम्क्याएर रकम असुली गरेको आरोपमा ४ जना पक्राउ

काठमाडौं : आफूलाई भ्रष्टाचारविरोधी अभियन्ता भन्दै ठगी गरेको आरोपमा चारजना पक्राउ परेका छन्। 

पक्राउ पर्नेमा काठमाडौंको गोकर्णेश्वर नगरपालिका-६ का ३१ वर्षीय राजु सुनार, गोकर्णेश्वर-८ का २६ वर्षीय आदर्श क्षेत्री, गोकर्णेश्वर-१ की २० वर्षीया अस्मिता खत्री र गोकर्णेश्वर-२ का ४५ वर्षीय प्रेमप्रसाद श्रेष्ठ छन्।

उनीहरूले आफूलाई अभियन्ता बताएर गैरकानुनी रूपमा संस्था खोली ठगी गरेको भन्दै प्रहरी वृत्त बौद्धमा जाहेरी दिइएको थियो। गोकर्णेश्वर नगरपालिकामा गैरकानुनी रूपमा ‘बेथिति एवं भ्रष्टाचारविरुद्धको अभियान २०८०’ नामक संस्था खोली ठगी गरेको पाइएपछि पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ। 

उनीहरूले सरकारी कार्यालय, स्थानीय निकाय, विद्यालय, संघसंस्था, कम्पनी, कलकारखाना आदिमा गएर आफूहरूलाई भ्रष्टाचारविरोधी अभियन्ता बताउने गरेका थिए। उनीहरूले ती कार्यालय, कम्पनीले भ्रष्टाचार, कर छली, आर्थिक अनियमितता गरेको उजुरी आफूहरूकहाँ परेको बताउने गरेको प्रहरीले जनाएको छ। 

आफूहरूले त्यस विषयमा छानबिन गर्ने भन्दै धम्क्याउने, रकम असुली र चरित्र हत्याजस्ता कार्य गरेको भन्दै उनीहरू विरुद्ध प्रहरी कार्यालयमा उजुरी परेको थियो। 

पक्राउपछि प्रहरीले यस विषयमा थप अनुसन्धान गरिरहेको छ।  

असार ३, २०८१ मंगलबार १५:४०:२६ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।