गृहमन्त्री रविले ल्याए’ सिधा कुरा’ को नयाँ भर्सन’ गृहमन्त्रीलाई भन्नुस्’, क्युआर गरेर सिधै गुनासो गर्न सकिने

गृहमन्त्री रविले ल्याए’ सिधा कुरा’ को नयाँ भर्सन’ गृहमन्त्रीलाई भन्नुस्’, क्युआर गरेर सिधै गुनासो गर्न सकिने

काठमाडौँ : देशको केन्द्रीय प्रशासनिक निकाय सिंहदरबार प्रवेश गर्न पास अनिवार्य छ। पास पाउन नसक्ने सर्वसाधारणका लागि सिंहदरबारको ढोका खुल्ला छैन।

उपप्रधान एवम् गृहमन्त्री रवि लामिछानेका अनुसार अब सिंहदरबार प्रवेश गर्न पास अनिवार्य हुन्न।

शुक्रवार गृहमन्त्रीको रूपमा दोस्रो कार्यकालको सय दिन पुरा भएको अवसरमा आयोजित प्रेस ब्रिफिङ कार्यक्रममा उनले सिंहदरबार पहुँचवालाहरूको लागि मात्र सहज हुने र आफ्नो मान्छे भित्र भए मात्र फोन गरेर काम गर्न पाउने प्रवृत्तिको अन्त्य गर्न सर्वसाधारणका लागि सिंहदरबार खुला गरेको बताए।

‘सिंहदरबारका प्रवेश पहुँचवालाहरूको लागि मात्र थियो। आफ्ना मान्छे भएकाहरूले मात्र छिर्न पाउँथे। अब सिंहदरबार छिर्न काम हुनुपर्छ, नागरिकता हुनुपर्छ। अब सिंहदरबार छिर्नका कसैलाई चिन्नुपर्दैन। आफ्नो मान्छे भित्र भए मात्र फोन गरेर काम गर्न पाउने  प्रणाली अन्त्य गर्ने हाम्रो प्रयास हो।‘

तर त्यो प्रणाली के हो भन्ने उनले विस्तृत खुलाएनन्। तत्काल सो सुविधा कार्यान्वयनमा नआउने भने खुलाए। केही समय सिंहदरबार छिर्न अहिलेकै पद्धति लागु हुने र केही समयमा सबैका लागि सिंहदरबारको ढोका खुल्ला हुने उनले जानकारी दिएका थिए।

गृहमन्त्रीलाई सिधै समस्या राख्न मन्त्रालय अन्तर्गतका निकायमा भोली शनिवार देखिनै क्युआर कोड राखिने र सो क्युआर स्क्यान गर्ने बित्तिकै हरेक गुनासाहरू त्यसमार्फत गृहमन्त्रीकहाँ पुर्याउन सकिने व्यवस्था गरिने उनले जानकारी दिए।

‘नागरिकले मेरो उजुरी लिएन,प्रहरीले मेरो कुरा सुनेन,कर्मचारीले सुनेन भन्ने सुनिन्छ। अब त्यस्तो सिँधै गृह मन्त्रीलाई भन्न सकिन्छ। राम्रोदेखि नराम्रा अनियमिततादेखि लिएर हरेक गुनासाहरू तपाईँले क्युआर कोड स्क्यान गरी त्यसमार्फत गृहमन्त्रीसम्म पुर्याउन सक्नेगरी व्यवस्था मिलाएका छौँ। भोलीबाट देशैभरीका सबै कार्यालयमा गृहमन्त्रीलाई भन्नुहोस् भन्ने क्युआर कोड टाँसेको देख्न सक्नुहुन्छ।’

तर प्रश्नको उत्तर दिएनन्

उनले आफ्नो कार्यकालमा सुधारका कामको जग बसाएको र भोलीका दिन त्यसले नतिजा दिँदै जाने दाबी समेत गरेका थिए। उनले पत्रकार सम्मेलनमा आफूलाई निर्मम प्रश्न गर्न आग्रह गरे पनि पत्रकारहरुको प्रश्नको जवाफ भने दिएनन्। 

जेठ ३२, २०८१ शुक्रबार २०:०१:२४ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।