'३ महिना सरकारमा बसेर हामीले के राम्रो गर्यौँ मलाई थाहा छैन'

'३ महिना सरकारमा बसेर हामीले के राम्रो गर्यौँ मलाई थाहा छैन'

काठमाडौं : गृहमन्त्री रवि लामिछानेले आफू र दलका मन्त्रीहरुले तीन महिना सरकारमा बसेर कुनैपनि नराम्रो काम नगरेको ठोकुवा गरेका छन्। उनले सरकारमा आफ्नो दल काम गर्नकै लागि गएको दाबी गर्दै काम गर्न सक्ने वातावरण नबने सरकारमा बसिरहनुपर्ने आवश्यकता नरहेको बताए। 

बुधबार काठमाडौंमा नेपाल समाजवादी पार्टी (नेसपा)को स्थापना दिवस कार्यक्रममा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापतिसमेत रहेका लामिछानेले भने, ‘यो तीन महिना सरकारमा बसेर हामीले के राम्रो गर्यौँ मलाई थाहा छैन। तर, केही पनि नराम्रो गर्नु भनेको सबैभन्दा राम्रो गर्नु हो। म छाती ठोकेर भन्न सक्छु, तीन महिना सरकारमा बसेर मेरो दलका मन्त्रीहरूले एउटा पनि नराम्रो काम गरेका छैनन्। कति राम्रो काम गरिन्छ त्यो हेर्दै जाने कुरा हुन्।’

डा. बाबुराम भट्टराईको राजनीतिक हुटहुटीको सम्मान गर्न कार्यक्रममा सहभागी भएको बताएका लामिछानेले आफ्नो समयमा डा.भट्टराईले आफ्नो पद् र जिम्मेवारीमा सकेजति काम गर्ने व्यक्तिको उदाहरण भएको बताए।

विगतमा माओवादीले व्यवस्था बदल्न गरेको परिवर्तनको नेतृत्व गर्दा भट्टराई र प्रचण्डको नियत के थियो भन्ने नजाने पनि उनीहरू दुईको एक आदेशमा देशका लागि ज्यानको बली दिने योद्धाको सम्मानका लागि पनि व्यवस्थालाई बलियो बनाउन लागेको लामिछानेको तर्क छ। 

उनले सँगै मञ्चमा बसेका जनमतका अध्यक्ष सीके राउतले निर्वाचन प्रणाली परिवर्तन गरेर प्रत्यक्ष निर्वाचित कार्यकारी प्रधानमन्त्री बनाउने आन्दोलनको लागि तयार हुन रविलाई गरेको आग्रहप्रति जवाफ दिँदै भने, ‘मलाई आन्दोलनबाट परिवर्तन गर्ने कुरामा असहमत हुनुपर्ने कुरामा केही छैन। तर, नागरिकलाई दुःख दिने कुरामा म सहमत छैन। अब जनताले दुःख पाउने होइन, नेताले दुःख पाउनुपर्यो,’ उनले थपे, ‘नागरिकलाई दुःख नदिइ हामीले गर्नुपर्ने परिवर्तनका लागि तयार छौं।’

उनले प्रदेश नेताहरूलाई तह लगाएर राख्ने पार्किङस्थल जस्तो भएको उल्लेख गर्दै त्यसमा सुधार गर्दै जानुपर्नेमा जोड दिए। व्यवस्थाभित्र तागत भएको तर इमान्दारीपूर्वक काम गर्ने दलको प्रतिबद्धतालाई भुल्न नहुने उनको भनाइ छ।   

लामिछानेले काम गर्न सक्दासम्म सरकारमा बस्ने र नसक्दा निस्कने दोहोर्याए। 

उनले भने, ‘सकेको काम गर्नकै लागि हामी सरकारमा सहभागी छौं। नसक्दा या अनावश्यक कसैको भारी बोक्न पर्यो भने त्यहाँ बसिरहनुपर्ने केही आवश्यकता छैन।’ 

जेठ ३०, २०८१ बुधबार १६:३७:२० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।