थुनामा रहेका व्यक्तिलाई छुटाइदिन्छु भन्दै ४५ लाख ठगी, एकजना पक्राउ
काठमाडौं : अनलाइन सट्टेबाजी कसुरमा पक्राउ परेका एक युवकलाई छुटाइदिन्छु भन्दै ४५ लाख रुपैयाँ ठगी गरेको आरोपमा एक जना पक्राउ परेका छन्। पक्राउ पर्नेमा ललितपुरको धापाखेल बस्ने सर्लाही मलंगवा–४ का ४५ वर्षीय मुन्ना भनिने सुजितकुमार सिंह छन्।
फोटोकपी गर्ने सामान्य पसल चलाएर बसेका एक युवकको करोडौंको बैंकिङ कारोबार रहेको खुलेपछि अनुसन्धान गर्दै जाँदा प्रहरीले सर्लाहीको मलंगवा–९ का ३१ वर्षीय सञ्जयकुमार साह, १९ वर्षीय रामजी साह र ३० वर्षीय राकेश चौधरीलाई गत चैत २९ मा पक्राउ गरेको थियो।
काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका अनुसार अनुसन्धानबाट सञ्जय वान एक्स बेटिङका नेपाल एजेन्ट रहेको खुलेको थियो। सञ्जयको निर्देशनमा रामजी र राकेशले काम गरिरहेको खुलेपछि तीनै जनालाई पक्राउ गरेर प्रहरीले काठमाडौं ल्याएको थियो।
मोबाइलको सिम कार्ड पनि बेच्ने सञ्जयले अर्काका कागजपत्र दुरुपयोग गरेर सिम चलाउने गरेको अनुसन्धानमा भेटिएको भन्दै प्रहरीले ९८ वटा बैंक खाता खोलेर कनेक्ट आइपीएसमार्फत पैसाको कारोबार गरेको फेला पारेको थियो। गत वैशाख पहिलो साता प्रहरीले पत्रकार सम्मेलन गर्दै सञ्जयले पक्राउ पर्दासम्मको मितिमा ५७ करोड ४१ लाख रुपैयाँभन्दा बढीको कारोबार गरेको पाइएको जनाएको थियो।
थुनामा रहेका सञ्जयलाई छुटाइदिने भन्दै सिंहले ठगी गरेको खुलेको हो। प्रहरीका अनुसार सञ्जयका आफन्तसँग सम्पर्क गरी सिंहले ‘मेरो उच्च पदस्थ व्यक्तिहरूसँग नजिकको चिनजान छ, मैले आफै सरकारी वकिल, न्यायाधीश, प्रहरी समेतलाई तलदेखि माथिसम्म पैसाले सेटिङ मिलाउँछु’ विश्वास दिलाएर ठगी गरेका हुन्।
सञ्जयका आफन्तलाई काठमाडौंका विभिन्न स्थानमा बोलाइ भेटघाट गरेर नगद २० लाख र चेकमार्फत थप २५ लाख रुपैयाँ ठगी गरेको पाइएको प्रहरीले जनाएको हो।
उनलाई ठगी सम्बन्धी कसुरमा आवश्यक अनुसन्धान एवं कारबाहीका लागि जिल्ला प्रहरी परिसर टेकुको हिरासतमा राखिएको छ।
जेठ २८, २०८१ सोमबार १७:२९:२० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।