...भएन भने कलमले चिथोर्नै पर्छ

...भएन भने कलमले चिथोर्नै पर्छ

मेरो जन्मदिनका अवसरमा मेरो प्रशंसामा साथीभाइहरूका जति अभिव्यक्ति सुनेँ, त्यसका लागि म कृतज्ञ छु। तर, ती अभिव्यक्ति अनुरूप म छु कि छैन ठहर्याउन सकेको छैन।

हामीले नेपालको पत्रकारितालाई जुन विन्दुमा पुर्याउनुपर्ने थियो नेपाली समाजको परिवर्तनका लागि, त्यो काम गर्न सकेका छैनौँ।नेपालमा किन वाल्टर लिपम्यान र नोम चोम्स्की जन्मिएनन्? लिपम्यान र चोम्स्की जस्ता विश्लेषक किन देखापर्न सकेनन्?

साथीभाइहरूले खाली अमेरिकनलाई मात्र सम्झियो भन्नुहोला। तर, त्यसो होइन। भारतका खुशवन्त सिंह, दिलीप पदगाँवकर, कुलदीप नायरजस्ता विचारक–पत्रकार किन जन्मिएनन् जस्तो पनि लाग्छ कहिलेकाहीँ। साहू जैन र रामनाथ गोयन्काजस्ता व्यक्तित्व किन व्यवसायमा आउँदैनन्? नेपालका सञ्चार व्यवसायीहरू किन सधैँ विवादमा आउँछन्? प्रश्नहरू मनमा खेल्न थाल्दछन् अनगिन्ती !

संवैधानिक राजतन्त्र र बहुदलीय प्रजातन्त्रको पुनर्स्थापनापछि नेपाली पत्रकारिता व्यावसायिक भएको छ। यो सही कुरा हो। पत्रकारिता व्यवसायले नाफा कमाउनु पर्छ, त्यो पनि सही कुरा हो। नाफा नकमाए पत्रकार तथा संस्थाका कर्मचारीहरूलाई कसरी तलब र सुविधा दिने? तर पत्रकारिताले आफ्नो देश, सबै नेपाली भाषा र नेपालका जनताप्रति सम्मान जगाउन सक्नुपर्छ। यो मुख्य कुरा हो।

आजको समाज विश्रृखंल छ। बुद्धिजीवीहरूसँग र अरू साथीहरूसँग साँझपख कफी खाँदै कुरा गर्यो भने सामाजिक सञ्जालले हामीलाई बर्बाद गर्यो भन्छन्। मलाई के लाग्छ भने सामाजिक सञ्जालले हामीलाई बर्बाद गरेको छैन। हामीले हामी आफैँलाई बर्बाद गरिरहेका छौँ।

किनभने यो देशमा यत्रो वर्ष भइसक्यो, म नै ७२ वर्षको भइसकेँ, दमन (पूर्व सभामुख दमननाथ ढुङ्गाना) दाइ कति वर्षको भइसक्नुभयो। देशमा, पञ्चवर्षीय योजनाहरू आएका छन्। राणाबाट परिवर्तन, राजाबाट परिवर्तन, त्यसपछि राजालाई समाप्त गरेर अहिले हामी सङ्घीय गणतन्त्रमा छौँ।

यति ठुला परिवर्तन हुँदा पनि हाम्रो देशका जनताले राम्रोसँग एक छाक खान पाएका छैनन्। कामको खोजीमा खाडी लगायतका अन्य देशमा भौँतारिनु परेको छ। यसलाई हामी हाम्रो योग्यता भनौँ? यत्रो हराभरा वातावरण भएको, विशाल नदीहरूले घेरिएको समृद्ध देशमा हामी नेपाली जनता किन चरम गरिबीमा बाँचिरहेका छौँ? किन गरिबीको पनि पिँधमा बाँच्न बाध्य छौँ हामी? यो कुरालाई हामीले सोच्नुपर्छ।

२००७ सालदेखि अहिलेसम्म देशमा भएको परिवर्तनको प्रतिफल जनताले पाएनन्। सामाजिक सञ्जालले उनीहरूलाई कुण्ठा व्यक्त गर्ने स्थान दिएको छ। व्यावसायिक पत्रकारिताले आफ्नो कर्तव्य पूरा गर्न नसकेपछि यस्तो अवस्था आउनु अस्वाभाविक होइन।

हामी पत्रकारहरूले गरिब जनताको पक्षमा आफूलाई सक्रिय र सक्षम बनाउन सकेका छैनौँ। हामी पत्रकारहरूले स्वाभिमानका साथ जनताको पक्षमा काम गर्ने हो भने राजनीति आफ्नो तहमा आउन बाध्य हुन्छ। राजनीतिक नेताहरूको घाँटीमा नैतिकताको डोरी कस्ने काम हामीले नै गर्ने हो।

पत्रकारिताकै सिलसिलामा म पहिलेको ७५ र अहिलेको ७७ जिल्लाको टुप्पामा पटक पटक पुगेको छु। सबै जिल्लामा मेरा कर्मठ साथीभाइहरू छन्। ती मध्ये कतिपयका लागि पत्रकारिताको पेसा नै बाध्यता बनेको छ। मेरा धेरै सक्षम पत्रकार भाइहरू पछिल्लो समयमा पालिका र सरकारी निकायका हाकिमहरूको प्रेस सल्लाहकार बसेका छन्। यो अस्वाभाविक होइन।

पत्रकारिता व्यावसायिकता हुन नसकेपछि कुनै न कुनै व्यवसाय गरेर ज्यान त पाल्नैपर्छ। जानेको त्यही छ, पत्रकारिताको काम। जनसम्पर्कको काम। हिजो जनताको रिपोर्टिङ गर्ने साथीहरू अहिले नेताको रिपोर्टिङ गर्न थालेका छन्। यो उनीहरूको चाहना वा मनसाय होइन, बाध्यता हो।

हाम्रा आदर्शहरू स्खलित भएका छन्, हामी आदर्शको बाटो पहिल्याउनै नसक्ने भएका छौँ। हाम्रो राजनीतिले कुनै दिशाबोध गर्न सकेको छैन। हाम्रा राजनीतिक दलहरूले कुनै मार्गदर्शन गर्न सकेका छैनन्।

जनयुद्ध लडेर आएका प्रधानमन्त्री पाएका छौँ, तीन तीन पटक। दुई पटक त उहाँ दायाँ र बायाँ पल्टिई सक्नुभयो, तै अहिलेसम्म जनताले उहाँलाई ‘पल्टुराम’को नाम दिएका छैनन्। भोलि फेरि यही दोहोरिन्छ। त्यो निश्चित नै छ। यस्तो अव्यवस्थालाई सम्हाल्न नसक्ने नेता र सत्ताको कुनै काम छैन। राजनीतिक दलको पनि काम छैन।

हिजो पहिलो जनआन्दोलनका प्रारम्भमा सर्वमान्य नेता गणेशमान सिंहबाट प्रेरित भएर मनमोहन अधिकारीको अध्यक्षतामा नेपाल कम्युनिस्ट पार्टी एकीकृत मार्क्सवादी–लेनिनवादी गठन भएको थियो। त्यो एकताबाट काँग्रेस र एमाले मिलेर देश बनाउने सन्देश प्रसारित भएको थियो जनताको बिचमा। आजको मितिसम्म काँग्रेस र एमाले मिलेर देशको विकासमा खास योगदान दिन सकेनन्।

शासन व्यवस्था सुव्यवस्थित गरेर लान नसकेको यो पहिलो पटक होइन। एकतन्त्रीय शासन व्यवस्थाबाट बहुदलीय शासन व्यवस्थामा कसरी लैजाने भन्ने परिकल्पना कसैसँग थिएन। जोसँग परिकल्पना थियो त्यसलाई पाखा लगाइयो।

धेरै कारणले हामी पत्रकारहरू बढी सचेत हुनुपर्छ,  बढी विवेकशील हुनुपर्छ। शासन सत्तामा बस्नेहरूलाई घोची रहनु पर्दछ र घचघच्याइ रहनुपर्छ। घचघच्याएर भएन भने चिथोर्नै पर्छ कलमले।

अहिले साथीभाइहरूले चिथोर्ने खालको कलम बोकेको देखिँदैन। मसी कलमभित्र सुकेको जस्तो लाग्छ। मसी सुक्न नदिनुहोला। मसीलाई मात्र सुक्न नदिएर राख्नुभयो भने अक्षरले क्रान्ति गर्ने हो, बन्दुकले क्रान्ति गर्नेहरूको नियत र हालत हामीले देखिहाल्यौँ।

आजसम्म अक्षर विनाको क्रान्ति देखिएको छैन । कार्ल मार्क्सले ‘दास क्यापिटल’ नलेखेको भए कम्युनिस्ट क्रान्ति हुँदैन थियो होला। क्रान्ति अक्षरले नै गर्ने हो, विचारले नै गर्ने हो।

नेपालको समुन्नतिका लागि, परिवर्तनका लागि वातावरणको निर्माण नेताहरूको भाषणले होइन पत्रकारहरूको चिन्तनले गर्ने हो। त्यसका लागि तिखो प्रहार आवश्यक हुन्छ। साथीहरूले आत्मविश्वास राख्नुहोस्।

तपाईँहरू सबैले जसरी मलाई माया गर्नुभयो, केक खुवाउनुभयो, खादामाला लगाइदिनुभयो, उपहारहरू दिनुभयो, त्यसरी नै जनतालाई सुविचारको उपहार दिनुहोस्। सङ्घ सङ्गठनका साथीहरूसँग हात मिलाएर बस्नु भयो भने कुनै पनि बेला जुरुक्क उठेर यहाँका दुर्जनहरूसँग लड्न सक्ने क्षमता विकसित हुनेछ।

तपाइँहरुलाई देखेपछि, तपाईँहरूसँग काम गर्न मन लाग्छ। डाँडाकाँडा घुम्न मन लाग्छ। रहर जागेर आउँछ। उमेरको अङ्क ७२ लाई उल्ट्याएर, २७ को जस्तो काम गर्ने चाहना छ। तर उमेरले सबै कुरा धान्न सक्दैन। 

 (आफ्नो जन्मोत्सवको अवसरमा २०८१ जेठ २४ मा भएको शुभकामना सभामा व्यक्त विचार) 

२५ जेठ, २०८१, १८:१३:१६ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।