साउदी रियाल देखाएर गरगहना र नगद ठगी, ३ जना पक्राउ

साउदी रियाल देखाएर गरगहना र नगद ठगी, ३ जना पक्राउ

काठमाडौं : साउदी मुद्रा रियाल देखाएर विभिन्न प्रलोभनमा पारी ठगी गर्दै हिँडेको आरोपमा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा सिन्धुलीको दुधौली–१२ का ३५ वर्षीय दीपक तामाङ, ४९ वर्षीय टेकबहादुर घिसिङ र ३६ वर्षका नीरबहादुर तामाङ छन्। 

पछिल्लो पटकको ठगी घटनाको सूचना प्रहरीकहाँ पुगेपछि उनीहरुलाई पक्राउ गरिएको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रहरी उपरीक्षक रवीन्द्र रेग्मीले बताए। पछिल्लो पटक उनीहरुले गत बुधबार कागेश्वरी मनोहरा–५ हरियालीनगर बस्ने वर्ष ५८ वर्षीया चन्दरी तामाङलाई ठगेका थिए। साउदी रियाल देखाउँदै चन्दरीको करिब २ लाख १० हजार मूल्य बराबरको कानको सुनको रिङ ठगी गरेको सूचना प्रहरीले पाएको थियो। प्रहरीले पक्राउ परेकाहरूले हालसम्म सुनका गरगहना र नगदसमेत १४ लाख २१ हजार ५ सय रुपैयाँ ठगी गरेको खुलेको जनाएको छ। 

उनीहरुलाई उपत्यका अपराध अनुसन्धान कार्यालयका शाखा भक्तपुर र बौद्धको संयुक्त टोलीले गत शुक्रबार साँझ गोकर्णेश्वर नारायणटारबाट पक्राउ गरेको प्रहरीले जनाएको छ। 

पक्राउपछि उनीहरुले गरेका ठगीका घटना खुलेका छन्। उनीहरुले गत साउन १० गते काभ्रेपलान्चोकको तेमाल–३ घर भइ हाल गोकर्णेश्वर–६ नयाँबस्ती बस्ने ३५ वर्षीया फुलमाया तामाङलाई साउदी रियाल देखाई साथमा रहेको सुनको विभिन्न गरगहनासमेत गरी जम्मा ४ लाख ८५ हजार ठगी गरेका थिए। उक्त घटनाको पाँच दिनपछि रामेछापको साबिक गुप्तेश्वर–६ घर भइ गोकर्णेश्वर बस्ने ३८ वर्षीया सरमाया तामाङबाट गरगहनासमेत २ लाख २२ हजार ५ सय ठगी गरेका थिए। 

यस्तै, गत साउन २४ मा ओखलढुंगाको सुनकोशी–३ घर भई कागेश्वरी मनोहरा–२ आलापोट बस्ने २४ वर्षीय उत्तम बस्नेतलाई कतारी रियाल देखाई साथमा रहेको सुनको सिक्री लिई २ लाख २० हजार रुपैयाँ ठगी गरेका थिए।

गत पुस २१ मा दोलखाको साबिक डाँडाखर्क–३ घर भइ हाल गोकर्णेश्वर–८ माकलवारी बस्ने ४९ वर्षीया दिलकुमारी तामाङबाट २ लाख ८४ हजार ठगी गरेको प्रहरीले जनाएको छ।  

जेठ २१, २०८१ सोमबार १९:३३:३७ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।