नेताले पढाउँछ- प्राध्यापकलाई

नेताले पढाउँछ- प्राध्यापकलाई

नेताले पढाउँछ- प्राध्यापकलाई 
र, नवीन ज्ञानले अररो भएर
कतै नढल्कीकन
कतै नपोखिईकन
कतै नछोईकन
कसैसँग नबोलीकन
ताजाज्ञान र अति प्रज्ज्वलनशील चेतसहित
कक्षामा प्रवेश गर्छ- प्राध्यापक
र, पढाउन थाल्छ....
पढाउन पनि के थाल्छ-
मतिष्कमा
घरि विषयका कुरा आउँछन्
घरि नेताले भनेका कुरा आउँछन्...

कक्षामा विद्यार्थी पनि खोई के विद्यार्थी ?
एकातिर आफ्नाहरू छन्
अर्कातिर विरोधीहरू छन्
आफ्नाहरू नबुझे पनि बुझे झै गर्छन्,
विरोधीहरू नबुझेका कुरामा प्रश्न गर्छन् ।
उसलाई थाहा भइसक्यो-
विरोधीका प्रश्नलाई कसरी नाँघ्नुपर्छ भन्ने कुरा
ऊ त्यसरी नै नाँघ्छ
जसरी विरोधीका जायज कुरा नसुनेरै
पल्लो छेउमा पुग्छन् नेताहरू- संसदमा

अब उसले बुझेको छ-
विषयवस्तुको ज्ञानले मात्र हुने भए
आफ्नो विषयमा अद्यावधिक भएर मात्र हुने भए
अन्वेषण र प्रयोगमा मात्र लागेर हुने भए
विषयसँग सम्बन्धित
विद्यार्थीका सबैखाले र स्तरका प्रश्नमा
संवेदनशील र उत्तरदायी मात्र भएर हुने भए
ऊ पूर्णकालीन भइसकेको हुन्थ्यो
उसले अस्थायी नियुक्ति पाइसकेको हुन्थ्यो
ऊ स्थायी भइसकेको हुन्थ्यो
उसको पदोन्नति भइसकेको हुन्थ्यो।

प्राध्यापक आफ्नो विषयगत विशिष्टतामाथि थुक्छ; कुल्ला गर्छ;
र, नेताको क्लासमा पस्छ।
नेताले पढाउँछ- प्राध्यापकलाई।

महालक्ष्मी-३, बोझेपोखरी, ललितपुर

१८ जेठ, २०८१, १२:१०:५५ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।