गृहमन्त्री लामिछाने र महान्यायाधीवक्ताको कार्यालयविरुद्धको सनुवाइ आज पनि स्थगित

गृहमन्त्री लामिछाने र महान्यायाधीवक्ताको कार्यालयविरुद्धको सनुवाइ आज पनि स्थगित

काठमाडौं : गृहमन्त्री रवि लामिछाने र महान्यायाधीवक्ताको कार्यालयका विरुद्ध परेको रिटको सुनुवाइ आज पनि स्थगित भएको छ।

सर्वोच्च अदालतका न्यायाधीश सुनिलकुमार पोखरेलको इजलासमा सुनुवाइ तोकिएकोमा निवेदक अनुपम भट्टराईले सुनुवाइ स्थगन गर्न निवेदन दिएपछि बिहीबारको सुनुवाइ पनि स्थगित भएको हो।

यसअघि यो रिटमा हिजो बुधबार पनि पेशी चढेको थियो। तर हिजो पनि उक्त पेशी न्यायाधीश पोखरेलकै इजलासमा परेपछि स्थगित गर्न रिटकर्ता भट्टराईले आग्रह गरेका थिए। त्यसपछि रिट स्थगित भएको थियो।

रिटको पेशी पोखरेलको इजलासमा तेस्रो नम्बरमा थियो। पोखरेल अधिवक्ता रहँदा उनले नागरिकताको मुद्दामा लामिछानेको तर्फबाट बहस गरेका थिए।

रिटमा सहकारी ठगीको अनुसन्धानमा नरहेको भन्दै गृहमन्त्री रवि लामिछानेलाई महान्यायाधिवक्ता कार्यालयले दिएको पत्र खारेजी र अनुसन्धान चलिरहेसम्म उनलाई पदबाट निलम्बन गर्न माग गरिएको छ।

महान्यायाधिवक्ता कार्यालयले गृहमन्त्री लामिछानेविरुद्ध सहकारी ठगीमा कतै जाहेरी नपरेको र अभियोजन समेत नभएको भन्दै दिएको पत्र सार्वजनिक भएपछि विवाद भएको थियो।

त्यही पत्रमाथि कानुनी प्रश्न उठाउँदै भट्टराइले रिट दिएका थिए। पहिला रिट दरपिठ भएकोमा पछि सर्वोच्च अदालतकै आदेशमा रिट दर्ता भएर बुधबारका लागि पेशी तोकिएको थियो।

जेठ १७, २०८१ बिहीबार १३:३४:१६ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।