मधेसमा तस्करी : रोक्न गृहमन्त्रीको निर्देशन तर कार्यान्वयन सून्य

मधेसमा तस्करी : रोक्न गृहमन्त्रीको निर्देशन तर कार्यान्वयन सून्य

काठमाडौँ : एक खर्ब १५ अर्ब बराबरको मासुजन्य कारोबार वार्षिक रूपमा १५ अर्ब बराबरको मासुजन्य सामाग्री भारतबाट तस्करी हुन्छ। त्यही तस्करी रोक्न गृहमन्त्री रवि लामिछानेले चैत्र ८ मा नेपाल भारत सीमाबाट भन्सार छलेर हुने कुखुरा, राँगा तथा खसी लगायतका मासुजन्य सामाग्रीको तस्करी रोक्न निर्देशन दिएका थिए।

उकेराकर्मीले तराइका बाँके, रुपन्देही, सर्लाही, रौतहट, बारा र पर्साको सीमा क्षेत्रमा १ महिना स्थलगत रिपोर्टिङ गर्दा कार्यान्वयन पक्ष भने शून्य बराबर देखियो।

सिमाना तस्करी नियन्त्रणका लागि सशस्त्र प्रहरी बल र नेपाल प्रहरी खटिएका छन्। तर केन्द्रदेखि स्थानीय राजनीतिक संरक्षण प्राप्त तस्करका सामु सुरक्षा निकाय निरीह देखिए। केही स्थानमा तस्करीमा उनीहरू नै सहयोगी देखिए।

किन यस्तो ? गृह मन्त्रालयका प्रवक्ता नारायण प्रसाद भट्टराइ मन्त्रालयले सम्बन्धित निकायलाई निगरानी गर्न निर्देशन दिएको भन्दै तस्करी भएको प्रमाण देखाउन भने।

‘सुरक्षा निकायले नदेखेको जस्तो गरेको छ भने, सुरक्षा निकायको नियतमाथि शङ्का गर्नुपर्ने भयो। सुरक्षा निकायको आँखा छलेर गरेको छ भने, स्थानीय निकायले निगरानी गर्नुपर्ने भयो,’ उनले भने’गृह मन्त्रालय स्पष्ट छ, कि यसमा पूर्णरुपमा बन्द गर्नुपर्छ।’

उकेराकर्मीले भारतबाट नेपालमा खुल्लमखुल्ला कुखुरा, अण्डा, चल्ला, राँगा, भैँसी र खसी-बोका तस्करी भइरहेको तर प्रहरीको तदारुकता नदेखिएको बारे नेपाल प्रहरीका तत्कालीन प्रवक्ता तथा वर्तमान एआइजी भिमप्रसाद ढकालसँग जिज्ञासा राख्दा उनले तस्करी रोक्ने काम नेपाल प्रहरीको मात्रै नभएको जवाफ दिए।

‘ तस्करी रोक्न भन्सार विभाग, सशस्त्र प्रहरी बल, क्वारेनटाइन लगायतका संयन्त्रहरू छन्। नेपाल प्रहरी मात्रै होइन,’ उनले भने’ अरू निकायले पनि काम गर्नुपर्छ। नेपाल प्रहरीले तस्करी गरेकालाई पक्राउ गरेको छ। यदि कुनै प्रहरीको मिलेमतोमा तस्करी भएको अवस्थामा कारबाही पनि गछौँ। हामीले तस्करी रोक्नको लागि जिल्लाका प्रहरी प्रमुखको फेरबदल समेत गरेका छौ।‘

उकेराको स्थलगत रिपोर्टिङमा भने ढकालले गरेको दाबी अनुसार प्रहरीको सक्रियता देखिएन। केहीको हकमा तस्करीमा प्रयोग भएको सामान र गाडी नियन्त्रणमा लिएर भन्सार बुझाउनेसम्मको काम गरेको देखियो। तर व्यक्तिको हकमा उदार देखियो।

कुखुरा तस्करीमा संलग्न देखिएका विरगंन्जका फ्रेस हाउस सञ्चालक अफरोज आलम प्रहरीले सवारी साधन र सामानसम्म जफत गरे पनि व्यक्तिलाई नै पक्राउ भने नगर्ने बताए।

‘सामान भेटायो भने लग्छन्। दुई पटक मेरो मासु समाएको छ। दुवै पटक सवारी जफत गरेको छ’ उनले भने’ म त झगडा गर्नै गएको हो।‘

सरकारले भारतबाट मासुजन्य वस्तु आयातमा पूर्ण प्रतिबन्ध लगाएको छ। तर पनि भारतसँग सीमा जोडिएका जिल्लाहरूमा तस्करी सहजै तस्करी हुन्छ। नेपालगन्जको बिपी चोकमा सञ्चालित नसिम फ्रेस हाउसले भारतबाट कुखुरा ल्याएको प्रहरीलाई जानकारी गराउँदा कुखुरा मात्रै लगेको तर सञ्चालकलाई कारबाही गरिएको देखिएन।

त्यस्तै, भन्सार कार्यालय नजिक सञ्चालित आलम मिट हाउसका सञ्चालकलाई समेत कुनै कारबाही गरिएको देखिएन। न त उनीहरूलाई आर्थिक जरिवाना नै गरियो। कुखुरा व्यवसायीले समाएको खण्डमा कुखुरा जफत गर्ने नत्र त्यसमा पनि वास्ता नगर्ने गरेको देखियो।

तस्करी रोक्न कानुन नै फितलो

तस्करी सम्बन्धी स्पष्ट कानुन नहुँदा तस्करलाई सजिलो भएको देखियो। साइकल, मोटरसाइकलमा तस्करी गर्यौ, समाएको खण्डमा जफत नत्र सहजै वारी।

अहिले स्वास्थ्य तथा पशु सेवा ऐन, २०५५ कार्यान्वयनमा छ। क्वारेनटिन सञ्चालन गर्ने पशु सेवा ऐनअनुसार चेकपोस्टको बाटो छलेर पशु, पशुजन्य पदार्थ र पशु उत्पादन सामग्रीको पैठारी गर्नेलाई २५ हजार रुपैयाँसम्म र त्यस्ता पशु, पशुजन्य पदार्थ र पशु उत्पादन सामग्रीमा सङ्क्रामक रोग पाइएमा त्यसको दोबर जरिवाना हुने व्यवस्था छ।

सरकारले प्रतिबन्ध लगाएका पशु, पशुजन्य पदार्थ र पशु उत्पादन सामग्रीको पैठारी गर्नेलाई १० हजार रुपैयाँसम्म जरिवाना हुने व्यवस्था छ। तर तस्करीका पशुपन्छीहरू विरलै मात्रामा सशस्त्र प्रहरी र नेपाल प्रहरीले जफत गर्छन्।

हाल लागू भएको ऐन कमजोर रहेको विरगंन्जका पशु चिकित्सक ब्रिजेश चौरसिया बताउँछन्।

‘सकेसम्म सेटिङ्ग मार्फत तस्करी हुन्छ। बाईचान्स समाई हाल्यो भने पनि ५, १० हजार तिरेर निस्किहाल्छन्,’ उनले भने’ आर्थिक भार हुने गरी कारबाही भएमा तस्करी अलि कम हुन्थ्यो।’

तस्करी किन नियन्त्रण हुन सकेन?

सीमानाका नजिक रहेका गाउँहरूमा बिहान सबेरै वा दिउँसै पनि भारतबाट नेपालतर्फ कुखुरा ल्याउने गरेको देखिन्छ। तस्करीमा साना भ्यानहरू, मोटरसाइकल र साइकलको प्रयोग हुने गरेको देखियो।

अधिकांश साइकलमा हुने तस्करीमा एक पटकमा २० वटासम्म कुखुरा वारपार गर्ने गरेको र एकै व्यक्तिले दिनभरमा पाँच सय बढी कुरा तस्करी गरेर नेपाल भित्र्याउने गरेको देखियो।

खसी-बाख्रा र मासुका लागि हुने राँगा-भैँसीको तस्करी त गनिसाधे छैन। यस्ता पशुको तस्करी अधिकांश सुरक्षा पोस्ट नभएको स्थानबाट नेपाल ल्याइन्छ। अनि क्वारेनटाइन र स्थानीय प्रशासनको मिलेमतोमा नेपालकै पशु प्रमाणित गराएर काठमाडौँसम्म सहजै आइपुग्छन्।

पशुजन्य मासुको तस्करीमा तयारी या ज्युँदै पशु काठमाडौँ लगायतका क्षेत्रमा पुर्याउन सरहपिच्छे एजेन्टहरू देखिए। उनीहरूले खसी र राँगा-भैँसी नियमित रूपमै ल्याउन लगाउने गरेको अनि कुखुराको हकमा यता भाउ बढेको या उत्पादन कम भएको अवस्थामा स्थानीय एजेन्टहरूसँग माग्ने गरेको देखियो।

रौतहटको बालचनपुरमा सञ्चालित त्रिशक्ति पोल्ट्री फर्मका सञ्चालक जितेन्द्र कुस्वाहले नेपालमा अभाव भएको बेला ठुला व्यवसायीले नै भारतीय कुखुरा ल्याउन लगाउने बताए। उनी डिलर समेत हुन्।

‘काठमाडौँका जति पनि डिलरहरू छन् उनीहरूले नेपालमा कुखुरा अभाव भएको बेला भारतबाट नै ल्याउन आग्रह गर्छन्। हामी त डिलरवाला हो। हाम्रो पेसा भनेकै व्यवसायी गर्ने, त्यसैले अभावको समयमा भारतबाट पनि ल्याउँछौँ। होइन भने, मेरो डिलरमा सर्लाहीबाट आउँछ’ उनले भने।

सम्बन्धित समाचार

जेठ १६, २०८१ बुधबार १५:३५:५९ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।