दलित मुक्ति आन्दोलनलाई खोलामा बगाइदिएको 'पुजार सार्की'

दलित मुक्ति आन्दोलनलाई खोलामा बगाइदिएको 'पुजार सार्की'

'शास्त्र पढेर बाहुन भैन्च?' फिल्म 'पुजार सार्की'मा मैतबहादुर (प्रदीप खड्का)ले सोध्छन्। तर, सिंगै फिल्मले कतै यसको जवाफ दिन सकेन। भलै, फिल्मभरि पुजार (आर्यन सिग्देल)ले कयौंपटक दोहोर्याउँछन्-शास्त्रमा विभेद छैन। तर, यो पनि फिल्मले प्रमाणित गर्न सकेन। 

जबकि ३५ सय वर्ष पुरानो भनिएको ॠगवेदको दशौं मण्डलको पुरुष सुत ९० मा ब्राह्मण, क्षेत्री, वैश्य र शूद्र उल्लेख छ। त्यसैबाट शूद्र (आजका दलित) उत्पन्न भए, जसलाई शास्त्र छुन दिनै हुँदैन भन्ने त्यहीँ शास्त्रमा उल्लेख छ।

त्यहीँ ॠगवेदलाई टेकेर पछि मनुस्मृति, विष्णुपुराण, गरूण पुराण लेखिए जसले जातव्यवस्थालाई थप बढवा दिए। तर, फिल्मले यो सत्यलाई देखाउनै सकेन।

फिल्मको कथाको सुरुवात मैतबहादुरबाट भएर अन्त्य पनि उनीबाटै टुंगिन्छ। तर, फिल्मको नाम भने पुजार पात्रबाट लिएको छ। सिंगो कथाको पेरिफेरि मैतेमै घुमेको हुँदा शीर्षक नै सार्थक देखिएन फिल्मको।

सत्य घटनाबाट प्रेरित भनिएको सिंगो फिल्म अन्तर्जातीय प्रेमको वरिपरि घुम्छ। प्रेमले मान्छेलाई कहिले कमजोर बनाइदिन्छ त कहिले विद्रोही बन्न बाध्य बनाउँछ। यो फिल्ममा पनि मैतेले गौमायालाई र पुजारले मैयाँलाई पाउन गरेको आ-आफ्नै संघर्ष र विद्रोह नै फिल्मको मूलसार हो।

फिल्मले समाजको रूपान्तरणको हल्काफुल्का आभास दिन्छ। तर सिनेमा भित्रको समाजले जातीय विभेद अन्त्यको जिम्मा भविष्यलाई थुपारेको छ, यो नै यस फिल्मको कुरूप चित्र हो। 

यो कथा पोखराको आसपासको गाउँको हो।  २०४६ फागुन ५ गतेबाट फिल्मको कथा सुरु हुन्छ। त्यस बेलासम्म देशमा निरङ्कुश पञ्चायती व्यवस्था थियो। जसको खिलाफमा जाने छुट कसैलाई थिएन।

फिल्ममा चार समुदायलाई समेटिएको छ। पुजार, हरिद्वारमा पढेका पुजारी। मैतबहादुर, मन्दिरमा दमाहा बजाउने दमाई। र, गौमाया (परीक्षा लिम्बू) मगर समुदायकी पुजारीकी छोरी। साथमा छन्, मैयाँ (अन्जना बराइली) सार्की समुदायकी, मन्दिरमा सरसफाइ गर्ने र पुजारको घरमा सघाउने र मेघराज (पल शाह) ब्राह्मण समुदायका क्रान्तिकारी कम्युनिस्ट।

मूलतः मिश्रित समुदायको बसोबास रहेको त्यस गाउँमा तत्कालीन कायम राज्य व्यवस्थाकै कारण पनि प्रधानपञ्चको हुकुमी शासन चल्ने नै भयो। प्रधानपञ्चभन्दा एक तह तल छन् पुजार, जसको कुरा गाउँमा कसैले काट्न सक्दैनन्।

उनै पुजारको कथित तल्लो जातकी मैयाँसँग प्रेम बसेको छ। फिल्मभरि उनीहरू बिचको प्रेमको उतार चढाव छ। उता मैते र गौमायाको प्रेम पनि एक रेखामा बगेको छैन। यी दुई जोडीमध्ये एक जोडीको प्रेम विवाहमा बदलिन्छ, अर्कोको असफल हुन्छ।

समाज रूपान्तरणका लागि सिनेमा अन्य माध्यमको तुलनामा बलियो माध्यम मानिन्छ। आजसम्म पनि राजेश हमालका कयौँ संवादहरू जनमानसको जिब्रोमै झुन्डिएका छन्। फिल्मको सूत्रका आधारमा मात्र हेर्दा फिल्म ठिकै छ। तर जात व्यवस्थाको कथामाथि फिल्म बनेकाले यसलाई फिल्मी मात्र हैन विचारको फ्रेमबाट पनि हेर्नु आवश्यक छ। विचारको फ्रेममा फिल्म कच्चा छ।

पुजार सार्कीका निर्देशक दिनेश राउतले जातमाथि बनाएको यो पहिलो फिल्म हैन। यसअघि उनले 'प्रसाद', प्रकाश' जस्ता फिल्म बनाइसकेका छन्। यी फिल्महरू जातीय विभेदको एकदमै फितलो प्रस्तुति समेटिएको थियो।

दलित मुद्दामा दिनेशको निर्देशकीय ज्ञान 'अल्पविद्या भयंकरम्' छ भन्ने उनका अघिल्ला फिल्महरूले बताइसकेका थिए। पुजार सार्कीमा आइपुग्दासम्म उनले आफ्नो त्यो कमजोरीलाई निरन्तरता नै दिएका छन्।

यसअघि 'प्रकाश' फिल्ममा आरक्षण प्रणालीलाई गलत साबित गर्न लागिपरेका विकास सुवेदीले नै यो फिल्म लेखेका हुन्। प्रकाशमा उनले आरक्षण क्षमताको आधारमा दिइनुपर्छ भन्ने देखाएका थिए। पुजार सार्कीमा आइपुग्दा फेरि पनि उनको समाजशास्त्रीय अध्ययन बच्कना पाराको देखिएको छ।

उनले मगर समुदायलाई उग्र जात व्यवस्थाको पहरेदारको रूपमा देखाउन खोजेका छन्। जबकि वास्तविकतामा मगर समुदाय हिन्दु वर्णाश्रमभित्र पनि पर्दैन। 

फिल्मका पात्रहरूमा मैते हाबी छन्। दुई तिहाइ फिल्मका फ्रेम उनकै वरिपरि घुमिरहेको छ। उनलाई फिल्ममा दलित समुदायका योद्धाका रूपमा चित्रित गर्ने प्रयास गरेका छन् निर्देशकले। तर, हास्यपात्रको कस्ता योद्धा?

निर्देशकले मैतेलाई हास्यपात्रको रूपमा प्रस्तुत गरेको कि दलित मुक्ति आन्दोलनको योद्धाको रूपमा बुझ्न निकै घोत्लिनुपर्छ। 

निर्देशकले बिर्सिएजस्तो छ, जातीय विभेद र धर्म (जुनसुकै) एक अर्काका पर्याय हुन्। अझ त्यसमा पनि हिन्दु धर्ममा रहेका पुरातन सोच बलियो भएसम्म जातीय विभेद अन्त्य हुन सक्दैन। त्यसको सानो उदाहरण पुजार सार्कीमा प्रधानपञ्चले मैतेबाट शास्त्र (सामवेद) खोसेर पढ्न हुँदैन भन्दै उठबस गराएर देखाइएको छ।

फिल्ममा उनलाई एउटै ध्याउन्न छ- गौमायालाई कसरी बिहे गर्न सकिन्छ? भेटिएर दमाई परिवारले हुर्काएका उनी गौमायासँग बिहे गर्न कहिले आफूलाई जन्माउनेको वास्तविक जात खोज्न चाहन्छन् त कहिले धर्म त्याग्न नसक्ने पुरातनवादी पुजारको शरणमा पर्छन्। कहिले क्रान्तिकारी कम्युनिस्ट भनिएका मेघराजको शरणमा पुग्छन्। फिल्मभरि उनको संघर्ष जात व्यवस्थामाथि भन्दा गौमायासँग बिहे गर्नमै अल्मलाएका छन् निर्देशकले।

दलितको मुद्दामा बनेकाले फिल्मको मुख्य पात्र मैते, आन्दोलनको नेतृत्वकर्ता हुनुपर्ने हो। तर, निर्देशकले उनलाई हास्यपात्र बनाइदिएका छन्। यो निर्देशकको सबैभन्दा ठुलो कमजोरी हो।

उनले दलित मुक्ति आन्दोलनका योद्धाहरू भगत सर्वजित् विश्वकर्मा, सहर्षनाथ कपाली लगायतलाई अध्ययनै नगरेको प्रस्टै देखिन्छ।

पुजारले शास्त्र पढेपछि बाहुन भैन्च भनिदिएपछि मैतेले बढो धमाकासाथ ॠगवेद, अथर्ववेद, सामवेद र यजुर्वेद अध्ययनमा लाग्छन्। 

फिल्ममा पुजारले 'शास्त्र पढेर माने मैते नि बाहुन हुन्छ' भन्ने संवाद बोलेका छन्। यसको सिधासिधी अर्थ भनेको मैते'हरूमा शास्त्र पढाएर ब्राह्मणवाद लाद्नु हो। जबकि यथार्थ हेर्ने हो भने, नेपालका ९० प्रतिशत मन्दिरहरूमा ब्राह्मण समुदायका पुजारी छन्। गुरुकुलहरूमा आज पनि दलितलाई पढ्न नदिएको समाचारहरू आइरहेका छन्। तर, फिल्मले यो तथ्यलाई लुकाउन खोज्यो।

हजारौंवर्ष देखिको फोहोर एकैपटक सुध्रँदैन भनेर पुजारले यथास्थितिवादको मलजल गर्छन्। ठ्याक्कै, विभेद बिस्तारै हट्छ भनेजस्तै। यो निकै डरलाग्दो सन्देश हो, यसले समाजलाई अघि बढ्ने हैन यथास्थितिमा रोक्छ।

पात्र पुजारलाई लिएर फिल्मले दर्शकलाई अलमलमा पारिदिएको छ। किनकि पुजार जातीय विभेद अन्त्य गर्ने पक्षमा छन् तर, मन्दिरमा पूजा गर्न छाड्दैनन्। अर्थात् विचारले क्रान्तिकारी तर व्यवहारले पुरातनवादी।

निर्देशकले बिर्सिएजस्तो छ, जातीय विभेद र धर्म (जुनसुकै) एक अर्काका पर्याय हुन्। अझ त्यसमा पनि हिन्दु धर्ममा रहेका पुरातन सोच बलियो भएसम्म जातीय विभेद अन्त्य हुन सक्दैन। त्यसको सानो उदाहरण पुजार सार्कीमा प्रधानपञ्चले मैतेबाट शास्त्र (सामवेद) खोसेर पढ्न हुँदैन भन्दै उठबस गराएर देखाइएको छ।

फिल्मको सशक्त पक्ष भनेको जात व्यवस्था हटाउने माध्यम राजनीतिक संघर्ष हो भन्ने सन्देश नै हो। दलित मुक्ति आन्दोलनको लागि यो राजनीतिक दर्शन ठिक वा यो बेठीक भन्दा पनि जातव्यबस्था भत्काउन राजनीति नै गर्नुपर्छ भन्ने फिल्मले दिएको सन्देश सबैभन्दा बेजोड बलियो पक्ष हो।

समाजमा एकथरी मानिसहरूले जातीय विभेद भनेको सामाजिक समस्या मात्र हो भनेर गलत अपव्याख्या गरिरहँदा यो फिल्मले यसलाई चिर्न खोजेको छ।

फिल्मको अर्को सकारात्मक पक्ष भनेको कलाकारको अभिनय हो। रोमान्टिक लभ स्टोरीमा अभिनय गरिरहेका आर्यन, पल र प्रदीपले पश्चिम नेपालको भाषा लवज, भेसभुसामा सशक्त अभिनय गर्न प्रयास गरेका छन्। 

फिल्मको गीत संगीतको पक्ष बलियो छ। नृत्य पनि मौलिक छ। त्यसमा पनि मगर समुदायमा नाच्ने कौरा नृत्यले फिल्मले दर्शकलाई तान्न सक्छ। पार्श्व संगीतले दर्शकलाई फिल्म अवधिभर बाँधेर राख्न मद्दत गर्छ। फिल्मको छायांकन पक्ष सुखद नै मान्नुपर्छ। 

मगर बा मैतेलाई हरसम्भव छोरी नदिनेमा छन्, बरु काट्नै तम्सिन्छन्, काट्न खोज्छन् पनि। धन्न दमाहामा लागेर बाँच्छ मैते। यसको अर्थ जातीय विभेद भनेको ब्राह्मण र दलितबीचको मात्रै हो भन्ने स्थापित भाष्यलाई गलत प्रमाणित गर्न निर्देशकले प्रयास भने गरेका छन्। यो यथार्थ पनि हो।

०४६ ताका अन्तर्जातीय बिहे गर्ने जोडीले सँगै आत्महत्या गर्ने चलन जस्तै थियो। ०५२ को आन्दोलनपछि अलि कम भएको हो। पलले जातको कारण मर्न दिँदैनन् मैतेलाई। यसमा मेघराज बनेका पलकोको भूमिका सकारात्मक देखिन्छ।

उनी कम्युनिस्ट विचारधारा अंगालेका नेता, जो सामन्ती सत्ता फाल्ने, देश जनताको लागि मर्ने, जात व्यवस्था फाल्नेमा लागेका छन्।

यो हत्या भनेको लेखक सुवेदीले रुकुम नरसंहार सम्झेर ०४६ सालको कथामा अटाउन खोजेका हुन्। यो हत्या फिल्मको कुनै पात्रको मात्र हत्या होइन, बल्की दलित मुक्ति आन्दोलनकै हत्या हो। जातकै कारण विवाह गर्न चाहने पात्र गाउँलेबाट मारिएर खोलामा फ्याँकिदिनु भनेको दलित मुक्ति आन्दोलन नै खोलामा बगाइदिनु हो। 

प्रधानपञ्च र कम्युनिस्ट पार्टीको लडाइ छ। एकातिर प्रधानपञ्चले तल्लो जातलाई टीका नलगाइदिन कर गर्छन् भने अर्कोतिर भूमिगत कम्युनिस्ट नेताहरूले पुजार र मैयाको जनवादी बिहे गरिदिन लागिपरिरहेका छन्। दलित मुक्तिको लागि भन्दै मेघराजले मैते र मैयालाई कम्युनिस्ट पार्टी प्रवेश गराउँछन्।

नभन्दै कम्युनिस्ट भएपछि मैतेले मन्दिरको टीका नलगाउने आफू क्रान्तिकारी भएको भन्दै हिन्दु जात व्यवस्थाको आलङ्कारिक विद्रोह गर्छन्। त्यतिमात्र होइन, क्रान्तिमा केही समय लागेका मैते जो बहुदलपछि कुनै मन्दिरमा दमाहा नबजाउने भन्न सक्नेमा पुग्छन्। र, ब्राह्मणको शुभसाइत गरिदिन आफूहरूले दमाहा नबजाउने भन्ने उनमा चेतनाको विकास भइसकेको हुन्छ। ०४७ चैत २७ गतेको आन्दोलनमा मैतेले प्रजातन्त्र प्राप्तिको आन्दोलनको नेतृत्व गर्नेसम्म पुग्छन्। 

नेपाल कम्युनिस्ट पार्टीको पोस्टर मैतेले आफ्नो घरमा राख्छन्। यसबीचमा मैतेले पसलमा पसलेसँग हातमा चिया दे नत्र  सक्काइदिन्छु भन्ने विन्दुसम्म पुग्छन्। यो सकारात्मक हो।

मैतेसँगै पार्टी प्रवेश गरेकी मैयाको क्रान्ति भने प्रधानपञ्चको कारण तुहिन्छ। भूमिगत कम्युनिस्ट र प्रहरीबीच भएको झडपमा पुजार हराएपछि कचहरी (गाउँले) भेलामा आफूलाई डाँडा कटाउने कि प्रहरीमा जिम्मा लगाउने भनिएपछि मैयाले पुजारसँग केही पनि सम्बन्ध नभएको बताउँछिन्। यहाँ संघर्ष हैन आत्मसमर्पण पस्किए निर्देशकले।

भूमिगत हुँदा राजनीतिको नेतृत्व गरेका कमरेड लालध्वजले बहुदल आएसी चुनाव जित्न अनेक गर्नुपर्छ, जातीय विभेद बिस्तारै हट्दै जान्छ भनेर क्रान्ति तुहिँदै गएको देखाउँछन्।

भूमिगत हुँदा उनै लालध्वजले मैयाले पुजारसँग बिहे गर्नुपर्छ भनेर जबर्जस्ती लागेका थिए। मैया र पुजारको बिहेपछि भने उनी पुजारलाई मन्दिरमा पूजा गर्न दिँदैनन्। उनको पात्रमा १० वर्ष युद्ध गरेका दलितहरूलाई क्रान्तिमा होमेका प्रचण्ड-बाबुरामहरूको क्रान्ति सत्तामा पुगेपछि तुहिएको प्रतिबिम्ब देख्न सकिन्छ।

उनीहरूले आफू भूमिगत हुँदा कसरी दलितका बस्तीहरूलाई सेल्टरको रूपमा प्रयोग गरे र सत्तामा पुगेपछि कसरी दलित लगायत उत्पीडित समुदायलाई धोका दिए भन्ने कुरा सरल ढंगले देखाइएको छ।

अर्कोतिर मेघराज जस्ता सच्चा क्रान्तिकारीहरू जो आजसम्म पनि आफ्नो वैचारिकीबाट विचलित भएका छैनन् तर उनीहरूसँग सत्ता छैन भन्ने पनि सँगै प्रस्तुत गरिएको छ। 

फिल्ममा कमरेड मेघराजलाई क्रान्तिबाट अलिकति पनि तितरबितर नभएका सशक्त योद्धाका रूपमा प्रस्तुत गरिएको छ। शहरबाट पढेर आएका उनी मैतेको घरमा भात खानेदेखी गाउँलेलाई राजनीति गर्न प्रेरित गर्ने अनि क्रान्ति नसकिउन्जेलसम्म आफ्नो मुद्दामा अडिग हुने चरित्र छ।

उनी इमानको राजनीति गर्छन्, संगठन, सिद्धान्त र जनतामा विश्वास गर्छन्, परिवर्तनको सपना देख्छन्। यो पात्र निक्कै होसियार र बफादार छन्। देशमा गणतन्त्र नआएसम्म जातीय मुक्ति सम्भव नभएको देख्छन् मेघे। 'जात व्यवस्था हट्न राजनीतिबाट मात्र सम्भव छ' फिल्मभरिमा मेघेको यही संवाद ठिक लाइन हो।

विवाहकै विषयमा सिंगै गाउँ मिलेर कुटेर मारेर नदीमा फाल्दिएको दृश्य छ फिल्ममा। यसले ४ वर्ष पहिला भएको रुकुम नरसंहारको याद दिलाउँछ।

निर्देशकले फिल्ममा पुजारमार्फत् पटक पटक जात विभाजनको कुरा मुलशास्त्रमै छैन भन्दै जबरजस्त स्थापित गर्न खोजेका छन्। तर, जातव्यबस्थाको मूल कारण हिन्दु धर्मका ग्रन्थ र त्यसका परिपालकहरू हुन् भन्न सकेनन् निर्देशकले।

०८१ जेठ १० गते पात्र मेघराज सेती कपाल, दारी फुलिसकेको अवस्थामा पनि शहरसम्मै आएर 'जात व्यवस्था मुर्दावाद'को नारा लगाइरहेका त हुन्छन्। तर, त्यसअघि पोखराको त्यहीँ गाउँमा जात व्यवस्थाका कारण गाउँलेहरूले कसैको हत्या गरेका छन्।

यो हत्या भनेको लेखक सुवेदीले रुकुम नरसंहार सम्झेर ०४६ सालको कथामा अटाउन खोजेका हुन्। यो हत्या फिल्मको कुनै पात्रको मात्र हत्या होइन, बल्की दलित मुक्ति आन्दोलनकै हत्या हो। जातकै कारण विवाह गर्न चाहने पात्र गाउँलेबाट मारिएर खोलामा फ्याँकिदिनु भनेको दलित मुक्ति आन्दोलन नै खोलामा बगाइदिनु हो। 

फिल्मले जातीय विभेद र दलित मुक्ति आन्दोलनको विषय बोकेको छ। तर, कथाका पात्रबाहेक पर्दाभित्र र बाहिर दलित समुदायको उपस्थिति झिनो देखिन्छ। फिल्ममा लेखकदेखि निर्देशक अनि कलाकारसम्म गैर दलित समुदायबाट समावेश गरिएको छ। किनकि अनुभव र अनुभूति विल्कुल फरक कुरा हुन्। जतिसुकै महान् (पुरुष) लेखकले लेखेको प्रसव पीडालाई महिलाले अपनत्व महसुस गर्न सक्दैनन्। अर्थात् महिलाले जति मिहिन प्रसव पीडा पुरुषले लेख्न सक्दैनन्। ठ्याक्कै, त्यस्तै टिमले बनाएको फिल्म हो- पुजार सार्की।

हुनलाई त हिरोइनको रूपमा अन्जना बराइली छिन्। तर, ब्राह्मणवादी चिन्तनबाट ग्रसित अन्जनाले दलित मुक्ति आन्दोलन बुझ्ने कुरै भएन। त्यसको लागि यही फिल्म प्रमोसनको दौरानमा उनले दिएका केही अन्तर्वार्ता हेरे पुग्छ। समग्रमा ब्राह्मणवादी चिन्तनधारीले निर्माण गरेको फिल्म भन्दा फरक नपर्ला। 

१३ जेठ, २०८१, १८:१२:४५ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।