'रातो पासपोर्ट'मा गृहमन्त्रीले आफूलाई अदालतभन्दा माथि राखी अभिव्यक्ति दिएको भन्दै कारबाही गर्न धनराजको माग

'रातो पासपोर्ट'मा गृहमन्त्रीले आफूलाई अदालतभन्दा माथि राखी अभिव्यक्ति दिएको भन्दै कारबाही गर्न धनराजको माग

काठमाडौं : नेपाली कांग्रेसका उपसभापति एवं सांसद धनराज गुरुङले सत्यतथ्य नबोलेको भन्दै गृहमन्त्री रवि लामिछानेलाई अवहेलनामा कारबाही गर्न माग गरेका छन्। 

गुरुङले आइतबारको प्रतिनिधि सभा बैठकमा गृहमन्त्री लामिछानेले तथ्यहीन, आधारहीन कुरा गरी नेपाली कांग्रेसका सांसदहरूमाथि मानमर्दन गर्न खोजेको, हुँदै नभएको कुरा बढाईचढाई गरेर भ्रममा पार्न खोजेको, अदालतले गरेको फैसलामाथि धावा बोलेको भन्दै सभामुखसमक्ष निवेदन दिएका हुन् ।

उनले रातो पासपोर्टमा आफूले अदालतबाट सफाइ पाइसकेको विषयलाई तोडमोड गरी नागरिकमा भ्रम सृजना गरेर आफूलाई अदालतभन्दा माथि राखी अभिव्यक्ति गरेको जिकिर गरेका छन्। 

'...अदालतले गरेको फैसलामाथि धावा बोलेको, अदालतको निर्णयको बर्खिलाप गरी अदालतको समेत अपहेलना गरेको, अदालतबाट सफाइ पाइसकेको रातो कूटनीतिक पासपोर्टको तोडमोड गरी प्रस्तुत गरी आम नागरिकबीच भ्रम सिर्जना गर्न खोजेको, आफूलाई अदालत भन्दा माथि राखी अभिव्यक्ति दिएको ब्यहोरा स्मरण गराउन चाहन्छु,' उनले बुझाएको निवेदनमा उल्लेख छ।  

उनले कूटनीतिक राहदानी दुरुपयोगमा सर्वोच्च अदालतको २०६४ असोज २४ गते गरेको फैसलाको प्रतिलिपिसमेत बुझाएका हुन्।

निवेदनको अगाडि भनिएको छ , 'उहाँले बोलेका कुराको अडिओ तथा भिडिओ प्रतिनिधिसभा सचिवालयमा सुरक्षित रहेको पनि होला। देशको गृहमन्त्रीले अनैतिकरूपमा तथ्यहीन कुरा गर्दा संसदको अवहेलना हुन पुगेको छ। उहाँले बोलेको कुराहरू पुष्टि गर्न म उहाँलाई चुनौती दिन चाहन्छु। यदि पुष्टि नभएमा उहाँमाथि कारबाही गर्न माग गर्दछु।' 

जेठ ७, २०८१ सोमबार १६:३७:५२ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।