अमेरिकाद्वारा चिनियाँ विद्युतीय कारमा चार गुणा कर वृद्धि

अमेरिकाद्वारा चिनियाँ विद्युतीय कारमा चार गुणा कर वृद्धि

एजेन्सी : अमेरिकी राष्ट्रपति जो बाइडेनले चीनमा बनेका इलेक्ट्रिक कार, सोलार प्यानल, स्टिल र अन्य उत्पादनमा करवृद्धि गरेका छन्।

पछिल्लो नीतिअनुसार चिनियाँ विद्युतीय कारमा शतप्रतिशत भन्सार महसुल लगाइएको छ। अनुचित नीतिको जवाफ दिन र अमेरिकामा रोजगारी सुनिश्चित गर्न यस्तो गरिएको बताइएको ह्वाइट हाउसले जनाएको छ।

चीनले यो कर वृद्धिको विरोध गर्दै छिट्टै जवाफी कारबाही गर्ने बताएको छ। विश्लेषकहरूले यी करहरू धेरै हदसम्म प्रतीकात्मक भएको बताउँदै चुनावमा भोट बटुल्ने रणनीति भएको बताएका छन्।

बढाइएको करले करिब १८ अर्ब डलरको आयात प्रभावित हुने ह्वाइट हाउसले जनाएको छ। 

विद्युतीय सवारी साधनको कर २५ प्रतिशतबाट शतप्रतिशत पुर्याभइएको छ भने सोलार सेलमा यसअघि २५ प्रतिशत कर लाग्दै आएकोमा ५० प्रतिशत पुर्याइएको छ।

त्यसैगरी केही स्टिल र आल्मुनियम उत्पादनको महसुल दर ७.५ प्रतिशतबाट बढाएर २५ प्रतिशत पुर्याइएको छ।

जवाफमा, चीनको वाणिज्य मन्त्रालयले नयाँ कदमहरूले द्विपक्षीय सहयोगको वातावरणलाई गम्भीर रूपमा असर गर्ने बताएको छ। मन्त्रालयले यसलाई आर्थिक मामिलामा राजनीतिकरण भनेको छ।

जेठ २, २०८१ बुधबार १३:५४:०७ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।