भोलि नीति तथा कार्यक्रम : अत्तालिएको सरकार, धर्मसंकटमा प्रतिपक्ष

भोलि नीति तथा कार्यक्रम : अत्तालिएको सरकार, धर्मसंकटमा प्रतिपक्ष

काठमाडौं : जेठ १ गते राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसदको संयुक्त बैठकमा सरकारको नीति तथा कार्यक्रम पेश गर्ने कार्यसूची छ। संसद सचिवालयले भोलि अपरान्ह ३ बजे नीति तथा कार्यक्रम प्रस्तुत हुने तालिका प्रकाशन गरेको छ।

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले भने सहकारी ठगी प्रकरणमा गृहमन्त्री रवि लामिछानेमाथि छानबिन गर्न संसदीय छानबिन समिति नबनेसम्म संसदमा जारी अवरोध कायमै राख्ने अडान दोहोर्याएको छ। सरकार र प्रमुख प्रतिपक्षबीच यस सम्बन्धमा कुनै सहमति नबने सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्ने तालिका प्रभावित हुने आशंका गरिएको छ। 

आज सभापति शेरबहादुर देउवाको निवास बूढानीलकण्ठमा बसेको कांग्रेस पदाधिकारी बैठकले सरकारको नीति तथा कार्यक्रम प्रस्तुत समेत गर्न नदिने निष्कर्ष निकालेको छ। 

यता, आज बिहान सभामुख देवराज घिमिरेले राजनीतिक सहमति जुटाउन प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई सुझाव दिएका थिए। उनीहरूबीच भएको फोनवार्तामा प्रमुख प्रतिपक्षलाई मनाएर सदनको कारबाही सहज पार्न सभामुखले सुझाएका थिए। सभामुख घिमिरेले नीति तथा कार्यक्रम संसद्भन्दा बाहिरबाट ल्याउने परिकल्पना र अभ्यास नरहेको भन्दै राजनीतिक सहमतिमा जोड दिएका हुन्। 

तर, कांग्रेसले संसदीय छानबिन समिति आफ्नो प्रमुख बटमलाइन बनाएपछि प्रधानमन्त्री अप्ठ्यारोमा परेका छन्। कांग्रेस नेता एवं प्रचार विभाग प्रमुख मीन विश्वकर्माले कांग्रेसले आफ्नो अडान यथावत् राखेको जानकारी दिँदै साँझसम्ममा नयाँ रणनीति बन्ने बताए।

संसदीय छानबिन समिति बनाउन प्रधानमन्त्री सकारात्मक देखिए पनि एमालेको दबाबमा परेको निकट स्रोतले जनाएको छ।

एमाले संसदीय छानबिन समितिको विपक्षमा उभिएपछि प्रधानमन्त्री चेपुवामा परेको बताइन्छ। एमाले प्रमुख सचेतक महेश बर्तौलाले आइतबार मात्रै कांग्रेसले आत्महत्या नै गर्छु भने पनि माग पुरा गर्न नसकिने बताएका थिए।

तर, प्रधानमन्त्रीले संसदको गतिरोध अन्त्य गराउने प्रयासमा आफू रहेको बताएका छन्। 

‘संसद्को गतिरोध अन्त्य गर्ने विषयमा प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका शीर्ष नेतासँग म संवादमा नै छु, संसद्को गतिरोध अन्त्य हुन्छ,’ उनले भने।

त्यस्तै, जेठ १ मा राष्ट्रपतिले संसद्को दुवै सदनको संयुक्त बैठकलाई सम्बोधन गर्ने र त्यसको तयारी पूरा भइसकेको प्रधानमन्त्रीको भनाइ छ। उनले सरकारले नीति तथा कार्यक्रमलाई अन्तिमरुप दिइसकेको जनाउँदै उनले राष्ट्रपतिको सम्बोधनमा संसद्मा कुनै समस्या नहुने बताए। 

वैशाख ३१, २०८१ सोमबार १६:२२:४५ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।