सात वर्षमा पनि बुटवलको सडक नबनाउने ठेकेदारको ठेक्का रद्द

सात वर्षमा पनि बुटवलको सडक नबनाउने ठेकेदारको ठेक्का रद्द

बुटवल : बुटवलको राजमार्ग चौराहदेखि गोलपार्कसम्मको साढे तीन किलोमिटर सडक सात वर्षसम्म पनि नबनाएपछि ठेकेदारसँगके ठेक्का सम्झौता रद्द गरिएको छ।

निर्माणको जिम्मा पाएको द कञ्चनजङ्घा विरुवा जेभीलाई पटक-पटक ताकेता गर्दा पनि निर्माण सम्पन्न नगरेपछि ठेक्का सम्झौता तोडिएको सडक डिभिजन कार्यालय बुटवलले जनाएको छ।

‘कामको प्रगति देखिएन। पटक-पटक हामीले यसबारे निर्माण कम्पनीलाई तोकता गर्यौंट। ताकेता गरेपछि पनि काम नभएपछि ठेक्का नै रद्द गरिएको हो’, डिभिजन सडक कार्यालय, बुटवलका प्रमुख विसुनदास लामाले भने।

ठेकेदार कम्पनीले ०८० असार २९ गतेसम्म शत प्रतिशत काम सम्पन्न गर्ने कार्ययोजना सडक डिभिजन कार्यालयलाई अन्तिम पटक बुझाएको थियो। तर, काम भने गरेन।

२०७३ साल चैत्र १७ गते ठेक्का सम्झौता गरिएको साढे तीन किलोमिटर सडक ३० महिनाभित्र निर्माण सम्पन्न गर्ने सम्झौता थियो।

कार्यालय प्रमुख दासका अनुसार अबको केही दिनभित्रै नयाँ ठेक्का प्रक्रिया शुरू हुनेछ। त्यसो त ठेकेदारसँग यसअघि पनि ठेक्का तोड्ने सूचना डिभिजन सडक कार्यालयले निकालेको थियो।

पटक-पटक म्याद थप गर्दासमेत काम सम्पन्न नभएपछि ठेक्का तोड्ने भन्दै सडक डिभिजन कार्यालय बुटवलले अघिल्लो वर्षको फागुन ४ गते सूचना निकालेको थियो।

तर, सडक विभागको माथिल्लो निकायसम्म पहुँच राख्ने ठेकेदारले काम नै नगरी म्याद थप गराएको थियो। त्यो बेला सार्वजनिक खरिद ऐनको १३औं संसोधन मार्फत ठेक्काको म्याद थप गरेको थियो।

७ वर्षमा तीन पटक म्याद थप गरिए पनि सडकको काम अहिले ५३ प्रतिशत मात्रै सम्पन्न भएको छ। अहिले चौराह देखि गोलपार्क सम्मको मेन क्याजवेयमा लेभल मिलाउने पिच मात्रै भएको छ। तर साइडकै काम अधूरै छ।

मेन क्याजवेयमा लेभल मिलाउने पिच भएपछि अहिले सबै तैचुप मैचुप भएका छन्। सडकको दायाँ र बाँया नाली सहितको सर्भिस लेन निर्माणकै अवस्थामा छ। अहिले निर्माण कम्पनीले नालीका ढक्कन बनाउनु बाहेक अरु काम नै गरेको छैनन्।

२७ किलोमिटर लम्बाई रहेको बेलहिया बुटवल व्यापारिक मार्ग विस्तार आयोजना अन्तर्गत तीन वटा ठेक्का लिएको यो कम्पनीले तीन वटै काम पूरा गरेको छैन।

विभिन्न चरणमा फरक-फरक निर्माण कम्पनीसँग ठेक्का सम्झौता गरिए पनि द कञ्चनजंघा विरुवा जेभीले ठेक्का लिएको भागमा मात्र सडक निर्माणको काम पूरा हुन नसकेको हो।

यहि सडक आयोजना अन्तर्गत भन्सार नाका बेलहियादेखि डण्डाखोला पुलपारी सम्मको सडकमा चार वर्षदेखि कुनैपनि काम अगाडि बढ्न सकेको छैन।

अञ्चलपुरदेखि लखनचोक सम्मको सडक बिरुवा एपेक्स श्रेष्ठ जेभी र भन्सार नाका बेलहीयादेखि डण्डाखोला पुलपारी सम्मको बिरुवा जेभी नाममा ठेक्का सम्झौता गरिए पनि यी दुवै ठेक्काका आधिकारिक प्रतिनिधि सुवित श्रेष्ठ रहेका छन्। श्रेष्ठ नेपाली कांग्रेस निकट निर्माण व्यवसायी हुन्।

बुटवलको साढे तीन किलोमिटर सडक निर्माणको लागि ५३ करोडमा ठेक्का लिईएकोमा निर्माण कम्पनीले हालसम्म २७ करोड भुक्तानी लगिसकेको छ।

२४ बैशाख, २०८१, ११:४०:४२ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।