भीमा गुरुङ मृत्यु प्रकरण : विशेषज्ञबाट पोस्टमार्टम गर्न अदालतको आदेश, २४ दिनदेखि शव अस्पतालमै

भीमा गुरुङ मृत्यु प्रकरण : विशेषज्ञबाट पोस्टमार्टम गर्न अदालतको आदेश, २४ दिनदेखि शव अस्पतालमै

सुर्खेत : गत चैत्र २९ गते कर्णाली प्रदेश अस्पतालमा मृत्यु भएकी दैलेख आठबिस नगरपालिका–५ पिपलकोटकी २२ वर्षीया भीमा गुरुङ बलामीको शव विशेषज्ञबाट परीक्षण गराउन जिल्ला अदालत सुर्खेतले आदेश दिएको छ। 

शुक्रबार जिल्ला अदालत सुर्खेतले निवेदनमा उठाइएको विषयवस्तुको गम्भीरता र संवेदनशीलतालाई हेर्दा शव परीक्षण फरेन्सिक मेडिसिनका विशेषज्ञबाट यथाशीघ्र गर्नु उचित देखिएको अदालतको ठहर छ।

भीमाका ससुरा धनबहादुर बलामीले घटना शङ्कास्पद रहेको भन्दै अन्तरकालिन आदेशको मागसहित वैशाख १६ गते जिल्ला अदालत सुर्खेतमा निवेदन दर्ता गरेका थिए। उनले अदालतमा दायर गरेको मुद्दामा कर्णाली प्रदेश अस्पतालका निर्देशक डा. डम्बर खड्का, उपचारमा संलग्न डा. ललितजंग शाही लगायतलाई विपक्षी बनाइएको थियो। 

अदालतद्वारा जारी फैसलामा भनिएको छ, ‘कर्णाली प्रदेश अस्पतालमा कार्यरत चिकित्सक बाहेक फरेन्सिक मेडिसिनका विशेषज्ञ चिकित्सकलाई र मृतकको १ जना प्रतिनिधिलाई संलग्न नगराई मृतकको शव परीक्षण गर्ने कार्य नगर्नू, नगराउनू भनी मुलुकी देवानी कार्यविधि संहिता, २०७४ को दफा १५६ र जिल्ला अदालत नियमावली, २०७५ को नियम ३४ बमोजिम अन्तरकालीन आदेश जारी गरिदिएको छ।’ 

साथै अदालतबाट ८ वैशाखमा फिरादी, निजको छोरा, मृतकका पति, फिरादीका आफन्त र सहयोगीलाई सुरक्षाको आवश्यक प्रबन्ध मिलाउनु भनि जारी भएको अन्तरकालीन आदेशलाई निरन्तरता दिन अदालतले भनेको छ।

पीडित परिवारको तर्फबाट अधिवक्ता शेरबहादुर खत्री, उपेन्द्र कुमार रावतले बहस गरेका थिए भने अस्पतालको तर्फबाट मुख्य न्यायाधिवक्ताको कार्यालयका सहायक न्यायाधिवक्ता कमल प्रसाद कोइरालाले बहस गरेका थिए।

अदालतको आदेश पुगेपछि आवश्यक पक्रिया अगाडि बढ्ने प्रदेश अस्पताल सुर्खेतका मेडिकल रेकर्डर अधिकृत एवं सूचना अधिकारी विनोद बस्नेतले बताए।

‘हिजो साँझसम्म आदेश आइपुगेको थिएन। आज शनिबार भइहाल्यो,’ उनले भने, ‘आदेश पुगेलगत्तै सोहीअनुसार अस्पतालले प्रक्रिया अगाडि बढाउनेछ।’

०८० चैत २८ गते पेट दुखेपछि उपचार गर्न प्रदेश अस्पताल सुर्खेत पुगेकी भीमालाई अस्पतालले २९ गते मृत घोषणा गरेका थियो।

अस्पतालले रगत बग्ने (PV Bleeding) को समस्या भएर उनी आउँदा भिडियो एक्स-रे गर्दा पाठेघरमा सालको ट्युमर (Molar Pregnancy) देखिएको र सोको उपचारको लागि सोही दिन प्रसूति वार्डमा भर्ना गरी विशेषज्ञ चिकित्सकहरूको सल्लाह बमोजिम २०८० चैत २९  गते  एक पिन्ट रगत चढाए पश्चात् पाठेघर सफा गर्न अप्रेसन थिएटर लिएर सफा गरेको उल्लेख गरेको छ।

त्यसपछि बिरामीमा मोलार प्रिगनेन्सी (Molar Pregnancy) को एक गम्भीर जटिलता  पोल्मोनरी एम्बोलिजम (Pulmonary Embolism) देखा परेको र त्यसको पहिचान गरी विशेषज्ञ चिकित्सकको टिमले बचाउने प्रयास गर्दा उनको मृत्यु भएको जनाएको छ।

भीमाको मृत्युपछि आफन्तले अस्पतालको लापरबाही भएको आरोप लगाउँदै निष्पक्ष छानबिन समिति बनाई दोषी माथि कारबाही, आठ महिने छोरीको पालनपोषण, शिक्षा र पीडित परिवारको एक जनालाई रोजगारीको माग राख्दै एक हप्तासम्म आन्दोलन गरेका थिए। पीडितले राखेका माग पूरा गर्न अस्पताल, जिल्ला प्रशासन कार्यालय र प्रदेश सरकार तयार नभएपछि भीमाको शव अस्पतालमै छाडेर आफन्तहरू घर फर्किएका थिए। यस विषयमा मानव अधिकारवादी संघ संस्थाले समेत चासो देखाएका थिए। 

मृतक भीमाको शव २४ दिनदेखि अस्पतालको शव गृहमा नै राखिएको छ। 

२२ बैशाख, २०८१, १८:३५:२९ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।