शेखरलाई योगेशको जवाफ : 'एमाले र कांग्रेस मिलेर सरकार बनाउने समय बितिसक्यो'

शेखरलाई योगेशको जवाफ : 'एमाले र कांग्रेस मिलेर सरकार बनाउने समय बितिसक्यो'

काठमाडौं : एमालेका नेता योगेश भट्टराईले वर्तमान सट्टा गठबन्धन आगामी निर्वाचनसम्म रहने बताएका छन्। सत्ता साझेदार दलहरुबीचको समीकरण आउने निर्वाचनसम्म कायम राख्ने सामूहिक सहमति र प्रतिबद्धता भएको उनको भनाइ छ। 

शनिबार  पत्रकार महासङ्घ ताप्लेजुङ शाखाले आयोजना गरेको पत्रकार सम्मेलनमा उनले कतिपयले कांग्रेस र एमाले मिलेर सरकार बनाउन सुझाव दिए पनि त्यसका लागि समय बितिसकेको बताए। 

वर्तमान सरकारलाई समर्थन गर्नुअघि मुलुकको बिग्रँदो अवस्थालाई नियन्त्रण गर्न नेपाली कांग्रेससँग छलफल गर्न खोजेको तर कांग्रेसले तत्परता नदेखाएकाले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई समर्थन गर्ने निर्णयमा पुगेको उनको भनाइ छ। 

यसअघि नेपाली कांग्रेसका नेता शेखर कोइरालाले एमाले र कांग्रेस मिलेर अघि बढ्नुपर्ने बताउँदै आएका छन्। 

शनिबार नै बाँकेको कोहलपुरमा आयोजित नेपाली कांग्रेस बाँके क्षेत्र नम्बर १ को सम्मेलनलाई सम्बोधन गर्दै कोइरालाले निर्वाचन प्रणाली परिवर्तन गरेर देशलाई निकास दिन संघीय संसदको पहिलो दल कांग्रेस र दोस्रो दल एमाले एक ठाउँमा उभिनुपर्ने बताएका छन्। 

२२ बैशाख, २०८१, १७:३६:०१ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।