लागुपदार्थ सेवन गरी सवारी चलाउने छ चालक पक्राउ

लागुपदार्थ सेवन गरी सवारी चलाउने छ चालक पक्राउ

काठमाडौं : लागुपदार्थ सेवन गरी सवारी साधन चलाउँदै गरेका ६ जना चालकहरूलाई शुक्रबार ट्राफिक प्रहरीले काठमाडौंको नागढुङ्गाबाट नियन्त्रणमा लिएको छ।

लापसे गरेर सवारी चलाइरहेका उनीहरुलाई प्रहरीले आवश्यक कारबाहीका लागि नियन्त्रणमा लिएको काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक जीवन कुमार श्रेष्ठले जानकारी दिए।

पक्राउ पर्नेमा ना ३ ख ३९४ नम्बरका ट्रक चालक मोरङको बेलबारी नगरपालिका-१ का ३१ वर्षीय अर्जुन खान, ना ४ ख ४२ १५ नम्बरका भाडा बस चालक नुवाकोटको किस्पाङ गाउँपालिका-३ का २६ वर्षीय सुशिल परियार नेपाली, ग २ ख ६३८ नम्बरका हायस चालक गोरखाको पालुङटार नगरपालिका-१० का २६ वर्षीय पारस अधिकारी रहेका छन्।

यसका साथै मधेश प्रदेश ०३-००१ ख ७७ ४४ नम्बरका ट्रक चालक बाराको जितपुरसिमरा उपमहानगरपालिका-२ का २७ वर्षीय सुरेश तामाङ, बागमती प्रदेश ०१-००३ क ८७ ३४ नम्बरका ट्रक चालक मकवानपुरको थाहा नगरपालिका-२ का ३१ वर्षीय श्रीकृष्ण कार्की र ना ६ ख २९ ०९ नम्बरका ट्रक चालक चितवनको राप्ती नगरपालिका-३ का २२ वर्षीय जिवन राईलाई पनि ट्राफिक प्रहरीले नियन्त्रणमा लिएको हो।

नेपाल प्रहरी अस्पतालको प्राविधिक टोलीले उनीहरूको पिसाब परीक्षण गर्दा लागुपदार्थ सेवन गरेको प्रमाणित भएको थियो। प्रहरी अस्पतालको प्राविधिक सहयोगमा निरन्तर रुपमा काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालय र लागुऔषध नियन्त्रण ब्यूरो कोटेश्वरको संयुक्त टोलीले उपत्यकाका विभिन्न स्थानमा सवारी चालकहरूको परीक्षण गर्दै आएको छ।

नागढुङगामा हिजो २५ ओटा सवारी साधनलाई चेक गर्दा ६ ओटा सवारी साधनका चालकले भने लागुपदार्थ सेवन गरेको पाइएको हो। ट्राफिक प्रहरीले नियन्त्रणमा आएका सबै जनालाई आवश्यक अनुसन्धान तथा कारबाहीका लागी प्रहरी वृत्त थानकोट बुझाएको छ।

जेठ ५, २०८१ शनिबार १०:०८:४८ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।