सिरोहियाको नागरिकताबारे प्रहरी छानबिनमै, नागरिकता दर्ता पुस्तिकामा देखियो दुई कैफियत

सिरोहियाको नागरिकताबारे प्रहरी छानबिनमै, नागरिकता दर्ता पुस्तिकामा देखियो दुई कैफियत

काठमाडौं : कान्तिपुर पब्लिकेसन्सका अध्यक्ष कैलाश सिरोहियाको नागरिकताबारे परेको जाहेरीबारे प्रहरीले अनुसन्धान अगाडि बढाएको छ।

दर्ता भएको जाहेरी अनुसार प्रहरीले अनुसन्धान अगाडि बढाएको जिल्ला प्रहरी कार्यालय धनुषाका एसपी भुवनेश्वर तिवारीले जानकारी दिए।

‘जाहेरीमा गरिएको दाबी अनुसार अनुसन्धान सुरू भएको छ,’ एसपी तिवारीले भने, ‘अनुसन्धान प्रारम्भिक चरणमै रहेकाले थप विवरण सार्वजनिक गर्न मिल्दैन।’

जिल्ला प्रहरी कार्यालय धनुषामा वैशाख १६ गते झुटो विवरण दिई विदेशी नागरिकले किर्ते नागरिकता बनाएर प्रचलनमा ल्याएको दाबी गर्दै कारबाहीको माग गर्दै जाहेरी दर्ता भएको थियो।

जाहेरी दर्ताको समाचार सार्वजनिक भएपछि सिरोहियाले ध्यानाकर्षण पत्र सार्वजनिक गर्दै राज्यलाई शंका लागेमा कुनै पनि विषयमा अनुसन्धान गर्न सक्ने भन्दै जिम्मेवार नागरिकको रूपमा स्वागत गर्ने उल्लेख गरेका थिए।

जिल्ला प्रशासन कार्यालय धनुषाबाट जारी भएको सिरोहियाको नागरिकताको नम्बर र धनुषाकै अर्का व्यक्तिको नाममा जारी भएको नागरिकता नम्बर एकै रहेको खुलिसकेको छ।

सिरोहियाको नागरिकताको प्रतिलिपिमा नागरिकता लिएको पूरा मिति उल्लेख नभई ‘२०३३/०३४ को रेकर्ड अनुसार’ मात्र उल्लेख छ। उनकै नागरिकताको नम्बरमा अर्को व्यक्तिको नाममा जारी भएको नागरिकता २०३६ भदौ २० गते जारी भएको देखिन्छ।

सिरोहियाले सोमबार सार्वजनिक गरेको ध्यानाकर्षण पत्रमा आफूले २०३४ सालमा नागरिकता लिएको र आफूपछि कसैका नाममा जारी भएको नागरिकतामा उही नम्बर छ भने त्यो आफ्नो जिम्मेवारीको विषय नभएको उल्लेख गरेका थिए।

दुवै नागरिकताको प्रकार वंशज रहेको छ। अहिले प्रहरीले सिरोहिया र दोस्रो व्यक्तिको नाममा नागरिकता जारी हुँदा पेश भएका प्रमाण, जिल्ला प्रशासन कार्यालय धनुषामा सिरोहिया र दोस्रो व्यक्तिबारे रहेको कागजपत्र, नागरिकता दर्ता पुस्तिका, निर्णयको आधार र निर्णय गर्ने पदाधिकारीबारे विवरण संकलन गरिरहेको देखिन्छ।

अनुसन्धान स्रोतका अनुसार जिल्ला प्रशासन कार्यालयमा रहेको दर्ता पुस्तिकामा सिरोहियाको नाममा जारी नागरिकताको विवरण रहेको पन्ना च्यातिएको अवस्थामा फेला परेको छ।

फोटोसहितको विवरण पुस्तिकामा उनको विवरण छ। तर, नागरिकता जारी भएका अन्य व्यक्तिको हकमा तस्बिरसहित राखिएको दर्ता पुस्तिकामा सबै विवरण दुरुस्त रहे पनि सिरोहियाको नाममा नागरिकता जारी गर्ने अधिकृतको नाम र हस्ताक्षर छैन।

नागरिकताको विवरण राखिने दर्ता पुस्तिकामा टाँसिने तस्बिर कसैले साटफेर नगरोस् भनेर तस्बिरमाथि समेत नागरिकता जारी गर्ने अधिकृतले हस्ताक्षर गर्छन्। दर्ता पुस्तिकामा सिरोहियाको तस्बिर रहेको तर उनको तस्बिरमा नागरिकता जारी गर्ने अधिकृतको हस्ताक्षर नभएको अनुसन्धानमा संलग्न स्रोतले उकेरालाई जानकारी दियो।

सिरोहियाको नाममा धनुषाबाट जारी भएको नागरिकता वंशजको आधारमा भएकाले प्रहरीले उनको बाबुको नागरिकताको विवरण समेत खोजिरहेको छ।

प्रहरीले जिल्ला प्रशासन कार्यालय धनुषामा रहेको विवरणमा सिरोहियाका बाबु घाँसीराम सिरोहियाको नेपाली नागरिकताको विवरण फेला परेको छैन। कैलाश सिरोहियाको नाममा नागरिकता जारी गर्दाको निवेदन लगायतका प्रक्रियाको फाइलमा समेत उनको बुवाको नागरिकता फेला नपरेको अनुसन्धानरत स्रोतले बतायो।

प्रहरी प्रधान कार्यालयमा आइपुगेको प्रारम्भिक अनुसन्धान विवरणमा ‘कैलाश सिरोहियाको बुवा घाँसीरामको नेपाली नागरिकता फेला नपरेको। सो बारे बुझ्ने काम भइरहेको’ उल्लेख छ।

‘जिल्ला प्रशासनमा फेला परेका कागजपत्र अपूर्ण र थप अनुसन्धान गर्नुपर्ने देखिन्छ। पूर्ण कागजपत्रहरू भेटिएको छैन। प्रशासनिक त्रुटि हो या अन्य केही त्यसबारे अनुसन्धान केन्द्रित छ’, अनुसन्धानरत स्रोतले उकेरालाई भन्यो।

कैलाशका बुवा घाँसीरामको २०६९ साउनमा निधन भएको थियो। उनी जनकपुर उद्योग वाणिज्य संघका संस्थापक महासचिव समेत थिए। उनको ६ छोरी र तीन छोरामध्ये कैलाश सिरोहिया कान्छा सन्तान हुन्।

अन्य दुई जना व्यापारमा संलग्न रहेकाले प्रहरीले अनुसन्धानको क्रममा प्रमाण सङ्कलनका लागि उनीहरूको विवरण समेत सङ्कलन सुरु गरेको छ।

सम्बन्धित समाचार:-

वैशाख १९, २०८१ बुधबार १५:२६:४१ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।