भारतको चर्चित फर्च्यून होटलको पहिलो अन्तर्राष्ट्रिय शाखा भक्तपुरमा

भारतको चर्चित फर्च्यून होटलको पहिलो अन्तर्राष्ट्रिय शाखा भक्तपुरमा

वैशाख :  भारतको चर्चित आईटीसी ग्रुप अफ होटेल अन्तर्गतको फर्च्यून होटलले नेपालबाट आफ्नो अन्तर्राष्ट्रिय यात्रा सुरु गरेको छ।

भक्तपुरमा फर्च्यून रिसोर्ट एण्ड वेलनेस स्पाको उद्घाटन गर्दै होटलका सञ्चालकहरूले यस क्षेत्रको अग्रणी होटल ब्राण्डको रूपमा भारतीय होटल सञ्जालको अन्तर्राष्ट्रिय यात्रालाई थप अगाडि बढाउने विश्वास व्यक्त गरेका छन्।

उद्घाटन समारोहमा बोल्दै फर्च्यून होटलका प्रबन्ध निर्देशक समिर एमसीले अन्तर्राष्ट्रिय यात्राको सुरुवात नेपालबाट गर्न पाउँदा निकै हर्षित भएको बताए।

दक्षिण एसिया र नजिकका अरु देशहरूमा उपस्थिति बढाउँदै लैजाने बताउँदै उनले नयाँ शाखा उद्घाटनलाई कोसेढुङ्गाको रूपमा वर्णन गरे। हिलटेक हेल्थ एण्ड होम्स्का अध्यक्ष कमल जैनप्रति कृतज्ञता व्यक्त गर्दै उनले बधाई समेत दिए।

शान्त वातावरणमा अवस्थित फर्च्यून रिसोर्ट एण्ड वेलनेस स्पाले भित्री शान्ति खोज्नेहरूका लागि विश्राम लिने विशेष ठाउँ हुने विश्वास लिएको छ। होटलमा प्रशस्त कोठा, कटेज तथा न्यानो र आधुनिक सजावटले सजिएका सुइटहरू छन्। प्रत्येक कोठा अत्याधिक आरामदायी बनाइएको छ।

रिसोर्टमा स्पा, रिल्याक्सिङ्ग ट्रिटमेन्ट रुम, थेरापी रुम, सौना, स्टिम रुम, जिम, आकर्षक दृश्य देखिने स्विमिङ्ग पुल जस्ता विभिन्न आरामदायी सुविधाहरू उपलब्ध छन्।

स्पा थेरापिस्टहरूको विशेषज्ञ टोलीले गर्ने स्पामा इसेन्सियल ओइलहरू, र शरीर, दिमाग र आत्मालाई सन्तुलन ल्याउने प्राकृतिक सामग्रीहरू प्रयोग गरेर डिटक्सिफिकेशन र क्लिन्जिङ, गहिरो आराम र समग्र प्राकृतिक चिकित्सा र पंचकर्म उपचारहरू प्रदान गर्दछ।

शाकाहारी खानाका पारखीहरूलाई रिसोर्टमा रहेको रेन्बो रेस्टुरेन्टमा सम्पूर्ण प्रकारका स्वादिष्ट शाकाहारी खानेकुराहरू उपलब्ध छन्। साथै नेप्ट्यून बार तथा लाउन्जमा विभिन्न प्रकारका मदिराहरू उपलब्ध हुने रिसोर्टले जनाएको छ। थरि-थरिका स्वादिष्ट भोजन र पुल बारको साथ रिसोर्टले आफ्ना ग्राहकहरूलाई सर्वाेत्कृष्ट सेवा प्रदान गर्न कुनै कसर बाँकी राखेको छैन।

थुप्रै फराकिलो व्याङ्कवेटहरू रहेको रिसोर्टले वैवाहिक गन्तव्यको रूपमा पनि चर्चा कमाउन सक्ने सम्भावना राखेको छ। रिसोर्टमा ८,००० वर्ग फिट क्षेत्रफलमा फैलिएको प्रि फङ्कसन क्षेत्र र ११,००० वर्ग फिट क्षेत्रफलमा फैलिएको स्विमिङ्ग पुल रहेको छ। यहाँ एकैपटक ६०० पाहुनाहरू आरामले अटाउँछन्।

रिसोर्टमा पार्टी र बैठकको लागि पनि छुट्टै क्षेत्रको व्यवस्था रहेको छ।

फर्च्यून होटलसँगको सहकार्य बारेमा बोल्दै कमल जैनले नेपालमा एउटा उत्कृष्ट ब्राण्ड ल्याउन पाउँदा हामी निकै खुशी रहेको बताए। आफूहरूले आतिथ्यताको परिभाषालाई पूर्ण व्याख्या गर्ने ढङ्गले काम गर्दै भक्तपुरको आकर्षणलाई थप उचाइमा पुर्याउने उनको प्रतिबद्धता छ।

काठमाडौंबाट मात्र २० किलोमिटर र त्रिभुवन विमानस्थलबाट १८ किलोमिटरको दुरीमा अवस्थित फर्च्यून रिसोर्ट एण्ड वेलनेस स्पाबाट अन्य पर्यटकीय स्थलहरू पनि सहजै पुग्न सकिन्छ।

साथै होटलले अतिथि र समुदायसँग सम्बन्ध राख्दै सम्पूर्ण विश्वका यात्रुहरूमाझ उत्कृष्ट गन्तव्यको रूपमा रहेको नेपालको आतिथ्य संस्कारमा एउटा अर्थपूर्ण छाप छोड्ने विश्वास लिएको छ। 
 

१९ बैशाख, २०८१, १०:०७:३३ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।