ग्लोबल आइएमई बैंकमा स्विस इन्भेस्टमेन्ट फन्ड फर इमर्जिङ् मार्केटको एक अर्ब बढी लगानी

ग्लोबल आइएमई बैंकमा स्विस इन्भेस्टमेन्ट फन्ड फर इमर्जिङ् मार्केटको एक अर्ब बढी लगानी

काठमाडौँ : स्विस इन्भेस्टमेन्ट फन्ड फर इमर्जिङ् मार्केटले ग्लोबल आइएमई बैङ्क लिमिटेडलाई १० मिलियन अमेरिकी डलर अर्थात् करिब एक अर्ब ३२ करोड रुपैयाँ लगानी गर्ने भएको छ।

दुबैबीच लगानीबारे सम्झौता भएको हो। सम्झौतामा ग्लोबल आइएमई बैङ्कका प्रमुख कार्यकारी अधिकृत रत्नराज बज्राचार्य र स्विस इन्भेस्टमेन्ट फन्ड फर इमर्जिङ् मार्केटका अध्यक्ष जोर्ग फ्रिडेनले हस्ताक्षर गरेका थिए।

सम्झौता अनुसार सो लगानीलाई बैंकले कृषि, लघु, साना तथा मझौला व्यवसायमा वित्तीय पहुँच बढाउन परिचालन गर्नेछ।

लगानीको उद्देश्य कृषि, लघु, साना तथा मझौला उद्यमलाई वित्तीय पहुँच प्रदान गर्दै बजारमा प्रतिस्पर्धी बनाउन सहयोग गर्ने, वित्तीय समावेशीकरणमा सुधार गर्ने र रोजगारी सृजना गर्ने रहेको बताइएको छ।

नेपाल स्थित स्विट्जरल्याण्डको दूतावासले आफ्नो आधिकारिक सामाजिक सञ्जालमार्फत यो लगानीले नेपालमा कृषि, लघु, साना तथा मझौला व्यवसाय विस्तारका लागि नेपालको ठुलो बैङ्कसँग सहकार्य गर्न पाएकोमा खुसी व्यक्त गरेको छ।

१८ बैशाख, २०८१, २३:२२:१६ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।