कर्णालीमा प्रत्यक्ष निर्वाचित एकमात्र दलित सांसद परियार बने बिना विभागीय मन्त्री

कर्णालीमा प्रत्यक्ष निर्वाचित एकमात्र दलित सांसद परियार बने बिना विभागीय मन्त्री

सुर्खेत : कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले मन्त्रिपरिषद विस्तार गरेका छन्। 

गत चैत्र २७ गते मुख्यमन्त्री नियुक्त भएका उनले बुधबार माओवादी केन्द्रका संसदीय दलका प्रमुख सचेतक रणसिंह परियारलाई विना विभागीय मन्त्रीमा नियुक्त गरेका हुन्।

परियारलाई आजै प्रदेश प्रमुख तिलक परियारले पद तथा गोपनीयताको सपथ गराए।

सत्ता साझेदार माओवादीसँग भागबन्डा नमिल्दा मन्त्रिपरिषद विस्तारमा ढिलाइ भएको थियो। मुख्यमन्त्री कँडेलले बिहीबार विश्वासको मत लिने भएका कारण परियारले विना विभागीय मन्त्रीको पद तथा गोपनीयताको सपथ लिएका हुन्।

उनी हुम्लाबाट प्रत्यक्ष निर्वाचित दलित समुदायका एक मात्र सांसद हुन्। यहाँ रणसिंहसहित चार जना दलित सांसद छन्।जसमा समानुपातिक प्रणालीमार्फत एमालेबाट गमता विक, कांग्रेसबाट लक्ष्मी सुनार र माओवादीबाट उर्मिला विश्वकर्मा रहेका छन्। 

भागबन्डामा समस्या भएपछि मुख्यमन्त्री आवद्द  एमालेले समेत मन्त्रीहरू पठाएको छैन।

यद्यपि एमालेले मुख्यमन्त्रीसहित चार र माओवादीले चार मन्त्रालय लिने सहमति जुटेको बताइएको छ। शुक्रबारसम्म सबै मन्त्री नियुक्त गरिने सत्ता गठबन्धनको योजना रहेकाे छ।

सत्ता गठबन्धन माओवादी र एमालेबीच सरकारकाे नेतृत्व आलोपालो, मन्त्रालय, सभामुख परिवर्तन लगायतका विषयमा सहमति हुन सकेको थिएन। साेही विषयलाई मिलाउन मुख्यमन्त्री कँडेल दुईपटक काठमाडौं गएर प्रचण्ड र ओलीलाई भेटेका थिए। 

१२ बैशाख, २०८१, १५:२८:०७ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।