इरानी राष्ट्रपति रायसीको पाकिस्तान भ्रमणलाई लिएर अमेरिकाको चेतावनी

इरानी राष्ट्रपति रायसीको पाकिस्तान भ्रमणलाई लिएर अमेरिकाको चेतावनी

एजेन्सी : अमेरिकाले इरानी राष्ट्रपति इब्राहिम रायसीको पाकिस्तान भ्रमणलाई लिएर दुई देशबीचको व्यापारिक सम्झौतालाई लिएर प्रतिक्रिया दिएको छ।

अमेरिकाले इरानसँगको व्यापार सम्झौतालाई लिएर पाकिस्तानलाई ‘प्रतिबन्धको सम्भावित जोखिम’बारे चेतावनी दिँदै इरानविरुद्ध कारबाही जारी राख्ने बताएको छ।

पाकिस्तानको ब्यालिस्टिक क्षेप्यास्त्र कार्यक्रमका आपूर्तिकर्ताहरूमाथि प्रतिबन्ध लगाउन दबाब दिँदै अमेरिकी विदेश मन्त्रालयका उपप्रवक्ता वेदान्त पटेलले भने, ‘हामी जहाँसुकै भए पनि आम विनाशकारी हतियार खरिदसँग सम्बन्धित गतिविधिहरूमा अवरोध र कारबाही जारी राख्नेछौं।’

‘हामी इरानसँग व्यापारिक सम्झौता गर्ने कुनै पनि देशलाई प्रतिबन्धको सम्भावित जोखिमबारे सतर्क रहन सल्लाह दिन्छौं। तर पाकिस्तान सरकार आफ्नो विदेश नीतिसँग जोडिएको कुरा र सहमति गर्न स्वतन्त्र छ।’

इरानी राष्ट्रपति रायसी पाकिस्तानको तीन दिने औपचारिक भ्रमणमा छन्। यस अवधिमा दुई देशबीच आठ वटा द्विपक्षीय सम्झौता भएको छ।

अमेरिकी प्रवक्ताले अन्तर्राष्ट्रिय समुदायमा इरानको अहिलेको अवस्थाका कारण प्रतिबन्धहरूले यी सम्बन्धहरूलाई खतरामा पार्न सक्ने सम्भावनालाई औंल्याए।

१२ बैशाख, २०८१, १२:३०:५४ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।