स्टोयनिसको कीर्तिमानी शतकमा चेन्नईमाथि लखनउको छ विकेटको जित

स्टोयनिसको कीर्तिमानी शतकमा चेन्नईमाथि लखनउको छ विकेटको जित

काठमाडौं : मार्कस स्टोयनिसको कीर्तिमानी शतकमा इन्डियन प्रिमियर लिग (आईपीएल)मा लखनउ सुपर जायन्ट्सले चेन्नई सुपर किंग्सलाई ६ विकेटले पराजित गरेको छ।

गएराति एमए चिदम्बरम् स्टेडियममा सम्पन्न खेलमा चेन्नईले दिएको २११ रनको लक्ष्य पछ्याएको लखनउले ३ बल बाँकी रहँदा नै ४ विकेट गुमाउँदै २१३ रन बनाएर विजयी भएको हो।

लखनउका मार्कस्ले अविजित रहँदै सर्वाधिक १२४ रन बनाए। ६३ बल खेलका उनले १३ चौका र ६ छक्का प्रहार गरे। आईपीएल इतिहासमा रन पछ्याउने क्रममा बनाइएको यो सबैभन्दा ठूलो व्यक्तिगत स्कोर हो।

लखनउका लागि निकोलस पूरन ३४, कप्तान केएल राहुल १६ र देवदत्त पडिक्कल १३ रनम आउट हुँदा दीपक हुड्डा १७ रनमा अविजित रहे। 

चेन्नईका माथिशा पाथिरानाले सर्वाधिक २ विकेट लिँदा दीपक चाहर र मुस्तिफिजुर रहमानले १-१ विकेट लिए।

त्यसअघि टस हारेर पहिला ब्याटिङ थालेको चेन्नईले निर्धारित २० ओभरमा ४ विकेट गुमाउँदै २१० रन बनाएको थियो।

जितसँगै लखनउ शीर्ष चारमा उक्लिएको छ। आठ खेल खेलेको लखनउको १० अंक रहेको छ। पराजित चेन्नई समान खेलबाट ८ अंक जोड्दै पाँचौँ स्थानमा छ।

१२ बैशाख, २०८१, ०७:१६:१५ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।